काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्।
पार्टीको सिफारिस अनुसार प्रधानमन्त्रीले श्रममन्त्रीलाई पदमुक्त गरेका हुन्।
पार्टी सभापति रवि लामिछानेले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै फिर्ता बोलाउन प्रधानमन्त्री शाहलाई पत्र पठाएका थिए।
साहले पत्नी जुनु श्रेष्ठ स्वास्थ्य बीमा बोर्डको सदस्य पुनः नियुक्ति गर्ने विवादित निर्णय गरेका थिए। उनको पृष्ठभूमि पनि विवादित नै भएको पाइएपछि उनलाई प्रधानमन्त्रीले हटाएका हुन्। उनी १३ दिनअघि मन्त्रीमा नियुक्त भएका थिए।
यसैगरी, यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपेक्षित गम्भीरता नदेखाएको भन्दै रास्वपा सभापति लामिछानेले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई समेत सचेत गराउन प्रधानमन्त्री शाहसमक्ष सिफारिस गरेका थिए । सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई समेत सचेत गराइसकेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति आपत्ति जनाएका छन् ।
उनले अर्को पार्टीलाई समर्थन गरेर सभापति लामिछानेले आफूलाई फोन गरेकोप्रति आपत्ति जनाएका हुन् ।
बिहीबार उपसभामुखको उम्मेदवारी दर्तापछि उनले सभापति लामिछानेले आफै फोन गरेर ‘हाम्रो समर्थन छ, उम्मेदवारी दर्ता गराउनुस् है’ भनेपछि बल्ल आफूहरुले दर्ता गराएको जानकारी दिए ।
उनले भने,‘रास्वपाका सभापतिले स्वयंम फोन गरेपछि हामीले उम्मेदवारी दिएका हौं । सबै प्रतिपक्ष एक भएपछि गरेको यस्तो निर्णयमा पुगेका हौं । राजनीतिमा तल माथि त भइहाल्छ । स्वयंम सभापतिले फोन गरेर उम्मेदवारी दर्ता गराउनुहोस् है हाम्रो समर्थन छ भनेपछि दर्ता गराएका छौं । अर्को पार्टीलाई समर्थन गर्ने भए सभापति लामिछानेले किन फोन गरेको ?
यता रास्वपाले भने आफ्नो समर्थन श्रम संस्कृति पार्टीलाई गर्ने घोषणा गरेको छ ।
अख्तियार दुरुपयोग अन्सन्धान आयोगले विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दै छ ।
मुद्दाको फाइल लिएर अहिले अख्तियारका कर्मचारीहरू विशेष अदालतमा पुगेका छन् । अहिले विवरण रुजु गर्ने काम भइरहेको विशेष अदालत स्रोतले जानकारी दिएको छ ।
नेकपाका नेता समेत रहेका महराको भेपबाट हुने सुन तस्करीमा संलग्न चिनयाँ नागरिकसँगको सम्बन्ध र कारोबार खुलेपछि अख्तियारले मुद्दा लैजाने निर्णय गरेको हो ।
चिनियाँ गिरोहले २०७९ मा भेपको आवरणमा सुन भित्राउन खोज्दा भन्सारले पक्राउ गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा महरा र उनका छोरा राहुल लगायतको संलग्नता भेटिएको थियो ।
अख्तियारले उनीमाथि लागेको आरोप र बिगो लगायतको विवरण खुलाइसकेको छैन ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि केही दिन अस्पतालमै रहने भएका छन्।
जेनजी आन्दोलन घटनाको छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका उनी आज रिहा भएका हुन् । उनी पक्राउ परेदेखि नै अस्पतालमा उपचाररत थिए।
गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयका आधारमा प्रहरीले अध्यक्ष ओलीलाई भक्तपुरको गुण्डुबाट यही चैत १४ गते नियन्त्रणमा लिएको थियो ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखेको आरोप लगाएका छन् ।
सर्वोच्च अदालतको आदेशमा हिरासतमुक्त भएसँगै सामाजिक संजालमा लेखेर ओलीले यस्तो बताएका हुन् । उनले सरकारले अभियोग लगाए पनि अदालतमा मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको बताएका छन् ।
उनले लेखेका छन् ‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु।’
‘मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु। साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु।’
‘प्रहरी नियन्त्रणमा रहँदा मप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र मेरो स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि म कृतज्ञ छु। ‘
‘मेरो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उहाँहरूको उपचार खर्च राज्यले बेहोर्नु पर्दछ, यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी गराउँछु।’
प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने जानकारी गराउँदै यस घडीमा सद्भाव र शुभेच्छा प्रकट गर्नुहुने पार्टीका समग्र नेता-कार्यकर्ता एवं समस्त शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्दछु।
काठमाडौं । २५ वर्षीय रुवीकुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख बन्ने भएकी छिन् । श्रम संस्कृति पार्टीकी उनलाई बहुमत प्राप्त दल रास्वपाको समर्थन भएकोले उनी निर्वाचित हुने लगभग निश्चित छ ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीले ठाकुरलाई समर्थन गर्ने पुष्टि गरेका छन् । उपसभामुखमा राप्रपाकी सरस्वती लामाले पनि उम्मेदवारी दिइसकेकोले मतदान हुने पक्का भएको छ ।
यसअघि सभामुख पदमा भने मतदान भएको थिएन । रास्वपाका डीपी अर्याल एक्ला उम्मेदवार भएकोले उनी निर्विरोध सभामुख निर्वाचित भएका थिए । उपसभामुख निर्वाचित गर्नका लागि चैत २७ गते मतदान हुनेछ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले आज (बिहीबार) हाजिरी जमानीमा रिहा गरेको छ।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आवश्यक परेका बेला हाजिर हुने सर्तमा एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई उनीहरूका श्रीमती क्रमश: राधिका शाक्य र यशोदा जोशी लेखकको जिम्मामा छाडिएको हो।
उनले भने, ‘अनुसन्धानका क्रममा खोजेका बखत हाजिर हुने सर्तमा उहाँहरूलाई जिम्मा जमानीमा रिहा गरियो।’
सर्वोच्च अदालतको आदेशअनुसार सरकारी वकिलबाट पत्र आएपछि उनीहरूलाई रिहा गरिएको हो।
गत भदौमा भएको जेनजी आन्दोलनमा ज्यान जाने गरी दमन गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौँले यही चैत १४ गते शनिबार पक्राउ गरेको थियो।
स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल लगिएका एमाले अध्यक्ष ओली बिरामी भएका कारण त्यही दिन अस्पतालमै भर्ना भएका थिए भने लेखकलाई महाराजगन्जमै रहेको प्रहरीको २ नं गणमा राखिएको थियो।
गत सोमबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनील पोखरेलको इजलासले उनीहरूको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरे पनि परमादेश जारी गर्दै उनीहरूलाई थुनामुक्त हुने बाटो खुलाएको हो। अब उप्रान्त म्याद थप नगर्न भनेको छ।
जुन आदेशका कारण उनीहरू अब थुनामा बस्नुनपर्ने भएको हो।
प्रहरी हिरासतबाट मुक्त भए पनि पत्थरीको उपचार जारी रहेकाले पूर्वप्रधानमन्त्री ओली भने सोमबार मात्र शिक्षण अस्पतालबाट डिस्चार्ज हुने बताइएको छ।