२०८२ फाल्गुन २७ गते बुधबार
२०८२ फाल्गुन २७ गते बुधबार

काठमाडौँ । सरकारले अनसनरत डा. निकोलस भुसाल र हरिश विष्टसँग ६ बुँदे सम्झौता गरेको छ । सम्झौतापछि भुसाल र विष्टले ११ औँ दिनमा अनसन तोडेका छन् । 

सहमति पत्रमा डा. भुसाल, विष्ट र सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालद्वारा हस्ताक्षर गरेका छन् ।  

प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई बालुवाटारमा जुस खुवाएर अनसन तोडिएको छ । 

काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएको बुद्ध एयरको विमानमा सवार सबै सकुशल रहेका छन् ।

९एन–एमएफ कलसाइन भएको एटीआर७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विमानमा ५१ जना यात्रु सवार थिए ।

उनीहरू सबै सकुशल रहेको र विमानबाट उद्धार भइसकेको छ ।

काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदाता नामावली छपाई सुरु भएको छ।

शुक्रबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदाता नामावली छपाइको उद्घाटन गरेका छन्। आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तय भएको छ।

निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली प्रकाशन गरिसकेको छ। आगामी निर्वाचनका लागि लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्।

आयोगका अनुसार, ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य दुई सय मतदाता समावेश छन्।

गत २०७९ सालको निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका थिए। जसमा पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य एक सय ८५ रहेका थिए।

नेपाली काँग्रेसको १५ औँ महाधिवेशन आगामी वैशाख २८,२९,३० र ३१ गते काठमाडौँमा हुने भएको छ ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ल्याइएको कार्यतालिका परिमार्जन गर्दै आगामी वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने नयाँ कार्यतालिका पारित गरेको हो ।

नयाँ कार्यतालिका नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेका थिए ।

प्रस्तावित कार्यतालिकालाई केन्द्रीय कार्य समितिको बैठकले पारित गरेको पार्टीका नेता विमलेन्द्र निधिले बताए । उनकाअनुसार विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै समाप्त भइसकेको बताए ।

यसअघि काँग्रेसले पुस २६,२७ र २८ गते महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेको थियो ।

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म हुने भएको छ।

सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राखेको नयाँ कार्यतालिकासहितको प्रस्ताव पारित भएको हो ।

उता चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको आयु पनि लम्ब्याएर २०८३ जेठसम्म कायम गर्न पनि खड्काले राखेको प्रस्ताव पास भएको छ । कार्यवाहक खड्काले पेश गरेको दुवै प्रस्ताव पास भएको पूर्वमहामन्त्री डा. शशांक कोइरालाले जानकारी दिए ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आगामी पुस २६ गतेदेखि विशेष महाधिवेशन गर्ने घोषणासहित भृकुटीमण्डपको हल पनि बुकिङ गरेको अवस्थामा संस्थापनले काउन्टर प्रस्ताव ल्याएर पारित गरेको हो ।

विशेष महाधिवेशनका कारण कांग्रेस फुट्ने आशंका भइरहेका बेला संस्थापनले महाधिवेशन आगामी फागुन २१ को चुनावपछि मात्रै गर्ने प्रस्ताव पास गराएको हो ।

यसअघि पुस २६ गतेदेखि हुने गरी गत मंसिर १५ गते तय गरिएको १५औँ महाधिवेशन निर्धारित समयमा हुन नसक्ने भएको थियो ।

यसले कांग्रेसभित्र ठूलो विवाद चुलिएको थियो । अब पुस २६ देखि विशेष महाधिवेशनको तयारीमा रहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाशले के गर्लान् ? प्रतीक्षाको विषय बनेको छ।

महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन स्थगित गर्दै विशेष महाधिवेशनको घोषणा गरेका थिए । तर केन्द्रीय कार्यसम्पादन र केन्द्रीय कार्यसमिति दुवैमा बहुमत रहेको संस्थापनले विशेष महाधिवेशनलाई बेवास्ता गर्दै नियमित महाधिवेशन नै आगामी वर्ष गर्ने प्रस्ताव पास गरेको हो ।

महाधिवेशनको नयाँ कार्यतालिका

(क) गाउँ/नगर वडा अधिवेशन- २०८२ चैत २१ गते
(ख) गाउँ/नगरपालिका अधिवेशन- २०८२ चैत २५ गते
(ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०८२ चैत २८ गते
(घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन- २०८३ वैशाख २ गते
(ङ) दुई वा दुई भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०८२ वैशाख ५ गते
(च) प्रदेश अधिवेशन- २०८३ वैशाख १०, ११ र १२ गते
(छ) केन्द्रीय महाधिवेशन : २०८३ वैशाख २८, २९, ३० र ३१ काठमाडौं

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको समानुपातिकको बन्द सूचीमा अपांगता भएकाहरूको नाम समावेश गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

माधव चम्लागाईले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश हरि फुयाँल र टेकप्रसाद ढुंगानाको इजलासले कुनै दलले बन्द सूचीमा अपांगता भएका व्यक्तिहरूको नाम समावेश नगरेको भए सच्याएर समावेश गरी पेस गर्न निर्वाचन आयोगलाई आदेश दिएको हो ।

दलहरूलाई पुस २७ सम्म संशोधनको समय भएकाले सो अवधिभित्र अपांगता भएका व्यक्तिहरूलाई समेट्न सर्वोच्चले आदेशमा भनेको छ । पुस २८ देखि माघ ३ सम्म दलले मिलाएको बन्द सूची जाँच गरिने आयोगले जनाएको छ । आगामी माघ २० गते अन्तिम सूची प्रकाशन हुनेछ ।

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन गर्ने समय पुस २१ देखि २७ गतेसम्म तोकेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फको बन्दसूची दलहरूले पुस १३ र १४ गते आयोगमा पेस गरेका थिए ।

उम्मेदवारहरूको बन्दसूची छानबिन गरी सच्याउनका लागि आयोगले पुस १५ गते आयोगले दलहरूलाई सूचित गरेको थियो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सात दिनको समयमा नाम फिर्ता लिन चाहने उम्मेदवारले बन्दसूचीबाट फिर्ता लिन निवेदन दिन सक्नेछ ।

नाम फिर्ता लिनका पुस २८ गते निवेदन दिनुपर्नेछ । पुस २९ गते बन्दसूचीबाट नाम फिर्ता लिएको जानकारी आयोगले सम्बन्धित दलहरूलाई जानकारी गराउनेछ । कात्तिक ३० गते फिर्ता गरेका नाममा सोही समूहका अर्का उम्मेदवारलाई मनोनीत गरी नामावली आयोगमा पेस गर्ने समय दिएको छ ।

आयोगले माघ ४ गते उम्मेदवारहरूको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । माघ ५ देखि १० गतेसम्म बन्दसूचीमा समावेश भएका उम्मेदवारहरूको योग्यता सम्बन्धमा दाबी विरोधको निवेदन दिनुपर्नेछ ।

माघ ११ देखि १७ गतेसम्म आयोगले प्राप्त उजुरीमाथि छानबिन गरी निर्णय लिनेछ । आयोगले माघ १९ गते आयोगले बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्नेछ । माघ २० गते आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।  

काठमाडौं- गोरखा क्षेत्र नं–२ बाट फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनका लागि मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवारका रूपमा सिफारिस भएका छन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनलाई एमालेले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार पनि सिफारिस गरेको थियो ।

यस पटक पनि उम्मेदवारमा सिफारिस भएपछि उनले यो निर्णय आफ्नो व्यक्तिगत इच्छाभन्दा जनसमुदाय, युवा तथा जेन-जी पुस्ताको निरन्तर माग र दबाबका कारण लिएको दाबी गरेका छन् ।

गुरुङले आफू वि.सं. २०५० सालतिरदेखि नै एमालेमा सक्रिय रहँदै आएको बताएका छन् । ‘पार्टीसँग निरन्तर रूपमा आबद्ध भएर समाजसेवा र राजनीतिमा क्रियाशील छु’, उनले भनेका छन्, ‘समाजका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएकाले गोरखाली जनताले मलाई जिताएर संसद्मा पठाउनेमा ढुक्क छु ।’

काठमाडौँ । कतारले आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा १३ नेपालीलाई आममाफी दिएको छ ।

 

परराष्ट्र मन्त्रालयका अनुसार आज आफ्नो जेलमा रहेका १३ नेपाली कैदीहरूलाई आममाफी दिएको हो ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै कतारले आममाफीको लागि कतार सरकारलाई धन्यवाद दिएको छ । मन्त्रालयले उदारतापूर्वक प्रदान गरिएको आममाफीको लागि कतार सरकारप्रति आभार प्रकट गरेको छ ।

काठमाडौं- नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किएको छ । पार्टीको नियमित १५औँ महाधिवेशन समयमै हुन नसकेपछि विशेष महाधिवेशनको माग गर्दै आएका महाधिवेशन प्रतिनिधिहरूले संयुक्त विज्ञप्ति जारी गरी केन्द्रीय कार्यसमितिमाथि कडा प्रश्न उठाएका छन् ।

विशेष महाधिवेशन मार्गकर्ता महाधिवेशन प्रतिनिधिहरूको तर्फबाट जारी विज्ञप्तिमा पार्टी विधानको उल्लङ्घन भएको, लोकतान्त्रिक प्रक्रिया कमजोर बनेको र संगठनमा अनिश्चयता बढेको आरोप लगाइएको छ ।

गत असोज २९ गते २,४८८ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षरसहित निवेदन दर्ता गराएका थिए ।

पार्टी विधानको दफा १७ (२) अनुसार ४० प्रतिशतभन्दा बढी (५४ प्रतिशत) प्रतिनिधिको मागलाई सम्बोधन गर्नुपर्नेमा केन्द्रीय कार्यसमिति मौन बसेको उनीहरूको गुनासो छ ।

नियमित महाधिवेशन मंसिर मसान्तभित्र नभए विशेष महाधिवेशन अनिवार्य हुने माग गर्दै आएका पक्षधरहरूले पुस मसान्तभित्र पनि नियमित महाधिवेशन सम्भव नदेखिएपछि विशेष महाधिवेशनलाई एकमात्र विकल्प ठानेका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस १७ गते संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको कार्यतालिका स्थगित गरेको घोषणा गरेका थिए ।

उनीहरूले विज्ञप्तिमा भनेका छन्, ‘नियमित महाधिवेशन सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि विशेष महाधिवेशन नै विकल्प बनेको छ ।’

यसअघि भृकुटीमण्डपको हल पुस २७–२८ का लागि बुकिङ गरिएको समाचार पनि सार्वजनिक भएको थियो, जसले विशेष महाधिवेशनको तयारी तीव्र बनेको संकेत गर्छ ।

विशेष महाधिवेशन पक्षधरहरूले विज्ञप्तिमा केन्द्रीय कार्यसमितिले बैठक लम्ब्याएर महाधिवेशन प्रक्रियालाई अनावश्यक ढिलाइ गरेको, क्रियाशील सदस्यता वितरणमा विवाद निरुपण नगरेको र पार्टीको लोकतान्त्रिक छविमाथि आघात पुगेको आरोप लगाएका छन् ।

उनीहरूले आगामी फागुनमा हुने आम निर्वाचनअघि नयाँ नेतृत्व र नीतिसहित पार्टीलाई एकताबद्ध बनाउन विशेष महाधिवेशन अपरिहार्य रहेको तर्क गरेका छन् । ‘पार्टीको जिम्मेवार निकायले विधानको मर्म र महाधिवेशन प्रतिनिधिको भावनालाई सम्मान गर्दै तत्काल विशेष महाधिवेशन आह्वान गर्नुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ । यता, पार्टी सभापति शेरबहादुर देउवा पक्षधरहरू विशेष महाधिवेशनले पार्टी फुटाउने खतरा रहेको भन्दै विरोधमा उभिएका छन् ।

संस्थापन पक्षले नियमित महाधिवेशनलाई निर्वाचनपछि सार्ने मनस्थितिमा देखिएको छ । महामन्त्री थापाले भने सामाजिक सञ्जालमार्फत पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने दिशामा पार्टी अघि बढेको बताएका छन् ।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।

निर्वाचनमा प्रयोग हुने निर्वाचन सामग्री ढुवानीका लागि हेलिकप्टर, ट्रक, कन्टेनर प्रयोग गरिनेछ । ढुवानीका लागि कुरियर सेवा सञ्चालन गर्ने फर्म वा कम्पनीलाई सूचीकृत हुन आउन आयोगले आग्रह गरेको छ ।

आयोगले सूचीकृत हुन इच्छुक फर्म वा कम्पनीलाई आवश्यक शर्त पूरा गरी आवेदन दिन भनिएको छ । सम्बन्धित निकायबाट सेवा सञ्चालन गर्न प्राप्त गरेको इजाजतपत्र, मूल्यअभिवृद्धिकर दर्ता प्रमाणपत्र र आर्थिक वर्ष २०८१/८२ सम्मको करचुक्ता प्रमाणपत्र र विगत तीन आवको कारोबार विवरण खुलेको प्रमाणपत्रको प्रतिलिपि पेस गर्न आयोगले आग्रह गरेको छ ।

हेलिकप्टर भाडामा लिनका लागि पछिल्लो तीन आवको न्यूनतम औसत वार्षिक कारोबार रकम रु तीन करोड बराबरको हुनुपर्नेछ । ट्रक तथा कन्टेनर भाडामा दिनेले रु एक करोड र कुरियर सेवाका लागि रु ३० लाखबराबरको कारोबारको विवरण पेस गर्नुपर्नेछ ।

कुरियर सेवा प्रदान गर्न चाहने कम्पनीले आफ्नो कुरियरको कार्यालय र प्रतिनिधि ७७ वटै जिल्लमा रहेको टेलिफोन, मोबाइल नम्बरबसहितको विवरण निवेदनका साथ पेस गर्नुपर्नेछ ।

एकभन्दा बढी समूहमा सूचीकृत हुनेगरी निवेदन दिएमा त्यस्तो निवेदनउपर कारबाही नगरिने आयोगले जनाएको छ । सेवा प्रदायक फर्म वा कम्पनी सूचीकृत गर्ने, नगर्ने सम्पूर्ण अधिकार भने आयोगमा निहित रहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।