२०८३ असार २३ गते मंगलवार
२०८३ असार २३ गते मंगलवार

पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहले मंगलबार आफ्नो परिवारसँग ८०औँ जन्मदिन मनाएका छन्। उनको जन्मदिनको अवसरमा समर्थक तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका छन् भने काठमाडौंको रत्नपार्क क्षेत्रमा शाही युवा शक्तिले र्‍यालीसमेत आयोजना गरेको छ।

वि.सं. २००४ साल असार २३ गते जन्मिएका ज्ञानेन्द्र शाह नेपालको इतिहासमा राजतन्त्रका अन्तिम राजा हुन्। तत्कालीन राजा महेन्द्रका कान्छा पुत्र रहेका उनी बाल्यकालमै केही समयका लागि राजा घोषणा गरिएका थिए। त्यसबेला राणाशासन कायम रहेकाले उनले शासन सञ्चालन गर्ने अवसर भने पाएका थिएनन्।

वि.सं. २०५८ सालको राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहसहित राजपरिवारका अधिकांश सदस्यको निधन भएपछि ज्ञानेन्द्र शाह नेपालको राजगद्दीमा आरोहण गरेका थिए। उनको शासनकाल राजनीतिक उतारचढाव र अस्थिरताबीच बित्यो।

वि.सं. २०६१ सालमा उनले प्रत्यक्ष शासन आफ्नो हातमा लिएपछि उक्त कदम व्यापक विवादको विषय बनेको थियो। त्यसपछिको जनआन्दोलनले गति लिँदा अन्ततः वि.सं. २०६५ साल जेठ १५ गते संविधानसभाले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै २४० वर्ष पुरानो राजसंस्थाको औपचारिक अन्त्य गरेको थियो।

राजसंस्थाको अन्त्यपछि ज्ञानेन्द्र शाह सर्वसाधारण नागरिकका रूपमा जीवनयापन गर्दै आएका छन्। ८०औँ जन्मदिनको अवसरमा देश–विदेशमा रहेका उनका समर्थक तथा शुभेच्छुकहरूले विभिन्न माध्यमबाट शुभकामना व्यक्त गरिरहेका छन्।

नेपालको घरजग्गा कारोबारमा सामान्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ प्रतिवेदन अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा घरजग्गा कारोबारको संख्या, क्षेत्रफल र रकममा पनि सुधार देखिएको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रमा सुधार देखिएको हो । तेस्रो त्रैमासमा देशभरको कुल घरजग्गा कारोबार संख्या ६.४२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । गत आवको यही अवधिमा यस्तो कारोबार ४.५२ प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार माघदेखि चैतसम्म देशभर कुल १ खर्ब ८३ अर्ब ८० करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८३ अर्बभन्दा बढीले बढेको हो । गत वर्षको तेस्रो त्रैमासमा १ खर्ब ७ करोड रुपैयाँको मात्र कारोबार भएको थियो ।

कारोबार बढेसँगै सरकारको राजस्व संकलनमा पनि सकारात्मक प्रभाव परेको छ । घरजग्गा कारोबारबाट संकलन हुने राजस्व २३.७२ प्रतिशतले वृद्धि भएको छ । पुँजीगत लाभकर संकलनमा ३१.४२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । जसले घरजग्गाको मूल्यमा भएको वृद्धि वा धेरै नाफा हुने क्षेत्रमा कारोबार केन्द्रित भएको संकेत गर्ने प्रतिवेदनमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने घरजग्गा कर्जा (आवासीयसहित) ५.५५ प्रतिशतले बढेको छ ।

बागमती प्रदेशमा उच्च वृद्धि, मधेशमा घट्यो

प्रादेशिक रूपमा हेर्दा बागमती प्रदेशमा घरजग्गा कारोबार उच्च देखिएको छ । बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबार संख्या सबैभन्दा धेरै ३३.०१ प्रतिशतले बढेको छ । तर, मधेश प्रदेशमा भने कारोबारमा ४.७९ प्रतिशतको गिरावट देखिएको छ । मधेश बाहेकका अन्य सबै प्रदेशमा कारोबार संख्या बढेको प्रतिवेदनले देखाउँछ ।

क्षेत्रफलका आधारमा गण्डकी प्रदेशमा सबैभन्दा धेरै २४.८४ प्रतिशतले कारोबार भएको जग्गाको क्षेत्रफल बढेको छ । मधेश प्रदेशमा ९.३३ प्रतिशतले घटेको छ । कारोबारको कुल मूल्यका आधारमा पनि बागमती प्रदेश नै अगाडि छ । बागमतीमा कुल मूल्यका आधारमा १३१.५२ प्रतिशतको वृद्धि देखिएको छ । सबै सातै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा धेरै किनबेच भएको पाइएको छ ।

गत आवमा मधेश प्रदेशमा २० आनाभन्दा बढीका प्लटहरूमा सबैभन्दा धेरै कारोबार भएको थियो भने अन्य सबै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा धेरै कारोबार भएको थियो ।

देशका ६ वटा महानगरपालिकाहरूमध्ये काठमाडौं महानगरपालिकामा घरजग्गाको कारोबार सबैभन्दा उच्च देखिएको छ । काठमाडौंमा घरजग्गा कारोबार संख्या १०८.४२ प्रतिशतले बढेको छ । काठमाडौंपछि पोखरामा ८२.१५ प्रतिशत, ललितपुरमा ७३.८१ प्रतिशत, वीरगञ्जमा ३१.०७ प्रतिशत, भरतपुरमा २९.२१ प्रतिशत र विराटनगरमा २७.९२ प्रतिशतले कारोबार संख्या बढेको छ ।

कारोबार भएको कुल क्षेत्रफल र कुल मूल्यका आधारमा पनि काठमाडौं नै शीर्ष स्थानमा छ । काठमाडौं महानगरमा घरजग्गा कारोबारको कुल मूल्य २२३.१२ प्रतिशतले बढेको छ ।

उपमहानगरपालिकाहरूको हकमा लुम्बिनी प्रदेशका सहरहरूमा आकर्षण देखिएको छ । बुटवल उपमहानगरपालिकामा घरजग्गा कारोबार संख्या सबैभन्दा धेरै ५६.७९ प्रतिशतले बढेको छ । कलैया उपमहानगरमा भने कारोबार संख्या ६.९५ प्रतिशतले घटेको छ ।

कारोबार भएको कुल मूल्यको आधारमा दाङको तुलसीपुर उपमहानगरपालिका अग्रस्थानमा देखिएको छ । तुलसीपुरमा घरजग्गा कारोबारको कुल मूल्य १३४.४६ प्रतिशतले वृद्धि भएको छ । तर, नेपालगञ्ज उपमहानगरपालिकामा भने कारोबार भएको कुल क्षेत्रफलमा ६८.२९ प्रतिशतको ठूलो गिरावट आएको छ ।

काठमाडौँ । विगत दुई सातादेखि माइतीघर मण्डलामा जारी दृष्टिविहीन समुदायको आन्दोलन सरकारसँग भएको छलफलपछि तत्कालका लागि स्थगित भएको छ । माग सम्बोधनका लागि सम्बन्धित मन्त्रालयबीच समन्वय गरी समाधान प्रक्रिया अघि बढाउने सहमतिसँगै धर्ना कार्यक्रम रोकिएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा भएको वार्तामा आन्दोलनरत पक्षले उठाएका विषयलाई सम्बोधन गर्न आवश्यक पहल गर्ने सहमति भएको छ ।

सहमति अनुसार दृष्टिविहीन समुदायले सञ्चालन गर्दै आएका कला, सांगीतिक प्रस्तुति तथा जीविकोपार्जनसँग सम्बन्धित गतिविधिहरू साउन मसान्तसम्म हालकै स्थानबाट निर्बाध रूपमा सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । मागहरू सम्बोधन नभएसम्म ती गतिविधिमा कुनै अवरोध नगर्ने समझदारी भएको हो ।

वार्तामा उठेका विषयलाई समाधानतर्फ लैजान सामाजिक सुरक्षा मन्त्रालयले युवा तथा श्रमसम्बन्धी निकाय, स्वास्थ्य तथा खाद्य स्वच्छता क्षेत्र र शिक्षा तथा खेलकुदसम्बन्धी मन्त्रालयसँग आवश्यक समन्वय गर्ने भएको छ ।

आन्दोलनरत दृष्टिविहीन समुदायले आफ्नो योग्यता, क्षमता र सीपअनुसार रोजगारीको अवसर सुनिश्चित गर्नुपर्ने, अध्ययनबाट वञ्चित व्यक्तिहरूका लागि सीप विकास तालिम, प्रारम्भिक लगानी र बजार व्यवस्थापनको व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।

त्यस्तै, रोजगारी वा स्वरोजगार गर्न नसक्ने अवस्थाका दृष्टिविहीन व्यक्तिका लागि जीवनयापन सहयोग पुग्ने भत्ताको व्यवस्था, दृष्टिविहीन व्यक्ति तथा आश्रित परिवारका सदस्यका लागि नि:शुल्क स्वास्थ्य उपचार, आवश्यक सहायक सामग्री तथा प्रविधिको उपलब्धता, सार्वजनिक यातायातमा अपाङ्गता परिचयपत्रका आधारमा दिइने छुटको प्रभावकारी कार्यान्वयनलगायत विषय पनि उनीहरूको मागमा समेटिएका छन् ।

दृष्टिसम्बन्धी अपांगता भएका व्यक्तिका सन्तानलाई निजी तथा सामुदायिक विद्यालयमा नि:शुल्क सामान्य र प्राविधिक शिक्षा उपलब्ध गराउने व्यवस्था तथा व्यवसाय गर्न चाहने व्यक्तिका लागि बिना धितो सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने मागसमेत समुदायले अघि सारेको छ ।

वार्तापछि सरकार र आन्दोलनरत पक्षबीच नियमित संवाद तथा अन्तर मन्त्रालय समन्वयमार्फत मागहरूको चरणबद्ध समाधान खोज्ने सहमति भएको छ । सहमतिसँगै तत्कालीन आन्दोलन स्थगित भए पनि माग कार्यान्वयनको अवस्थाबारे निरन्तर सहकार्य गर्ने समझदारी कायम गरिएको छ ।

फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा स्पेनले पोर्चुगललाई पराजित गरेको छ । मंगलबार बिहान भएको खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै स्पेनले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

यस ऐतिहासिक जितसँगै स्पेन १६ वर्षपछि विश्वकपको अन्तिम आठमा पुग्न सफल भएको छ भने उपाधि दाबेदार पोर्चुगलको यात्रा नकआउट चरणमै टुङ्गिएको छ। यस पराजयसँगै पोर्चुगिज फुटबलका महानायक ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोको प्रतिष्ठित विश्वकप खेल जीवनको पनि दुःखद अन्त्य भएको छ।

डलासको अत्यधिक गर्मी मौसमबीच भएको उक्त खेलमा दुवै टोलीले सुरुदेखि नै आक्रामक रणनीति अपनाएका थिए। निर्धारित ९० मिनेटको समयसम्म दुवैतर्फबाट निकै प्रयास भए पनि कुनै पनि पक्षबाट गोल हुन सकेन र खेल अतिरिक्त समयतर्फ धकेलिने निश्चित जस्तै देखिन्थ्यो।

तर, दोस्रो हाफको इन्जुरी समयमा स्पेनका मिकेल मेरिनोले उत्कृष्ट गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए। खेलभरि बल पोजेसन र आक्रामक मुभमा अब्बल देखिएको स्पेनका लागि मेरिनोको यही प्रहार नै निर्णायक साबित भयो।

यो जित स्पेनका लागि निकै ऐतिहासिक र महत्वपूर्ण बनेको छ। स्पेन १६ वर्षको लामो प्रतीक्षापछि पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो। यसअघि सन् २०१० मा दक्षिण अफ्रिकामा पहिलो पटक विश्वकप च्याम्पियन बनेयता स्पेन त्यसपछिका संस्करणहरूमा क्वाटरफाइनलसम्म पनि पुग्न सकेको थिएन।

खेल सकिएलगत्तै भावुक बनेका पोर्चुगिज कप्तान रोनाल्डोले इतिहासकै सबैभन्दा ठूलो मञ्चबाट आँसुसहित बिदा लिँदै यो आफ्नो अन्तिम विश्वकप भएको औपचारिक पुष्टि गरे। डलास स्टेडियमको चारैतिर हेर्दै, हातमा क्याप्टेनको आर्मब्यान्ड समातेर चेन्जिङ रुमतरफ जाँदै गर्दा रोनाल्डोका आँखा रसाएका थिए।

उनले पत्रकारसँग भने, ‘यसरी विश्वकपबाट बाहिरिनु पर्दा म निकै दुःखी छु। मैले आफ्नो तर्फबाट सबैथोक दिएँ र अब म सफा मन लिएर मैदानबाट निस्किँदै छु। यो मेरो अन्तिम विश्वकप थियो, तर म अन्तर्राष्ट्रिय फुटबलबाटै संन्यास लिनेबारे अहिल्यै कुनै हतारोमा निर्णय गर्ने छैन।’

आफ्नो खेल जीवनमा विश्वकपको सुनौलो ट्रफी उचाल्न नपाए पनि रोनाल्डोले फुटबल इतिहासमै विरलै खेलाडीले पाउने गौरवमय कीर्तिमानहरू आफ्नो नाममा लेखाइसकेका छन्।

जारी विश्वकपको समूह चरणमा उज्वेकिस्तानविरुद्ध ५–० को जितमा दुई गोल गर्दै उनी लगातार ६ वटा फरक विश्वकप (२००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६) मा गोल गर्ने विश्वकै एक मात्र खेलाडी बनेका छन्।

पोर्चुगलका लागि सबैभन्दा धेरै २७ विश्वकप खेल खेलेका रोनाल्डोले देशका लागि ११ गोल गरे। यसै संस्करणमा क्रोएसियाविरुद्ध पेनाल्टीमार्फत गोल गर्दै उनी ४१ वर्ष १४७ दिनको उमेरमा विश्वकपको नकआउट चरणमा गोल गर्ने इतिहासकै सबैभन्दा पाको खेलाडी बनेका थिए। समग्र विश्वकप इतिहासमा भने उनी क्यामरुनका रोजर मिला (४२ वर्ष ३९ दिन) पछिका दोस्रो पाको गोलकर्ता हुन्।

चिरपरिचित प्रतिद्वन्द्वी लियोनेल मेसीसँगको तुलनामा रोनाल्डोले ६ वटै विश्वकप संस्करणमा गोल गर्ने दुर्लभ कीर्तिमान आफ्नो पक्षमा राखेका छन्, जुन मेसीले सन् २०१० को विश्वकपमा गोल गर्न नसक्दा गुमाएका थिए। यद्यपि, मेसीको ३० विश्वकप खेल र १९ गोलको कीर्तिमान भने रोनाल्डोको भन्दा अगाडि छ।

रोनाल्डोको बिदाइसँगै पोर्चुगिज टोलीका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले स्पेनविरुद्धको यो हारलाई टोलीको एउटा स्वर्णिम युगको अन्त्य भनेका छन्। विश्वकपबाट बाहिरिए पनि रोनाल्डोले साउदी प्रो लिगमा अल–नास्रबाट आफ्नो व्यावसायिक क्लब फुटबललाई भने निरन्तरता दिने अपेक्षा गरिएको छ।

भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी जग्गामा निर्माण गरी प्रयोग हुँदै आएका निजामती कर्मचारी ट्रेड युनियन तथा संगठनका भवन र संरचना तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ । मन्त्रालयका अनुसार नेपाल सरकारले निजामती कर्मचारीको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरेपछि साविकमा राष्ट्रियस्तरका ट्रेड युनियनका रूपमा रहेका केही संगठनहरूले सरकारी स्वामित्वको जग्गा प्रयोग गरी निर्माण गरेका भवन तथा अन्य संरचनाको कानुनी आधार समाप्त भएको छ।

यससँगै मन्त्रिपरिषद्को निर्णय तथा श्रम तथा व्यावसायजन्य सुरक्षा विभागबाट सम्बन्धित ट्रेड युनियनहरूको दर्ता खारेज भइसकेको छ। मन्त्रालयले जारी गरेको सूचनाअनुसार सम्बन्धित संगठनहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र भवन तथा अन्य संरचना पूर्ण रूपमा खाली गरी काजगात, सम्पत्तिको जिम्मेवारी र भवनको साँचो मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउनुपर्नेछ। तोकिएको समयभित्र संरचना खाली नगरिए प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने चेतावनी पनि मन्त्रालयले दिएको छ।

साथै, जिल्ला प्रशासन कार्यलयको रहोवरमा उक्त संगठनका भवनहरुमा समेत सुचना टासिँएको मन्त्रालयले जनाएको छ । सूचनामा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, नेपाल स्वास्थ्यकर्मी संघ तथा मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल लगायतका संगठनले प्रयोग गरिरहेका संरचना खाली गर्नुपर्ने उल्लेख गरिएको छ।

काठमाडाैं । सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई एक साताभित्र बयानका लागि उपस्थित हुन पत्र काटेको छ ।

विभागले सोमबार बुढानीलकण्ठस्थित देउवाको भग्नावशेषमा पुगेर बयानका लागि आउनू भनी पत्र टाँस गरेको हो ।

पत्रमा सम्पत्ति शुद्धीकरण जाँचबुझका क्रममा केही बुझ्नु पर्ने भएकाले ७ दिन भित्र विभागमा आउन भनिएको छ । विभागले यसअघि नै शेरबहादुर देउवा र आरजु राणा देउवामाथि अनुसन्धान गर्न पुर्जी काटिसकेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।