
काठमाडौं– नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका विभिन्न ८ कम्युनिस्ट घटकबीच पार्टी एकताको सहमति भएको छ।
पार्टीको नाम टुंगो लगाउन बाँकी भए पनि चुनाव चिह्न भने पाँच कुने तारा राख्ने सहमति भएकाे छ। आइतबार पार्टी एकतासम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो।
कात्तिक १९ गते एकता घोषणा हुने र ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ।
त्यस्तै पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेलिनवाद हुनेछ। एकताको महाधिवेशन नहुन्जेलसम्मलाई संयोजक र सहसंयोजक रहने छन्।
सहमति पत्रमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)ले हस्ताक्षर गरेका छन्।

काठमाडौँ । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाएको छ । सो पार्टीका अध्यक्ष हर्क साम्पाङ आज निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन् ।
साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ ।
सो पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी छन् । उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्ष समिता राई रहेका छन् । प्रवक्तामा अरुण गुरुङ रहेका छन् ।
गत असोज १२ गते आइतबार साम्पाङ आफैँ निर्वाचन आयोग उपस्थित भएर दल दर्ताको निवेदन दिएका थिए ।
काठमाडौं- नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले पार्टीका पदाधिकारीहरूले केन्द्रीय समितिलाई बन्धक बनाएको आरोप लगाएका छन् । पार्टीको १५ औं महाधिवेशनको कार्यतालिका समयमै नल्याएर बारम्बार केन्द्रीय समिति बैठक स्थगित गरिएको भन्दै महरले यस्तो अवस्थाले समग्र केन्द्रीय समितिलाई नै बन्धक बनाएको अनुभूति भएको बताए ।
मंगलबार बानेश्वरस्थित सचिवालयमा भ्रातृ संगठनका पदाधिकारीसँगको छलफलमा नेता महरले महाधिवेशन समयमै सम्पन्न गर्नका लागि पदाधिकारीका तर्फबाट आउनुपर्ने कार्यतालिका शीघ्र ल्याउन माग गरे । “कार्यतालिका समयमै नआएका कारण बारम्बार केन्द्रीय समितिको बैठक स्थगित हुँदा समग्र नेपाली कांग्रेस केन्द्रीय समितिलाई बन्धक बनाएको अनुभूति आफूलाई भएको छ,” महरको भनाइ थियो ।
उनले पार्टीको विधानअनुसार चार वर्षमा हुनुपर्ने महाधिवेशन आजसम्म सम्पन्न गर्न नसक्नुमा केन्द्रीय समिति र विशेषगरी शीर्ष पदाधिकारीहरू जिम्मेवार रहेको औंल्याए । उनले सभापति, उपसभापति र महामन्त्री लगायतका ‘भी-फाइभ’ पदाधिकारी समयमा महाधिवेशन गराउन नसकेकोमा बढी जिम्मेवार रहेको बताए । “विधानले दिएको जिम्मेवारीसमेत पूरा गर्न नसक्दा र सदस्यता वितरण लगायतका काम समयमा नहुँदा आजको स्थिति आएको हो,” उनले भने ।
महरले समयमै नियमित महाधिवेशन सम्पन्न गर्न नसक्ने अवस्थामा पुर्याउने पदाधिकारीहरूले यसको जिम्मेवारी लिनुपर्ने बताए । उनले पार्टीभित्र विशेष महाधिवेशन, नियमित महाधिवेशन वा समयमै महाधिवेशन गर्नुपर्ने जस्ता सबै सुझावहरूले कांग्रेसलाई बलियो बनाउने भन्दै सबै विचार समूहलाई समेटेर एकीकृत धारणा बनाउनुपर्नेमा जोड दिए ।
नेता महरले अहिले नेपाली कांग्रेसले आन्तरिक किचलोमा अल्झिनुभन्दा देशका सामु देखिएका चुनौतीहरूको सामना गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए । “नेपाली कांग्रेसले देशको सबैभन्दा ठूलो र स्थापित दल भएको कारणले सबै राजनीतिक दल, सरकार र नयाँ पुस्तासँग समेत संवाद गरेर देशलाई निकास दिन नेतृत्वदायी भूमिका खेल्नुपर्छ,” उनले भने । उनले आगामी फागुन २१ गतेका लागि तोकिएको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका लागि वातावरण बनाउन पनि कांग्रेसले नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याए ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन साहले शनिबार राति अश्लील शब्दसहित लेखेको फेसबुक स्टाटस यदि आफूले लेखेको भए के हुन्थ्यो भनेर सामाजिक सञ्जालमै प्रश्न गरेका छन् ।
बालेनले विभिन्न दल र शक्ति राष्ट्रलाई अश्लील शब्दसहित फेसबुकमा लेखेको गाली स्ट्याटसको चर्को आलोचना भइरहेका बेला साम्पाङले सामाजिक सञ्जालबाटै उक्त प्रश्नको जवाफ मागेका हुन् ।
उनले लेखेका छन्, ‘मन पर्ने मान्छेको पादै मिठो, मन नपर्ने मान्छेले मुटु नै झिकेर दिँदा पनि हेला होचो , मैले त्यो शब्द लेखेको भए के हुन्थ्यो होला ? अचेत जिन्दगीको जय होस् ।
काठमाडौँ । सहरी विकास मन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
मन्त्री घिसिङको यो प्रतिबद्धतापछि फोहोर फाल्न दिन स्थानीय सहमत भएका छन् ।
स्थानीयले ४ दिनदेखि फोहोर फाल्न रोकेका थिए । काठमाडौँ महानगरपालिकाले सूचना जारी गरी फोहोर घर बाहिर ननिकाल्न महानगरबासीलाई भनेको थियो । शुक्रबार शहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधिसहित सरोकारवालाको छलफल आयोजना गरिए पनि निष्कर्षविहीन भएको थियो ।
त्यसपछि समस्या समाधानका लागि भन्दै मन्त्री घिसिङ आइतबार बिहान बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका थिए ।
स्थानीयवासी र ककनीका जनप्रतिनिधिसँग मन्त्री घिसिङले हालसम्म गरिएका सहमति १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता गरेको जनाइएको छ ।
काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रासाईले राष्ट्र र राष्ट्रियताप्रति खतरनाक गतिविधिमा संलग्न एनजिओ र आइएनजिओहरूको भण्डाफोर गर्न आम नेपाली जनतालाई सचेत गराएका छन्।
उनले विगत तीन वर्षदेखि यस्ता गतिविधिहरू सार्वजनिक गर्दै आएका थिए र अहिले थप प्रमाणसहित उनले आइतबार एक भिडियो सावर्जनिक गरेका छन्।
भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मलेन गर्दै प्रसाईले उक्त भिडियो सावर्जनिक गरेका हुन्। जसमा उनले भनेका छन् कि विभिन्न एनजिओ र आइएनजिओहरूले विदेशी फन्डिङको प्रयोग गर्दै समाजमा भ्रम, विभाजन र भ्रष्टाचारको बीजारोपण गरिरहेको छन्। उनले जेनजी आन्दोलन र अन्य राजनीतिक गतिविधिहरूमा यस किसिमको हस्तक्षेप भएको दावी गर्दै, युवाहरूलाई भ्रमित बनाइएको उल्लेख गरेका छन्।
यसअघि वि.स. २०१४ सालमा नेपाली कांग्रेस पार्टीको उदय भएदेखि २०७२ सालसम्म भएका राजनीतिक घटनाक्रम, पार्टी उदय र संविधान निर्माण प्रक्रिया पनि उनले प्रकाशमा ल्याएका छन्।
उनले डा.गोविन्द केसीको अनशन, विवेकशील पार्टी, उज्ज्वल थापा फाउन्डेसन, एनइडी तथा बारबरा फाउन्डेसनको भूमिका सार्वजनिक गर्दै वर्तमान सरकारमा विदेशी प्रभाव रहेको आरोप लगाएका छन्।
प्रसाईंले सबै नेपाली नागरिकलाई राष्ट्रियता जोगाउने, देशप्रेम र जागरुकतासँग अगाडि बढ्न अपिल गर्दै भनेका छन्। यदि यस गिरोहले आत्मसमर्पण नगरेमा आगामी भिडियोमा थप कडा भण्डाफोर हुने र उनले यो अभियानमार्फत नेपाली भूमिको संरक्षण र राष्ट्रियतामूलक सरकारको स्थापना गर्न लक्ष्य राखेको बताएका छन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह यतिवेला पुनः चर्चामा छन् । गएराति सामाजिक सञ्जाल फेसबुकमा लेखेको एक स्टाटसका कारण उनको विरोध भइरहेको छ ।
अश्लील शब्दसहितको स्टाटस उनले पोस्ट गरेको केही समयमै हटाएका थिए । स्टाटसमा भारत, चीन र अमेरिकालाई अश्लील शब्दमा गाली गरिएको थियो ।
साथै नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाको नाम नै उल्लेख गरेर उनले गाली गरेका थिए ।
पछिल्लो समय नयाँ दल खोल्ने कि रास्वपाबाट राजनीति गर्ने भन्ने दोधारमा रहेको चर्चाका बिच बालेनले रास्वपाको पनि नाम नै उल्लेख गरेर अश्लील गाली गरेपछि उनी रास्वपासँग पनि टाढिएको चर्चा छ ।
उक्त स्टाटसका कारण मेयर साह यतिवेला आलोचित बनिरहेका छन् । सामान्य मर्यादाको पनि ख्याल नगरेको भन्दै सामाजिक सञ्जालमा उनीविरुद्ध प्रतिक्रिया आइरहेका छन् ।
काठमाडौं– बंगालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। पहाडी भू-भागमा केही बदली भए पनि बाँकी भूभागमा भने मौसम आज मुख्यतया सफा रहने विभागले जनाएको छ। पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव बलियो भएकाले बदली जारी रहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
मेष : दिन सामान्य छ । हरेक काममा अवरोध देखिने छन् । निर्णय क्षमताको आवश्यकता देखिन्छ । मनमा धेरै खटपटी हुनसक्छ । वैदेशिक क्षेत्रको लगानीमा उत्साह बढ्नेछ । परिवारको सहयोग प्राप्त हुनेछ ।
वृष : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ । व्यवहार गर्दा सचेत भएर अगाडि बढ्नु राम्रो हुन्छ ।
मिथुन : मनमा उत्साह बढ्नेछ । साना योजनालाई रोकेर ठुलाठुला कामको सुरुवात गर्नु राम्रो हुनेछ । शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्र प्रगति हुनेछ । समयको सदुपयोग गर्नुपर्ने दिन छ ।
कर्कट : आज तपाईंको दिन राम्रो छ । लामो यात्रा हुनेछ । शिक्षामा सफलता प्राप्त हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । लगानी गरेको क्षेत्रबाट नाफा आर्जन हुनेछ ।
सिंह : दिन सामान्य छ । सोचेर निर्णय गर्नुपर्ने दिन हो । अग्रजको सुझाव अनुसार काम गर्दा नाफा हुनेछ । परिवारको साथमा अगाडि बढे फाइदा हुनेछ । लगानीका लागि हिम्मत गर्नु राम्रो हुनेछ ।
कन्या : दिन राम्रो छ । लामो समय रोकिएको कामको सुरुवात हुनेछ । वैदेशिक क्षेत्रमा नाफा हुनेछ । विदेशको लगानीबाट मनमा उत्साह बढ्नेछ । व्यवहार गर्दा मर्यादा नभुल्नु राम्रो हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।
तुला : दिन राम्रो छ । आफन्तको चिन्ता गर्दा आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने देखिन्छ । खानपान र नियमित औषधी छुटेर रोग बढ्ने छ । लगानीका अवसर धेरै भएकाले सोचेर अगाडि बढ्नु राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
वृश्चिक : दिन आज धेरै नै राम्रो छ । लगानी र श्रमको उचित मूल्यांकन हुनेछ । काम सम्पन्न नभएसम्म मनको कुरा कसैलाई नभन्नु राम्रो हुन्छ । ठुलो लगानी नगर्नु राम्रो हुनेछ । संकटमा परिवारको साथ मिल्नेछ ।
धनु : मान र मर्यादाले तपाईंलाई उचाईमा पुर्याउने छ । प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ । लगानीका अवसर थुप्रै भएकाले यसलाई सदुपयोग गर्नु राम्रो हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
मकर : दिन राम्रो छ । मनको चिन्ता हट्नेछ । ठुलो योजनामा हात नहाल्नु राम्रो हुन्छ । अनावश्यक तर्क गर्दा आफैंलाई घाटा हुनेछ । धार्मिक कार्यमा संलग्न भएमा दिन सहज बन्नेछ ।
कुम्भ : कडा प्रतिस्पर्धामा सहभागी भएर सफलता प्राप्त गर्ने योग छ । कृषि र पशुपालन क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । वैदेशिक लगानीले उत्साह बढ्नेछ । शिक्षा क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ ।
मीन : दिन राम्रो छ । दाजुभाइ वा दिदीबहिनीको सहयोग लिएर अगाडि बढ्ने समय छ । धोरै बोलेर धेरै मिहिनेत गर्नुपर्ने समय छ । शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ ।





