
काठमाडौं । ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त भएको सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच सदस्यीय संवैधानिक इजलासले गत असार ४ गते मनाङे सांसद पद खोस्ने फैसला गरेको थियो । फैसलाअनुसार उनी २०८१ साउन २० गतेदेखि नै अयोग्य ठहर भई पदमुक्त भएका हुन् ।
मनाङे उच्च अदालत पाटनले सुनाएको पाँच वर्ष कैद सजाय सर्वोच्चले सदर गरेपछि डिल्लीबजार कारागारमा सजाय भोगिरहेका छन् । सर्वोच्चले उनको अपराधलाई ‘नैतिक पतन हुने फौजदारी कसुर’ मा पर्ने समेत स्पष्ट गरेको छ । अदालतको फैसलासँगै मनाङ प्रदेशसभा २ मा उपनिर्वाचन गर्ने बाटो खुलेको छ ।
हेर्नुस् पूर्णपाठ
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले मुलुकलाई विभाजित गर्ने काम गरेको टिप्पणी गरेका छन् ।
काष्ठमण्डप संवाद समापन समारोहलाई सोमबार सम्बोधन गर्दै उनले मुलुकभित्र राष्ट्रिय सहमति सुनिश्चित नगरीकन गरिएको एमसीसी सम्झौताले मुलुकलाई विभाजित गरेको टिप्पणी गरे ।
कुनै पनि अन्तर्राष्ट्रिय सन्धि सम्झौता गर्दा संसद्लाई पूर्व जानकारी दिनुपर्ने व्यवस्था संविधानमा नै उल्लेख गर्नुपर्ने उनको भनाइ छ । उनले अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताहरू सत्ताधारीहरूको लक्ष्य र चलखेलको विषय बन्न दिन नहुने बताए ।
उनले एमसीसी सहयोग परियोजना संघीय संसद्बाट लज्जाजनक विषयले पास गरिएको उल्लेख गर्दै भविष्यमा यस्तो हुन नदिने कुरामा सबै सजग हुनुपर्ने बताए । खनालले एमसीसीलाई गृहकार्य, यथोचित छलफल र सहमति बिना अनुमोदन गरिएको उल्लेख गर्दै यसलाई संस्था वा मुलुकको हकमा पनि लागु गर्न सकिने नजिरको रूपमा लिन नहुनेमा जोड दिए ।
एमसीसी जस्ता सम्झौताहरू मुलुकका लागि घातक हुने उल्लेख गर्दै उनले यस्ता सम्झौता हुनबाट मुलुकलाई हर–ढंगले जोगाउनु पर्ने बताए । संवादका निष्कर्ष सार्वजनिक गर्दै उनले कुनै पनि अन्तर्राष्ट्रिय सम्झौताहरू दबाब र धम्कीमा नभई बराबरीका आधारमा गर्नुपर्ने बताए ।
उनले भने, ‘१३ वटा दस्तावेज त मैले पनि पढेको छु । हरेकमा अमेरिकी स्वार्थलाई ध्यानमा राखी भन्ने वाक्य कहीँ छुटेको छैन । प्रत्येक दस्ताबेजमा अमेरिकी सुरक्षा किन लेख्नु पर्यो, यो अत्यन्त आत्मघाती कुरा छ । यो देशका नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात हो । सामान्य घात होइन । यो कुरा ती नेताहरूले हेरेका पनि छैनन् ।’
उनले परियोजना कार्यान्वयनमा बजेट पारदर्शी हुनुपर्ने तथा एमसीसीलाई स्वायत्त अधिकार दिन नहुने पनि बताए । खनालले भविष्यमा भूराजनीतिक सन्तुलन, छिमेकी र मित्र राष्ट्रहरूसँगको सम्बन्धमा असर हुने गरी सम्झौता गर्न नहुने बताए ।
उनले एमसीसी परियोेजना अमेरिकी सुरक्षा रणनीतिको अङ्ग भएकाले नेपालको लागि हानिकारक हुनसक्ने चेतावनी समेत दिए । एमसीसी कार्यान्वयनका क्रममा विदेशी कामदारको निगरानी र प्रवेशाज्ञामा स्पष्टता सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए ।
रौतहट । रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरकी २६ वर्षीया रुबीकुमारी साहको हत्या गरी सुटकेसमा शव राखी लुकाउन प्रयोग गरिएको ई–रिक्सा चालकलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ परेका ई–रिक्सा चालक लक्ष्मण महरा छन् । रुबीको हत्या गर्ने व्यक्तिले शव सुटकेसमा राखेर फाल्न लैजान महराको ई–रिक्सालाई पाँच सय रूपैयाँ भाडामा लिएका थिए ।
सुटकेस लैजाँदै गर्दा मुडलवा गेट नजिक ई–रिक्सा बिग्रिएपछि फिर्ता पठाइ हत्या गर्ने व्यक्तिले सुटकेस सडकमै राखेर भागेको प्रारम्भिक अनुुसन्धानमा देखिएको प्रहरीको भनाइ छ । महराले सुटकेसभित्र के सामान छ भन्ने आफूलाई थाहा नभएको बयान दिएका छन् । गौर–गंगापिपरा सडक खण्डको मुडवलवा मोड नजिक सुटकेशमा महिलाको शव फेला परेको थियो ।
गौर नगरपालिका–९ सिर्सिया नजिक गत शनिबार राति डोरीले बेरिएको सुटकेश स्थानीयहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उक्त सुटकेश खोलेर हेर्दा महिलाको शव फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता राजु कार्कीले बताए । हत्यामा संलग्नको पहिचान भइसकेको रौतहट प्रहरीले दावी गरेको छ ।
‘अनुसन्धान जारी छ । छिट्टै घटनाका सम्बन्धमा सबै कुरा बाहिर ल्याउँछौँ’, प्रहरी अधिकारीले भने, ‘शंका गरिएका व्यक्ति रुबीसँग लामो समयदेखि सम्पर्कमै रहेको देखिन्छ ।’
ती व्यक्ति वैदेशिक रोजगारीबाट फर्किएको र उनले विदेशबाट फर्किदा ल्याएकै सुटकेस रुबीको शव फाल्न प्रयोग गरेको तथ्य प्रहरीले दावी गरेको छ । ‘हामी अनुसन्धानको निष्कर्षतिर पुगेका छौं । हामी छिटै सबै कुरा सार्वजनिक गर्ने अवस्थामा छौँ’, अनुसन्धान अधिकारीले भने ।
रुबीलाई त्यस साँझ बोलाएर हत्या गरेको अनुसन्धान अधिकृतको दाबी छ । शनिबार साँझ केही सामान लिन जान्छु भन्दै गौर गएकी छोरी नफर्किएको उनकी आमा मिथिलादेवीले बताएकी छन् ।
तर त्यसै राति गौर नगरपालिका–९ मुडवलवा गे टनजिक सडकमा बेवारिसे अवस्थामा सुटकेस फेला परेको थियो । रुबीको १३ वर्ष पहिले भारतको मुजफरपुरका शिवसागर सुडीसँग विवाह भएको थियो । घटनापछि रुबीका श्रीमान पनि प्रहरीको सम्पर्कमा पुगेका छन् ।
रुबी भने केही महिना पहिलेदेखि मात्रै आमासँग डेरा लिएर बस्दै आएकी थिइन् । भारतमा घरबाट विद्यालय टाढा भएकाले छोरा पढाउन उनी यता डेरामा बस्न थालेकी थिइन्। ती शंकित व्यक्तिलाई भेट्नु पहिले उनी ब्युटिपार्लर गएको र छोरालाई जुस ल्याइदिन्छु भनेर फोन गरेको खुलेको प्रहरीको दाबी छ । रातिसम्म पनि घर नफर्किएपछि आमाले खोजी गर्दा उनको मोबाइलमा पहिले फोन उठेन । राति ९ बजेतिर भने स्वीच अफ भएको थियो ।
काठमाडौं । निर्वाचन आयोगले मनाङको प्रदेश सभा क्षेत्र–२ मा पनि आउँदो कातिक १७ गते नै उपनिर्वाचनको तयारी गरेको छ । मनाङको प्रदेश सभा क्षेत्र–२ मा स्वतन्त्र निर्वाचित सांसद राजीव गुरुङ ‘दिपक मनाङ्गे’ पदमुक्त भएसँगै आयोगले निर्वाचनको तयारी गरेको हो ।
रूपन्देही प्रतिनिधि सभा क्षेत्र–३ मा कात्तिक १७ मै उपनिर्वाचन गर्नका लागि आयोगले काम अगाढि बढाइसकेको छ । यसै बेला सर्वोच्च अदालतको संवैधानिक इजलासले मनाङ्गेलाई पदमुक्त गरेको आदेशको पूर्णपाठ सार्वजनिक गर्दै पद रिक्त भएको जानकारी गराउन सरकारलाई आदेश दिएपछि आयोगले त्यस क्षेत्रमा पनि उपनिर्वाचन तयारी थालेको हो ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सर्वोच्च अदालतको संवैधानिक इजलासबाट पद रिक्त भएको जानकारी गराउन सरकारलाई आदेश दिएसँगै आयोगले कात्तिक १७ मै उपनिर्वाचन गर्ने तयारी अघि बढाएको जानकारी दिए ।
कार्यवाहक प्रमुख निर्वाच आयुक्त भण्डारीले निर्वाचन आयोगले कम्तिमा ६४ दिन अघि मिति तोकेर निर्वाचन गरेको इतिहास रहको बताउँदै अहिले त्यो भन्दा पनि धेरै दिन बाँकी रहेकाले निर्वाचन गर्न कुनै समस्या नहुने बताए ।
२०७९ मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा मनाङे निर्विरोध निर्वाचित भएका थिए । चक्रे मिलनमाथि ज्यान मार्ने उद्योग गरेको मुद्दामा दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्ष जेल सजाय सुनाएको थियो । सर्वोच्चले गण्डकी प्रदेश सभा सदस्यको हैसियतमा पदमा बस्न मनाङ्गे अयोग्य रहेको फैसला गरेको थियो । त्यससँगै मनाङ प्रदेश सभा क्षेत्र २ रिक्त भएको हो ।




