२०८३ असार ३२ गते बिहीबार
२०८३ असार ३२ गते बिहीबार

काठमाडौं । सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी कक्षाको सञ्चालनलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्बाट स्वीकृत नियमावलीले अनुमतिपत्र, आर्थिक कारोबार, विद्यार्थी सुरक्षा तथा सेवा गुणस्तरसँग सम्बन्धित नयाँ व्यवस्था लागू गरेको हो ।

शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यार्थीको हित संरक्षण, सेवा प्रवाहमा पारदर्शिता कायम गर्ने तथा शैक्षिक परामर्श संस्थाको प्रभावकारी नियमन गर्ने उद्देश्यले उक्त नियमावली तयार गरेको जनाएको छ ।

नियमावलीअनुसार शैक्षिक परामर्श सेवा सञ्चालन गर्न रु २५ लाख धरौटी राख्नुपर्नेछ । साथै, अनुमतिपत्रका लागि रु ५० हजार दस्तुर तिर्नुपर्ने छ।

अब मन्त्रालयबाट अनुमतिपत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण केन्द्र र तयारी कक्षाको नियमन भने प्रदेश वा स्थानीय तहले गर्न सक्ने छन् । अनुमति पत्रको अवधि एक वर्षको हुनेछ र प्रत्येक वर्ष नवीकरण गर्नुपर्नेछ ।

शैक्षिक परामर्श सेवा प्रदान गर्ने संस्थाले कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित तालिम प्राप्त परामर्शदाता नियुक्त गर्नुपर्नेछ । साथै, संस्थाको आफ्नै भवन वा कम्तीमा तीन वर्षको भाडा सम्झौता भएको कार्यालय हुनुपर्ने व्यवस्था गरिएको छ ।

नियमावलीले विद्यार्थीसँग हुने आर्थिक कारोबार पूर्ण रूपमा डिजिटल माध्यमबाट गर्नुपर्ने व्यवस्था गरेको छ । सबै शुल्क बैंक वा अन्य डिजिटल माध्यमबाट मात्र लिन पाइनेछ भने नगद कारोबार गर्न पाइने छैन । संस्थाले शुल्कको बिल वा भरपाई अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ । साथै, सेवा शुल्कको विवरण आफ्नै वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ ।

विद्यार्थीको हित संरक्षणका लागि परामर्शदाता संस्थाको जिम्मेवारी पनि बढाइएको छ । परामर्श लिएका विद्यार्थी विदेशमा अलपत्र परेमा वा सम्बन्धित शिक्षण संस्था अवैध ठहरिएमा परामर्शदाता संस्थाले क्षतिपूर्ति दिनुपर्नेछ । विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ प्राप्त गरेपछि मात्र बैंकमार्फत शैक्षिक शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ ।

नियमावलीले शैक्षिक परामर्श संस्थामा स्वदेशी लगानी मात्र रहने व्यवस्था गरेको छ । विदेशी लगानी भएका संस्थाले एक वर्षभित्र स्वदेशी लगानीमा नामसारी गर्नुपर्नेछ ।

त्यसैगरी, विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेला वा प्रदर्शनी आयोजना गर्न रोक लगाइएको छ । अन्य शैक्षिक मेला वा प्रदर्शनी आयोजना गर्न भने मन्त्रालयको पूर्वस्वीकृति लिनुपर्नेछ ।

मन्त्रालयले सेवा गुणस्तर, कार्यसम्पादन र विद्यार्थीको सफलताका आधारमा शैक्षिक परामर्श संस्थालाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गर्न सक्नेछ । जोखिमयुक्त विदेशी विश्वविद्यालय पहिचान गरी त्यस्ता संस्थामा विद्यार्थी पठाउन रोक लगाउने अधिकार पनि मन्त्रालयलाई दिइएको छ ।

नियमावलीअनुसार अनुमति पत्र नवीकरण नगर्ने, विद्यार्थीमाथि आर्थिक शोषण वा ठगी गर्ने, भ्रामक सूचना प्रवाह गर्ने वा कर नतिर्ने संस्थाको अनुमतिपत्र रद्द गरी धरौटी जफत गर्न सकिने व्यवस्था छ ।

उत्कृष्ट १,००० विश्वविद्यालयको सम्बन्धन अनिवार्य

नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालन भइरहेका कलेजका लागि थप कडा मापदण्ड लागू हुने भएको छ ।

उच्च शिक्षाको गुणस्तर, विश्वसनीयता तथा अन्तरराष्ट्रिय प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्ने उद्देश्यले नियमावली ल्याइएको मन्त्रालयले जनाएको छ । यसले देशमा सञ्चालनमा रहेका विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजका लागि नयाँ मापदण्ड निर्धारण गरेको छ ।

नियमावलीअनुसार सम्बन्धन दिने विदेशी विश्वविद्यालय विश्वका उत्कृष्ट एक हजार विश्वविद्यालयभित्र परेको हुनुपर्ने छ । यसअघि मन्त्रालयले सार्वजनिक गरेको मस्यौदामा विश्वविद्यालय विगत पाँच वर्षदेखि अन्तर्राष्ट्रिय श्रेणीकरण (र्‍याङ्किङ) मा निरन्तर समावेश भएको र कम्तीमा एक पटक उत्कृष्ट एक हजारभित्र परेको हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको थियो ।

त्यसैगरी, सम्बन्धित कलेजले क्वालिटी एसुरेन्स एन्ड एक्रिडिटेसन (क्यूएए) का दुई चरण पूरा गरेको हुनुपर्ने छ । कलेजको भौतिक पूर्वाधार, शैक्षिक क्षमता तथा उपलब्ध जनशक्तिको मूल्याङ्कनका आधारमा विद्यार्थी भर्ना कोटा निर्धारण गर्ने व्यवस्था पनि नियमावलीमा गरिएको छ ।

नयाँ मापदण्ड हाल सञ्चालनमा रहेका विदेशी सम्बन्धन प्राप्त कलेजमा पनि लागू हुनेछ । सरकारले तोकिएका मापदण्ड पूरा गर्न नसक्ने कलेजलाई सुधारका लागि निश्चित समय उपलब्ध गराउने र त्यस अवधिमा पनि मापदण्ड पूरा नगरे सम्बन्धन नवीकरण रोक्ने, नयाँ विद्यार्थी भर्नामा प्रतिबन्ध लगाउने वा आवश्यक कानुनी कारबाही अघि बढाउने व्यवस्था गरेको छ ।

अरू केके छन् व्यवस्था ?

नेपालमा विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थाहरूका लागि भौतिक पूर्वाधार, छात्रवृत्ति र शैक्षिक गुणस्तरसम्बन्धी थप कडा र विस्तृत व्यवस्था लागू भएको छ ।

नियमावलीअनुसार विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्थाको नाममा भौगोलिक क्षेत्रअनुसार निश्चित जग्गा हुनुपर्ने व्यवस्था गरिएको छ। जसअनुसार काठमाडौं उपत्यकाभित्र कम्तीमा तीन रोपनी, हिमाली तथा पहाडी जिल्लामा कम्तीमा ६ रोपनी र तराईका जिल्लामा कम्तीमा १५ कट्ठा जग्गा अनिवार्य गरिएको छ ।
अनुमति पाएको पाँच वर्षभित्र संस्थाले आफ्नै स्वामित्वको जग्गामा भवन निर्माण गरी कार्यक्रम सञ्चालन गरिसक्नुपर्नेछ ।

परामर्शदाताका लागि रु. २५ लाख धरौटी तोकिए पनि शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्थाका लागि तहअनुसार फरक धरौटी निर्धारण गरिएको छ । जसअनुसार विदेशी विद्यालय (बोर्ड) बाट सञ्चालित कार्यक्रमका लागि रु. १५ लाख, स्नातक तहको कार्यक्रमका लागि प्रति शैक्षिक कार्यक्रम रु. २५ लाख र स्नातकोत्तर तहको कार्यक्रमका लागि प्रति शैक्षिक कार्यक्रम रु. १५ लाख धरौटी राख्नुपर्नेछ ।

नियमावलीले लगानीको स्रोतका आधारमा छात्रवृत्तिको कोटा तोकेको छ । स्वदेशी लगानीकर्ता भए कूल सिट संख्याको १० प्रतिशत र विदेशी लगानीकर्ता भए २० प्रतिशत सिटमा विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्नेछ । यस्तो छात्रवृत्ति जेहेन्दार, विपन्न, महिला, दलित, अपाङ्गता भएका व्यक्ति र पिछडिएको क्षेत्रका विद्यार्थीलाई वितरण गर्नुपर्नेछ ।

विदेशी विश्वविद्यालयको कार्यक्रम पढिरहेका विद्यार्थीले बीचैमा अन्यत्र स्थानान्तरण हुन चाहेमा नियमावलीले सीमा तोकेको छ । कुनै पनि विद्यार्थीले निर्धारित पाठ्यक्रमको ४० प्रतिशतभन्दा बढी क्रेडिट ट्रान्सफर गर्न पाउने छैनन् ।

शिक्षण संस्थामा अध्यापन गर्ने सबै शिक्षक कम्तीमा सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण हुनुपर्नेछ । स्नातकोत्तर तहको कार्यक्रम सञ्चालन गर्न कम्तीमा तीन जना सम्बन्धित विषयमा विद्यावारिधि गरेका शिक्षक हुनुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै, कक्षाकोठाको मापदण्डमा पनि कडाइ गरिएको छ । प्रति विद्यार्थी १ वर्ग मिटर क्षेत्रफल हुनुपर्ने, एउटा कक्षामा अधिकतम ३५ जना भन्दा बढी विद्यार्थी राख्न नपाइने, शिक्षक र विद्यार्थीको बायोमेट्रिक हाजिरी प्रणाली लागू गर्नुपर्ने जस्ता विषय नियमावलीमा समेटिएका छन् ।

संस्थाले गर्ने अनुसन्धान र आविष्कारको बौद्धिक सम्पत्ति अधिकार प्रचलित कानुनबमोजिम सुरक्षित रहने व्यवस्था नियमावलीले गरेको छ । साथै, विदेशी विद्यार्थी भर्ना गर्न चाहने संस्थाले अनिवार्य रूपमा मन्त्रालयबाट पूर्वस्वीकृति लिनुपर्ने र उनीहरूको विवरण वेबसाइटमा राख्नुपर्ने प्रावधान छ ।

यी नियमहरू पालना नगर्ने वा भ्रामक सूचना दिने संस्थाको अनुमतिपत्र रद्द गरी धरौटी जफत गरिने चेतावनी मन्त्रालयले दिएको छ । नियमावली लागू हुनुअघि नै सञ्चालनमा रहेका संस्थाहरूले पनि तोकिएको समयभित्र यी मापदण्ड पूरा गरी नवीकरण गर्नुपर्नेछ ।

 राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्न लागिएकाले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ।

विभागले जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले असार २५ र २६ गते राहदानीसम्बन्धी सेवा बन्द रहनेछ।

यसअघि विभागले असार १९ गते सार्वजनिक सूचना जारी गर्दै प्रणाली परिवर्तनका कारण उक्त दुई दिन सेवा अवरुद्ध हुने जानकारी गराएको थियो।

यद्यपि, राहदानीसम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राहदानी भने वितरण गरिने विभागले जनाएको छ।

मोबाइलमा राहदानी संकलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी संकलन गर्नसक्ने विभागले जनाएको छ।

विशेष अदालतले नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो । उनीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ ।

यसअघि प्राप्त म्याद सकिएपछि विभागले अनुसन्धानका लागि थप समय माग गर्दै विशेष अदालतमा उपस्थित गराएको थियो । अदालतले अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

 नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखप्रति आपत्तिजनक अभिव्यक्ति दिएका छन्।

बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुखलाई सम्बोधन गर्दै, ‘म सभामुखलाई एउटा निवेदन गर्न चाहन्छु, तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न?’ भन्दै प्रश्न गरेका थिए।

उनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सभामुखले संसद्को मर्यादा कायम राख्न आग्रह गरे। सभामुखले सभा र सभाध्यक्षको अपहेलना हुने गरी अभिव्यक्ति नदिन निर्देशन दिँदै आफ्नो भनाइ मर्यादाभित्र रहेर राख्न भने।

सभामुखले सांसद राईलाई मर्यादित भाषा प्रयोग गर्न आग्रह गर्दै त्यसपछि आफ्नो भनाइ अघि बढाउने अनुमति दिएका थिएनन्।

जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँण र एमाले नेता टोपबहादुर रायमाझी दोषी ठहर गरेको छ ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार उक्त प्रकरणमा मुछिएकामध्ये ७ जनाबाहेक अरूलाई दोषी ठहर गरेको हो । फैसलामा खाँडलाई ठगी तथा संगठित अपराधको कसुरमा मतियार भएको ठहर गरिएको छ भने, रायमाझीलाई ठगी तथा संगठित अपराधको कसुर गरेको फैसलामा उल्लेख छ । यस प्रकरणको मुद्दामा प्रतिवादी बनाइएका अधिकांश आरोपी कसुर ठहर भएका छन् ।

ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएकामध्ये ७ जनालाई भने सफाइ दिएको छ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, रामबहादुर थापा बादलका छोरा प्रतिक थापासहित ७ जनाले सफाइ पाएका हुन् ।

 

काठमाडौं। पटक-पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्याका कारण उपभोक्ता हैरान भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको स्थायी समाधानका लागि विशेष अभियान सुरु गरेको छ।

विशेषगरी वर्षायाम सुरु भएसँगै बारम्बार बत्ती जाने र आउने समस्या बढ्ने हुनाले यसलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालयले यो सुधार अभियान सञ्चालनमा ल्याएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठको सचिवालयका अनुसार उपभोक्ताबाट विद्युत् अवरोधसम्बन्धी गुनासो प्राप्त हुनासाथ तत्काल समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरणले प्राविधिक जनशक्ति र आवश्यक उपकरणहरू चौबिसै घण्टा तयारी अवस्थामा (अलर्ट) राखेको छ।

सक्रिय मनसुनका कारण आउन सक्ने सम्भावित प्राविधिक समस्याहरूलाई बेलैमा निरुपण गरी विद्युत् सेवालाई नियमित, सुरक्षित र भरपर्दो बनाउन मन्त्रालयले थप सक्रियता देखाएको हो ।

यस अभियानलाई प्रभावकारी बनाउन मन्त्रालयले उपभोक्तासँग सिधै जोडिने व्यवस्था समेत गरेको छ। विद्युत् आपूर्तिसम्बन्धी कुनै पनि प्रकारको गुनासो वा उजुरी भएमा उपभोक्ताले महसुल नलाग्ने (निःशुल्क) हटलाइन नम्बर ११५० वा ११५१ मा जुनसुकै समयमा सम्पर्क गरी आफ्नो समस्या टिपाउन सक्नेछन्। उपभोक्ताको गुनासो आउने बित्तिकै टोली फिल्डमा खटिएर समस्या समाधान गर्ने मन्त्रालयले जनाएको छ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक वा राजनीतिक क्षेत्रमा सम्मान बढ्नेछ। छोटो समयमा राम्रो उपलब्धि हात पार्न सफल भइनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। साझेदारी व्यापारबाट लाभ उठाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यवहारमा प्रतिक्रियात्मक कुरा गर्दा विचार पुर्याउनुपर्ने हुन्छ। नोकरी वा पेशामा मिथ्या प्रशंसा गर्नेहरूसँग टाढा रहने प्रयास गर्नुहोस्। स्वास्थ्यमा ध्यान दिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यक्तित्वमा निखार आउनेछ। कार्यक्षेत्रमा सम्मान बढ्नेछ। उद्योग व्यापारबाट विशेष फाइदा मिल्नेछ। सामाजिक सञ्जालमा नयाँ पद मिल्ने सम्भावना रहेको छ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफूले आफैलाई समय दिने प्रयास गर्नुहोस्। आध्यात्मिक वा मानसिक शक्तिको विकासको लागि ध्यान केन्द्रित गर्नुहोस्। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा नयाँ अवसरहरू मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफूले गरेको संघर्षबाट लाभ मिल्नेछ। आफ्नो व्यवहारमा शिष्टताको भावना कायम राख्नुहोस्। नोकरी वा पेशामा अधिकार बढ्नेछ। संगीत र कलाको क्षेत्रमा रुचि बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफन्तहरूको साथ सहयोगले अप्ठ्यारो काम समयमा सम्पादन हुनेछ। आयका नयाँ स्रोतहरू खुल्नेछन्। सञ्चित धनमा वृद्धि हुनेछ। अरुको वादविवादमा आफू अगाडि नपर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आर्थिक पक्ष सबल रहनेछ। सरकारी वा वित्तीय क्षेत्रबाट लाभ मिल्नेछ। राज्य पक्षबाट पनि सहयोग मिल्नेछ। विशिष्ट व्यक्तिको सल्लाहले रोकिएको काम प्रारम्भ हुनेछ। बौद्धिक क्षेत्रमा तपाईंको स्थान उच्च रहनेछ आजको शुभ रंग केसरी हो भने शुभ अंक १ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनावश्यक खर्च बढ्नेछ। वैदेशिक स्वरोजगारमा बाधा आउन सक्छ। कार्यक्षेत्रलाई लिएर गरिएको यात्राबाट लाभ पाइनेछ। खानपान विशेष ध्यान दिनुपर्ने हुन्छ सादा भोजन गर्ने प्रयास गर्नुहोला। राजनीतिक क्षेत्रमा गरिएको लगानीबाट लाभ मिल्नेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापार व्यवसायमा मनज्ञ लाभ मिल्नेछ। आफूभन्दा ठूला दाजुभाइहरूको सहयोग मिल्नेछ। कार्यक्षेत्रमा लगनशीलताको उचित इनाम मिल्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) उद्योग जगतमा नयाँ कार्यको प्रारम्भ हुनेछ। पुरानो मित्रसँग भेटघाटले मन प्रसन्न रहनेछ। सरकारी योजनाहरूको लाभ मिल्नेछ। बोलीचाली वा व्यवहारमा परिवर्तन आउनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रगतिका नयाँ मार्गहरू खुल्नेछन्। कुनैपनि कार्यमा भाग्य भन्दा कर्ममाथि विश्वास राख्नुहोस्। गलत सङ्गतबाट थोरै सचेत हुनुपर्ने समय रहेको छ। संगीतको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आजको दिन प्रशन्नतामा बित्नेछ। विद्यार्थी वर्गहरूलाई पठनपाठनमा मन लाग्नेछ। उत्साहपूर्ण दिन रहेको छ। कार्यक्षेत्रमा सजग भएर कार्य गर्नुहोला। प्रेम सम्बन्ध सुमधुर रहेको छ। आजको शुभ रंग गुलाबी ह‍ो भने शुभ अंक २ रहेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।