
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार भएको टेलिफोन संवादपछि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले धन्यवाद दिएका छन्।
रास्वपा सभापति रवि लामिछाने र बालेनसँग टेलिफोन संवाद भएको पुष्टि मोदीले सोमबार नै गरिसकेका छन् । त्यसलगत्तै रविले ट्विट गर्दै मोदीसँग विभिन्न चार प्रमुख विषय उठाएको पनि बताएका छन्।
तर भावी प्रधानमन्त्रीका रुपमा हेरिएका बालेन्द्रले मोदीलाई ट्विटमा मेन्सन गर्दै जवाफ फर्काएका हुन् । उनले मोदीलाई मेन्सन गर्दै टेलिफोन संवादका लागि धन्यवाद दिएका छन् । ‘धन्यवाद छ, शुभकामनाका लागि, सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू’, नेपाल–भारत विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु।’
उनले लगातार दोस्रो पटक टी-२० क्रिकेट विश्वकपको उपाधि जितेको भन्दै बधाई दिएका छन् । ‘लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु’, उनले मंगलबार साँझ भनेका छन् ।
उता सोमबार नै रास्वपा सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री मोदीसँग भएको टेलिफोन संवादमा नेपालको प्राथमिकताका चार विषय उठाएको बताएका थिए ।
मोदीले दिएको बधाई सन्देशप्रति प्रतिक्रिया जनाउँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल–भारत सम्बन्धलाई आपसी सम्मान र साझा समृद्धिमा आधारित बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।
सभापति लामिछानेद्वारा जारी प्रतिक्रियामा रास्वपा नेतृत्वको सरकार ‘विकास कूटनीति’लाई प्राथमिकतामा राखेर अघि बढ्ने उल्लेख गरिएको थियो ।
लामिछानेले नेपाल र भारतबीचको सहकार्यलाई अझ उचाइमा पुर्याउन कनेक्टिभिटी, सांस्कृतिक पर्यटन, ऊर्जा र व्यापारका क्षेत्रमा साझेदारी विस्तार गरिने जनाएका थिए । यी चार क्षेत्रमार्फत दुवै देशका जनताको समृद्ध भविष्य सुनिश्चित गर्ने लक्ष्य राखिएको रास्वपा सभापति लामिछानेको भनाइ थियो ।
सोमबार रवि र वरिष्ठ नेता बालेनसँग भारतीय प्रधानमन्त्री मोदीले फोन संवाद गरेर फागुन २१ मा भएको निर्वाचनमा प्राप्त विशाल जितका लागि बधाई दिएका थिए ।
मोदीले टेलिफोन संवादमा दुवै नेतालाई निर्वाचनमा प्राप्त जित तथा रास्वपाको उल्लेखनीय सफलताका लागि बधाई दिँदै नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गरेका थिए।
उनले नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुवै देशका जनताको कल्याणका लागि सहकार्य गर्न भारत प्रतिबद्ध रहेको बताए ।
मोदीले दुवै देशको संयुक्त प्रयासमार्फत् आगामी वर्षहरूमा नेपाल–भारत सम्बन्धलाई अझ उचाइमा पुर्याउने विश्वास पनि व्यक्त गरे। यसअघि फागुन २१ को निर्वाचन सफलतापूर्वक गराएकोमा सरकार र नेपाली जनतालाई उनले बधाई दिएका थिए ।
कवि थापा
भर्खरै सकिएको चुनावमा ३७ जना उम्मेदवारले आफ्नो मात्रै भोट पाएको देखिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार ३७ जना उम्मेदवारले १ मत मात्रै पाएका हुन्। एक मत पाउने उम्मेदवारहरुमा मधेशका १९ जना, बागमतीमा १२ जना र लुम्बिनीमा ६ जना छन् ।
एकमत पाउनेमात्रै होइन, आफ्नै मत पनि नपाउने उम्मेदवार १४ जना छन् । जसमा धनुषा ३ का तीन जना, रौतहट ४ मा १ जना, धादिङ १ मा एक जना, काठमाडौं १ मा नेपाल जनसेवा पार्टीका उम्मेदवार अर्जुन बहादुर शाहीले आफ्नो मत आफैंलाई समेत दिएनन् । ललितपुर १ मा देवेन्द्र सिंहले शून्य मत पाए । गुल्मी १ मा दुइ उम्मेदवार र रुपन्देही २ मा पाँच उम्मेदवारले एक भोट पनि नपाएका हुन् । एकमत मात्रै पाउने र मतै नपाउने अधिकांश स्वतन्त्र उम्मेदवार छन् ।
उनीहरुले चुनावमा उठ्ने धोको पु¥याउनमात्रै उम्मेदवारी दर्ता गरेको देखिएको छ ।
एक भोट मात्रै पाउने मधेशका उम्मेदवारहरु
सिराहा १ मा स्वतन्त्र उम्मेदवार रामदेव ठाकुर एकमतमात्रै पाए। त्यहाँबाट रास्वपाका बब्लु गुप्ता निर्वाचित भएका छन्।
सिराहा ३ मा रास्वपाका शम्भु कुमार यादव निर्वाचित हुँदा सिरिन्ज चुनाव चिन्ह लिएका स्वतन्त्र उम्मेदवार सतिश चन्दै सिंहले आफ्नो मात्रै भोट पाए। मधेशकै धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झा विजयी हुँदा तीन जना स्वतन्त्र उम्मेदवारहरुले आफ्नै मत समेत आफुलाई हालेनन् । कृष्ण कुमार साह, मात्रिका प्रसाद दास र सीतादेवी साहले आफ्नो मत आफैंलाई नदिँदा एक भोट पनि नपाएका हुन् ।
महोत्तरी २ मा स्वतन्त्र उम्मेदवार रेशमा देवी, सर्लाही २ मा स्वतन्त्र उम्मेदवार सत्य नारायण चौधरी कलवार, सर्लाही ३ मा लोक बहादुर दर्लामीले आफ्नो मात्रै भोट पाएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार रौतहट १ मा तीन जना दिनेश कुमार यादव, मनिन्द्र कुमार ठाकुर र रवि अर्चनम वर्मा, रौतहट ३ मा रतनेश महतो कोइरीले एक÷एक मत पाउँदा रौतहट ४ मा कुसुम खातुनले शून्य भोट छ ।
बारा २ मा जालमहमद अंसारीले एक मत पाए, बारा ४ मा पुर्ण प्रसाद पन्थ र मंगेश्वर पटेलले पनि एक मत पाए ।
पर्सा १ मा दुइ जना प्रेम मेहता, सरोज प्रसाद यादव र पर्सा २ मा राम नेरेश प्रसाद चौरासिया र रोशन प्रसाद अहिरले एक÷एक मत प्राप्त गरेका छन् ।
उनीहरुले चुनावमा उठ्ने धोको मात्रै पुरागरेको देखिएको छ ।
यी हुन् बागमती प्रदेशमा उम्मेदवारी दिएर एक मत र शुन्य मत पाउने उम्मेदवारहरु
धादिङ १ मा स्वतन्त्र उम्मेदवारी दिएका कृष्ण प्रसाद अधिकारीले आफैंलेसमेत आफुलाई भोट हालेनन् । धादिङ २ मा शिवनिधि खनाललाई आफ्नो मात्रै भोट खस्दा जम्मा एक मत पाए ।
काठमाडौं १ मा स्वतन्त्र उम्मेदवारहरु राजु भुजेल, शान्ति श्रेष्ठ र संगित बमले एक ÷एक मत पाउँदा नेपाल जनसेवा पार्टीका उम्मेदवार अर्जुन बहादुर शाहीको मत शून्य छ ।
काठमाडौं २ मा इरा श्रेष्ठलाई १ मत, काठमाडौं ३ मा मितेरी पार्टी नेपालका जितबहादुर तामाङलाई १ मत परेको छ । भक्तपुर २ मा चार जना स्वतन्त्र उम्मेदवारहरु अनिता भट्टराई, प्रदिप कुमार रुपाखेती, मधुप्रकाश साहुखल र श्याम कृष्ण धुख्वाले आफ्नै मात्र मत पाए ।
ललितपुर १ मा राम खड्काले एक मत पाए भने देवेन्द्र सिंहले आफैंले आफैंलाई भनि भोट नहालेको देखिएको छ । मकवानपुर १ मा राजकुमार खड्काले १ मत प्राप्त गरे ।
लुम्बीनी प्रदेशमा एक भोट पाउने र शून्य भोट हुने उम्मेदवारहरु
गुल्मी १ मा कृष्ण बहादुर सुनार र सुर्य बहादुर सोनी सुनारले एक÷एक भोट पाउँदा प्रेमप्रसाद श्रेष्ठ र विमल ज्ञवालीले शून्य मत पाए । चारै जना स्वतन्त्र उम्मेदवार हुन् ।
रुपन्देही २ मा ३ जना उषा भट्टराई, कमला बोहरा, मधुसुदन पन्थीले एक एक मत पाउँदा ५ जना टिका बहादुर क्षेत्री, दिलीपकुमार सुना, बालकृष्ण ज्ञवाली, विमला भट्टराई र विष्णुप्रसाद वस्याललाई शून्य मत छ। दाङ ३ मा स्वतन्त्र उम्मेदवार सुरेश नेपालीको मात्र १ मत खसेको देखिएको छ ।
काठमाडौँ । मध्यपूर्वका विभिन्न मुलुकतर्फ हवाई सेवा सञ्चालनको सम्भावनाबारे अध्ययन गर्ने निर्णय गरिएको छ।
परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित इमरजेन्सी रेस्पोन्स टिम (ईआरटी) को दोस्रो बैठकले उक्त विषयमा अध्ययन अघि बढाउने निष्कर्ष निकालेको हो।
इजरायल र अमेरिकाको आक्रमणपछि इरानले खाडी तथा मध्यपूर्व क्षेत्रका केही देशतर्फ मिसाइल तथा ड्रोन आक्रमण गरिरहेको अवस्थाका कारण त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाबारे चिन्ता बढेको बताइएको छ। सोही परिस्थितिलाई ध्यानमा राख्दै आवश्यक समन्वय तथा निर्णयका लागि सरकारले परराष्ट्र सचिव राईको नेतृत्वमा ईआरटी गठन गरेको थियो।
बैठकमा मध्यपूर्व क्षेत्रका विभिन्न गन्तव्यमा हवाई सेवा अवरुद्ध हुँदा ट्रान्जिटमा परेका नेपालीहरू रोकिएको अवस्थालाई ध्यानमा राख्दै उनीहरूको उद्धार र गन्तव्यसम्म सुरक्षित आवागमन सुनिश्चित गर्न हवाई उडान सञ्चालनको सम्भावनाबारे अध्ययन गर्ने निर्णय गरिएको जनाइएको छ।
साथै, पश्चिम एसियामा रहेका नेपाली नागरिकको सुरक्षा र हित संरक्षणका लागि नेपाल सरकारले हालसम्म गरेका प्रयास तथा प्रगतिबारे पनि बैठकमा समीक्षा गरिएको थियो।
परराष्ट्र मन्त्रालयका अनुसार नेपाली नागरिकको सुरक्षा, हित तथा कल्याण सुनिश्चित गर्न आवश्यक समन्वय र पहललाई निरन्तरता दिने विषयमा समेत बैठकमा सहमति भएको छ। मन्त्रालयमा स्थापना गरिएको इमरजेन्सी कन्ट्रोल रुम तथा विदेशस्थित नेपाली नियोगमार्फत सम्पर्कमा आएका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा पनि छलफल गरिएको थियो।
मध्यपूर्व क्षेत्रमा विकसित परिस्थितिको पृष्ठभूमिमा त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा तथा हित संरक्षणका लागि समग्र अवस्थाको प्रभावकारी, समन्वित र द्रुत व्यवस्थापन गर्न ईआरटीले आवश्यक कार्यहरू अघि बढाइरहेको जनाइएको छ।
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् ।
अर्थमन्त्रीका रूपमा प्रयोग गर्न दिइएको कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा फिर्ता बुझाइएको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका हुन् ।
फेसबुकमा उनले लेखेका छन्, ‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानी नं डीए०००२७१० को प्रयोजन समाप्त भएकोले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनु राहदानी यसै साथ संलग्न राखी अनुरोध गरेको छु ।’
अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई सम्बोधन गर्दै उनले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी फिर्ता गरेको उल्लेख गरेका छन् ।
हाल प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा रामेश्वर खनाल अर्थमन्त्रीका रूपमा कार्यरत छन् । यो सरकार जेनजी आन्दोलन पछि गठन भएको हो ।
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ हालसम्म १ करोड ०४ लाख ५३ हजार २५८ गणना सकिएको छ । निर्वाचन आयोगका अनुसार अब करिब ५ लाखमात्र गणना बाँकी छ ।
रास्वपाले सुरूदेखिकै अग्रता कायम राख्दै ठूलो मतान्तरले अरुलाई पछि पारेको छ ।
गणना जारी रहँदा रास्वपा एक्लैले झण्डै आधा मत प्राप्त गरेको छ । रास्वपाले ५० लाख १९ हजार ३७५ मत प्राप्त गर्दै ४८.०२ प्रतिशत हिस्सा ओगटेको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ९६ हजार ५८८ मत प्राप्त गरेको छ, जुन कुल गणना भएको मतको १६.२३ प्रतिशत हुन आउँछ । त्यसैगरी, नेकपा (एमाले) १४ लाख १४ हजार १०७ मत (१३.५३ प्रतिशत) सहित तेस्रो स्थानमा रहेको छ ।
नेकपा ७.३७ प्रतिशत मतसहित चौथो स्थानमा छ भने श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले क्रमशः ३.४३ र ३.११ प्रतिशत मत प्राप्त गरेका छन् । राप्रपाभन्दा श्रम संस्कृति ३३ हजार मतले अगाडि छ ।
राष्ट्रिय पार्टी बन्नको लागि देशभर खसेको कुल मतको कम्तीमा ३ प्रतिशत मत ल्याउनुपर्छ ।
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजीनामा दिने भन्दा पनि जिम्मेवारी पुरा गर्ने समय आएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत भण्डारीले पार्टीका सभापती गगन थापालाई राजीनामा दिनुभन्दा पनि छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो रहेको बताएका हुन् ।
उनले लेखेका छन,‘राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो । त्यसैले गगन कुमार थापा ज्यूले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो ।’
भण्डारीले समस्या देखेर भाग्नु भन्दा पनि उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको भएको उल्लेख गरे । उनले भने, ‘समस्या देखेर भाग्नु होइन, उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हो ।’
उनले यो अवस्थामा कांग्रेस बचाउनु आफैँमा नैतिक दायित्व भएकाले युवाले कांग्रेसलाई छोड्दै गएको समयमा पार्टीलाई औषधि खुवाउनुपर्ने भएको बताए । यस्तोबेला कांग्रेस छाडेर हिँड्न नहुने उनको तर्क छ ।
‘नैतिकता त नेपाली राजनीतिमा प्रायः मरीसकेको अवस्था छ, त्यसैले अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ विरुवा रोप्नैपर्छ,’ उनले लेखेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको निर्वाचनमा विशाल जितका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहलाई सोमबार फोन गरेर बधाई दिएका छन् ।
रास्वपाले फागुन २१ मा सम्पन्न निर्वाचनमा प्रत्यक्ष १२५ सहित दुईतिहाइ बहुमत पक्का गर्नै लाग्दा मोदीले सभापति लामिछाने र वरिष्ठ नेता साहसँग टेलिफोन वार्ता गरेको जानकारी दिएका हुन् ।
रास्वपाबाट फागुन २१ को निर्वाचनपछि बालेन्द्र प्रधानमन्त्री हुने सहमति गत पुस १३ गते नै भइसकेको छ । निर्वाचनपछि प्रत्यक्ष र समानुपातिकको परिणाम अन्तिम चरणमा पुगिरहँदा दुवै नेतासँग मोदीले संवाद गरेका हुन् ।
उनले यो चुनावमा भएको ऐतिहासिक जितप्रति दुवैजनालाई बधाई दिएको पनि जानकारी गराएका छन् ।
सोमबार एक्स (ट्विटर) मार्फत उनले टेलिफोन संवादमा दुवै नेतालाई निर्वाचनमा प्राप्त जित तथा रास्वपाको उल्लेखनीय सफलताका लागि बधाई दिँदै नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गरेका हुन्। मोदीले नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुवै देशका जनताको कल्याणका लागि सहकार्य गर्न भारत प्रतिबद्ध रहेको बताएका छन्।
उनले दुवै देशको संयुक्त प्रयासमार्फत् आगामी वर्षहरूमा नेपाल–भारत सम्बन्धलाई अझ उचाइमा पुर्याउने विश्वास पनि व्यक्त गरेका छन्। मोदीले यसअघि फागुन २१ को निर्वाचन सफलतापूर्वक गराएकोमा सरकार र नेपाली जनतालाई बधाई दिएका थिए ।
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाका सबै १६५ वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्वजनिक गरेको छ । फागुन २१ गते देशभर एकैसाथ सम्पन्न मतदानको अन्तिम परिणाम सोमबार राति संखुवासभाको मत गणना सकिएसँगै सार्वजनिक भएको हो ।
निर्वाचन आयोगका अनुसार संखुवासभामा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिङ्मा शेर्पालाई पराजित गर्दै अन्तिम सिट सुरक्षित गरेका छन् । योसँगै प्रत्यक्षतर्फको १६५ सिटको छिनोफानो भएको छ ।
रास्वपाले परम्परागत शक्तिहरूलाई निकै पछाडि छाड्दै प्रत्यक्षतर्फ मात्रै १२५ सिटमा सानदार जित हासिल गरेको छ । यसैगरी नेपाली कांग्रेस १८ सिटमा खुम्चिएको छ भने नेकपा एमालेले ९ सिटमा चित्त बुझाएको छ । अन्य दलहरूमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ८ सिट प्राप्त गर्दा नयाँ शक्तिका रूपमा उदाएको श्रम संस्कृति पार्टीले ३ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिट जितेको छ । यस्तै, म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले पनि जित निकालेर संसदको यात्रा तय गरेका छन् ।
प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मंगलवार बिहानसम्म १ करोड ३ लाख नाघेको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार देशभर हालसम्म १ करोड ३ लाख २१ हजार ८ सय ६ मत गणना भइसकेको हो ।
पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४९ लाख ६४ हजार २३२ मत प्राप्त गर्दै आफ्नो वर्चस्व कायम गरेको छ। यो कुल गणना भएको मतको झण्डै आधा हिस्सा हो।
त्यसैगरी, दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १६ लाख ७७ हजार ९४२ मत प्राप्त गरेको छ। नेपाल कम्युनिस्ट पार्टी एमाले १३ लाख ९३ हजार १३७ मतका साथ तेस्रो स्थानमा रहेको छ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ५५ हजार ६६० मत आफ्नो पक्षमा पारेको छ। त्यस्तै, ३ लाख ४९ हजार ०९० मतसहित श्रम संस्कृति पार्टी पाँचौँ र ३ लाख २३ हजार २७३ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छैटौँ स्थानमा रहेका छन्।
समानुपातिकतर्फ एक लाख भन्दा बढी मत ल्याउने अन्य दलहरूमा जनता समाजवादी पार्टी, नेपाल (१,७०,१३५ मत) र राष्ट्रिय परिवर्तन पार्टी (१,६५, ३६६) मत रहेका छन्।





