२०८३ कार्तिक ३० गते आईतवार
२०८३ कार्तिक ३० गते आईतवार

सरकारले सशस्त्र प्रहरी बल, नेपालको १३ औं आईजीपीमा नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपी (सशस्त्र प्रहरी प्रमुख) मा बढुवा गर्ने निर्णय गरेको हो ।

सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागका प्रमुख रहेका पौडेलले १८ वैशाखपछि आईजीपीको कमाण्ड सम्हाल्ने छन् ।

हालका आईजीपी राजु अर्याल आईजीपीको चार वर्षे कार्यकाल पूरा गरी यही १८ वैशाखमा अवकाश जाँदैछन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने निर्णय गरेको छ । उनलाई बैठकले सर्वसम्मत दलको नेता बनाउने निर्णय गरेको हो ।

सो निर्णयलाई अब बस्ने संसदीय दलको बैठकबाट अनुमोदन गर्ने तयारी छ । कांग्रेसले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि सर्वसम्मत दलको नेता चयन गर्न लागेको यो पहिलोपटक हो ।

आङ्देम्बे कांग्रेसको समानुपातिक सांसद हुन् ।

 

‘हिमालले उमेर सोध्दैन, केवल साहस र दृढ इच्छाशक्ति खोज्छ’ यही उक्तिलाई सात वर्षीय भारतीय बालक तेगबीर सिंहले चरितार्थ गरिदिएका छन् ।

विश्वकै चुनौतीपूर्ण र सुन्दर पदमार्गमध्येको एक मानिने अन्नपूर्ण सर्किटअन्तर्गत पाँच हजार ४१६ मिटर उचाइको थोरङ्लापास सफलतापूर्वक पार गर्दै उनले विश्वकै सबैभन्दा कान्छो पदयात्रीको कीर्तिमान कायम राखेका हुन् ।

भारतको पञ्जाबस्थित रोपडका तेगबीरले सात वर्ष छ महिनाको उमेरमा यो ऐतिहासिक उपलब्धि हासिल गरे । यसअघि यो कीर्तिमान दुबईका इभान क्रुस्कोभका नाममा थियो, जसले सात वर्ष १० महिनाको उमेरमा यो उचाइ पार गरेका थिए ।

आफ्नो बुबाका साथ अप्रिल ११ मा सुरु भएको तेगबीरको यात्रा अप्रिल १८ को बिहान ९ः२५ बजे थोरङ्ला पासको चुचुरोमा पुगेर टुङ्गियो । करिब २३० किलोमिटर लामो यो पदयात्रा सहज थिएन । माइनस १३ डिग्री सेल्सियससम्मको कठ्याङ्ग्रिदो चिसो, अपर्याप्त अक्सिजन र चुनौतीपूर्ण भौगोलिक अवस्थालाई उनको इच्छाशक्ति र साहसले सजिलै छिचोल्न सफल भयो ।

यति सानो उमेरका तेगबीरलाई न त हाइअल्टिच्युड (लेक लाग्ने) समस्या भयो, न त उनी कतै थाके । पदयात्रा सकेर पोखरा फर्किएका उनी लेकसाइडको एक होटलमा भेटिँदा निकै प्रफुल्ल मुद्रामा देखिए । टेबुलमा बसेर कागजको जहाज बनाउँदै खेलिरहेका उनी आफ्नो उचाइप्रतिको मोहलाई निर्दोष ढङ्गले व्यक्त गरिरहेका थिए ।

‘मलाई नेपालमा यात्रा गर्दा निकै रमाइलो लाग्यो, मलाई हिमाल पहाड निकै मन पर्छ,’ उनले उत्साहित हुँदै भने, ‘मलाई यहाँको दालभात र गार्लिक सुप धेरै मनपर्‍यो ।’ यो यात्राले मेरो आत्मविश्वास अझ बढाएको छ, तेगबीरले आफ्नो अनुभव सुनाए ।

पदयात्राका ‘ट्रेकिङ गाइड’ दलबहादुर गुरुङ (दुले) ले यात्राका क्रममा बालक तेगबीरको जिज्ञासु स्वभाव र थकान महसुस नगरी निरन्तर हिँडिरहने क्षमताको खुलेर प्रशंसा गरे ।

‘मेरो दशक लामो ट्रेकिङ अनुभवमा तेगबीर जस्तो सानो उमेरको बालकलाई पहिलोपटक गाइड गर्दै थिएँ । सुरुमा यति सानो बालक कसरी हिँड्ला भन्ने लागेको थियो तर यात्रा सुरु भएपछि ऊ निकै साहसी, जिज्ञासु र रमाइलो स्वभावको देखियो,’ गुरुङले भने ।

उनका अनुसार, यात्राभर तेगबीरले देखेको प्रत्येक पहाड र हिमालतर्फ औँल्याउँदै त्यहाँ पुग्न कति दिन लाग्छ ? त्यो ठाउँ कस्तो छ ? भनेर जिज्ञासा राख्ने गर्दथे । थकाइ लाग्यो कि भनेर सोध्दा ऊर्जाका साथ लागेको छैन भन्दै जवाफ दिन्थे । गुरुङले उनमा देखिएको उत्साह, सहनशीलता, प्रकृतिप्रतिको प्रेम र अनुशासन आफूलाई अत्यन्त मन परेको बताए ।

यात्रामा सँगै रहेका भरिया यम गुरुङले पनि तेगबीरको चञ्चल स्वभाव, प्रकृतिप्रेम र निरन्तर हिँड्न सक्ने क्षमताको प्रशंसा गर्दै भने । ‘उसको ऊर्जा र सकारात्मक सोचले यात्रालाई अझ सहज र रमाइलो बनायो । हामीलाई सात वर्षको बालकसँग यात्रा गरेका छौँ भन्ने आभास उसले दिएनन्, कत्ति थाकेनन्, रमाइलो कुराकानी गर्दै अघि बढ्यौँ ।’

उनका बुबा सुखिन्दरदिप सिंहका अनुसार छोराको यो सफलताको पछाडि कडा अनुशासन, नियमित शारीरिक व्यायाम र सन्तुलित आहारको ठूलो भूमिका छ । सुखिन्दर दिप हाल मेडिकल एडमिनिस्ट्रेटिभ क्षेत्रमा कार्यरत छन्भने आमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ रहेकी छन् ।

तेगबीरको यो पहिलो साहसिक यात्रा भने होइन । यसअघि नै उनले अफ्रिकाको माउन्ट किलिमन्जारो र युरोपको माउन्ट एल्ब्रसको सफल आरोहण गरिसकेका छन् । सानै उमेरदेखि विश्वका चर्चित हिमाली गन्तव्यहरूमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएका उनले सन् २०२४ मा पाँच वर्षको उमेरमा उनले करिब १० दिनको ट्रेक पूरा गर्दै पाँच हजार ३६४ मिटर उचाइमा रहेको ‘एभरेष्ट बेस क्याम्प’ पुगेका थिए ।

सोही वर्ष उनले अफ्रिकाको सबैभन्दा अग्लो शिखर ‘माउन्ट किलिमन्जारो’ पनि आरोहण गर्दै एसियाकै कान्छो आरोहीमध्ये एक बन्न सफल भए । त्यसपछि छ वर्ष सात महिनाको उमेरमा उनले युरोपको ‘माउन्ट एल्ब्रस’ चढे भने सात वर्ष छ महिनामा नेपालकै चर्चित अन्नपूर्ण राउन्डअन्तर्गत पर्ने पाँच हजार ४१६ मिटर उचाइको थोरङलापास पार गर्दै संसारकै सबैभन्दा कान्छोमध्ये एकको कीर्तिमान कायम गरे ।

सन् २०१८ सेप्टेम्बर २४ मा जन्मिएका तेगबीरले सानो उमेरमै अन्तरराष्ट्रिय स्तरको उदीयमान पर्वतारोही, पदयात्रीका रूपमा स्थापित गर्न सफल भए ।

‘हामीले उसलाई कहिल्यै रेकर्डका लागि दबाब दिएनौँ,’ पिता सिंह भन्छन् ‘केही कुरा रेकर्डभन्दा पहिला आफ्नो रुचि र आत्मविश्वाससँग जोडिन्छ । उसले आफ्नो रुचिलाई साहस र सफलतामा बदल्यो, यसैमा हामी खुसी छौँ,’ उनी भन्छन्, ‘आत्मविश्वास भए असम्भव भन्ने केही रहेनछ भन्ने पुष्टि तेगबीरले गरेको छ ।’

नेपालको प्राकृतिक सुन्दरता र यहाँको आतिथ्यताले पनि निकै प्रभावित पारेको उनको भनाइ छ । ‘नेपाल थोरै खर्चमा अद्भुत आनन्द लिन सकिने ठाउँ रहेछ,’ तेगबीरका बुबाले अनुभव सुनाए ।

‘समुद्र सतहदेखि विश्वको अग्लो हिमालसम्मको दृश्यलाई छोटो समयमै कैद गर्न सकिने सुन्दरता विश्वमा सायदै पाइन्छ ।’ उनले यात्राका क्रममा नेपालीको सहयोगी भावनाको पनि खुलेर प्रशंसा गरे, ‘मेरो छोराले निकै ढिलो खाना खान्छ तर होटलका मानिसहरूले पटक–पटक खाना तताएर मुस्कुराउँदै ल्याएर दिन्थे । हामीले तिरेको पैसाभन्दा उनीहरूको सेवा र व्यवहार धेरै माथि पायौँ ।’

कक्षा ३ मा अध्ययनरत तेगबीरको हिमाल पदयात्रामा देखाएको उत्साह र क्षमता हेर्दा भविष्यमा अझ ठूला साहसिक यात्रातर्फ अघि बढ्ने बुबा बताउँछन् ।

नेपालमा नेपाल सरकारले १६ वर्षमुनिका बालबालिकालाई पर्वतारोहण अनुमति नदिने व्यवस्था भएका कारण उसले १६ वर्ष नपुग्दासम्म सगरमाथा जस्ता हिमाल मात्र होइन, कुनै पनि शिखर आरोहण गर्नबाट उनी वञ्चित हुने भन्दै अरू देशमा विकल्प खोज्न बाध्य बनाएको बताए ।

उमेर सीमामा केही लचकता अपनाउनुपर्ने सुझाव उनको छ । ‘यदि कुनै बालबालिकासँग राम्रो ट्र्याक रेकर्ड र अनुभव छ भने अभिभावकको जिम्मेवारीमा जोखिम स्वीकृतिसहित आरोहण अनुमति दिनुपर्छ,’ सिंहले भने, ‘कम्तीमा छ हजार मिटरसम्मका गैरप्राविधिक हिमालहरूमा यस्तो व्यवस्था लागू भए, बालबालिकाले सानै उमेरदेखि आफ्नो सपना पछ्याउने अवसर पाउने थिए ।’

तेगबीरको यो साहासिक यात्रालाई ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्य प्रशंसनीय रहेको बताउँछन् । ‘उनको यो यात्रासँगै नेपाल सुरक्षित र व्यवस्थित साहसिक गन्तव्य हो भन्ने एउटा सन्देश पनि दिएको छ,’ आचार्यले भने, ‘एउटा सात वर्षको बालकले अन्नपूर्ण सर्किट पार गर्नुले हाम्रो पदमार्गको गुणस्तर र सुरक्षालाई पनि पुष्टि गर्छ ।’

अन्नपूर्ण सर्किटले नेपाललाई अन्तरराष्ट्रिय पर्यटन बजारमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको जनाउँदै यी पदयात्राहरूमा पर्यटकले प्रकृति मात्र होइन, संस्कृति र आतिथ्यता पनि अनुभव गर्ने उनको भनाइ छ ।

त्यस्तै, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले यो कीर्तिमानले विश्व पर्यटन मानचित्रमा नेपालको विशिष्ट पहिचान थपेको बताए ।

‘हरियाली जङ्गलदेखि हिमाली मरुभूमिसम्मको यात्रा गराइने अन्नपूर्ण सर्किट केवल पदमार्ग मात्र नभई सांस्कृतिक र प्राकृतिक सङ्गम पनि हो, सानो बालकको साहसिक यात्राले यो सुरक्षित र साहसिक गन्तव्यका रुपमा थप परिचित हुनेछ,’ लामिछानेले भने ।

उनका अनुसार तेगबीरको यो यात्रा केवल एउटा बालकको सफलता मात्र नभई नेपालका हिमालहरूको सम्भावना र विश्वव्यापी आकर्षणको नयाँ मानक पनि हो ।

आज पनि सुकुम्वासी बस्तीका बाँकी घरहरू आज बिहानैदेखि डोजर प्रयोग गरी भत्काउन थालिएको छ । बिहान ७ बजेदेखि बाँकी घरहरू भत्काउन सुरू गरिएको हो ।

मनोहरा खोला किनारमा रहेको बस्ती आइतबार बिहानदेखि भत्काउन थालिएको थियो । तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी बस्तीका पक्की घरहरुमा डोजर चलाएको छ । केही घर टहरा बाँकी रहेकाले आज बिहान पनि सो कामलाई जारी राखिएको हो ।

 

पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ ।

राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो ।

रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते भएका रक्षामन्त्रीको मृत्यु भएको समाचार प्रसारण गरेको छ ।

मालीका राष्ट्रपति असीमी गोइताको निवासलाई पनि लक्षित गरेर आक्रमण भएको बताइएको छ । उनलाई सुरक्षित स्थानमा लगिएको छ ।

माली यतिबेला हिंसा र अस्थिरताबाट गुज्रिरहेको छ । राजधानी बमाको र अन्य कयौं सहरहरूमा चरमपन्थी समूहहरूले शनिबार बिहानैदेखि आक्रमण गर्दै आएका छन् । सैन्य शासन रहेको मालीमा सैनिक ब्यारेक, रक्षामन्त्रीको घर र अन्य क्षेत्रमा आक्रमण भएको भएको थियो ।

सन् २०२० र २०२१ को कु (सैन्य विद्रोह) पछि सत्तामा आएका आसिमी गोइटाले सुरक्षा पुन:स्थापना गर्ने वाचा गरे पनि देश अझै संघर्षरत छ । मालीले हाल फ्रान्ससँगको सम्बन्ध तोडेर रुसी ‘अफ्रिका कर्प्स’ (पूर्व वाग्नर समूह) को सहयोग लिइरहेको छ । यद्यपि, रुस–युक्रेन युद्धका कारण केही रुसी सिपाहीहरू मालीबाट फिर्ता बोलाइएकाले सुरक्षा स्थितिमा असर परेको बताइएको छ ।

काठमाडौँ उपत्यकाका चार स्थानमा सुकुम्बासीका एक हजार २७२ घरटहरा भत्काइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, काठमाडौँ महानगरपालिकाका नगर प्रहरीको समन्वयमा सरकारी टोलीले शनिबार र आइतबार काठमाडौँको थापाथली, गैरीगाउँ–बानेश्वर र जडिबुटी तथा भक्तपुरको मनोहरा क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका घरटहरा भत्काएको हो ।

ती चार स्थानमा कुल एक हजार ६५० घरटहरा रहेको प्रहरी तथ्याङ्कले देखाएको छ । गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा १५ वटा पक्की घर र मनोहरा बस्ती (भक्तपुर) मा ३६५ घरटहरा भत्काउन बाँकी रहेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले राससलाई जानकारी दिए ।

शनिबार काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा अतिक्रमण गरी निर्माण गरिएका १४३ घरटहरा भत्काइएको थियो । जोखिमयुक्त क्षेत्रमा निर्माण गरिएका ती संरचना भत्काइएपछि घरबारविहीन बनेका ३४ परिवारका ११५ सदस्यलाई काठमाडौँ महानगरपालिकाको सहयोगमा राधास्वामी सत्सङ्ग भवन कीर्तिपुरमा राखिएको छ ।

यस्तै गैरीगाउँ–बानेश्वर क्षेत्रमा रहेका ५७८ मध्ये शनिबार ५६० घरटहरा भत्काइएको थियो । सुरक्षाकर्मीको टोलीले आज थप पाँच वटा घरटहरा भत्काएको छ । सो क्षेत्रमा अझै १५ वटा पक्की घर भत्काउन बाँकी छ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ–सिनामङ्गल क्षेत्रका अतिक्रमित संरचना हटाउन सुरक्षाकर्मी खटाइएको थियो ।

आइतबार मनोहरा जडिबुटी (काठमाडौँ) तर्फ ११४ घरटहरा भत्काइएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा अन्दाजी ६०० जना बसोबास गर्दै आएका थिए । उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ । यस्तै मनोहरा बस्ती (भक्तपुर) तर्फका ८१५ मध्ये ४५० भन्दा बढी घरटहरा भत्काइएको छ ।

मनोहरा नदी किनारामा आज बिहान १०ः०० बजेदेखि काठमाडौँ महानगरपालिकाका सात वटा डोजरको सहायताले अतिक्रमित संरचना भत्काउन थालिएको थियो । वर्षाका कारण आजको संरचना भत्काउने काम स्थगित गरिएको छ र बाँकी संरचना सोमबार हटाउने तयारी गरिएको छ ।

सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा आवश्यकताअनुसार व्यवस्थापन सहज रूपमा अघि बढिरहेको जनाएको छ ।

सहारा नभएका तथा वास्तविक समस्यामा रहेका नागरिकका लागि सरकारले अर्को व्यवस्था नभएसम्म होटल तथा लजमा बस्ने, खानेलगायत आधारभूत सुविधाको प्रबन्ध मिलाएको छ ।

“सहारा चाहिएको तर अलमलमा परेका नागरिकले कार्य क्षेत्रमा खटिएका प्रहरीसँग सम्पर्क गरी आवश्यक सहयोग लिन सक्छौ,” सहरी विकासमन्त्री सुनील लम्सालले सामाजिक सञ्जालमा लेखेका छन्, “सामान ढुवानीसहित त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सहज रूपमा पुर्‍याउने व्यवस्था प्रहरीद्वारा मिलाइएको छ । रङ्गशालामा अभिलेख राखेपछि सम्बन्धित लज तथा होटलमा यातायातसहित बसोबासको व्यवस्था मिलाइएको छ ।”

काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले सुरुआती चरणमा जोखिमयुक्त क्षेत्रका बस्ती हटाइने र दोस्रो चरणमा भूमिहीनको पहिचान गरी बसोबासको उचित व्यवस्थापन गरिने बताइन् । अतिक्रमित जमिन खाली गराउने क्रममा घरबारविहीन नागरिकको प्रारम्भिक विवरण सङ्कलन गर्ने र बसोबासको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

देशभर एकै साथ कक्षा १२ को परीक्षा सुरु भएको छ । काठमाडौं उत्यकाको परीक्षा केन्द्रहरूमा विद्यार्थीहरूको उपस्थिति देखिएको छ ।

यस वर्षको परीक्षामा देशभरबाट ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारलाई संसदबाट नभागेर विधायिकी प्रक्रियामार्फत जनताको समस्या समाधान गर्न आग्रह गरेका छन ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले यस्तो बताएका हुन् । सरकारले कानून निर्माणभन्दा अध्यादेशमार्फत शासन चलाउने प्रयास गरे गम्भीर राजनीतिक परिणाम भोग्नुपर्ने चेतावनी दिए । ‘रास्वपाको सरकारले बनाउने हो कि सरकारले बनाउने हो ? ऐन बनाउने त संसदले होला नि । अध्यादेश ल्याउँछु भनेर ठान्नुभएको होला त्यसो गर्यो भने केपी ओलीको हालत हुन्छ । संसद हुँदाहुँदै अध्यादेशबाट काम थालनि नगर्नुस्’ उनले भने ।

प्रवक्ता शाहीले संसद जनताको आवाज बोल्ने थलो र सरकार त्यसको कार्यान्वयन गर्ने संयन्त्र भएको उल्लेख गर्दै सरकार बलियो हुँदा संसदको आवश्यकता अझ बढी हुने बताए ।

उनले सुकुम्बासी समस्या, भूमिसुधार ऐनको अड्किएको अवस्था तथा भूमि व्यवस्थापनजस्ता विषय संसदबाटै कानुन बनाएर समाधान खोज्नुपर्ने धारणा राखे । उनले अन्तरसरकारी समन्वयो अभावका कारण संघ सरकारले गर्ने कतिपय निर्णयहरु प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्ने नगरेको भन्दै यस विषयमा सरकार गम्भीर बन्नुपर्ने बताए । ‘सरकारले दुई दिन बिदा दिने भनेको छ । हाम्रो जिल्लामा एकदुई पालिकाले हामीले मान्दैनौँ भनिसके । अनि सरकार कसरी चल्छ ? यससम्बन्धी कुनै कानून छैन । रास्वपाका माननीय सांसद र दलका उपनेता यहाँ हुनुहुन्छ’ उनले भने ।

उनले संघीयताका कारण मुलुकमा अतिरिक्त आर्थिक भार थपिएको भन्दै सरकारले प्रदेश खारेज गर्न चाहेको खण्डमा पार्टी सहयोग गर्न तयार रहेको पनि बताए ।

। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो हाताभित्र रहेको क्रिकेट रंगशाला खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ ।

अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियानअन्तर्गत त्रिविले गत ४ वैशाखमै सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायलाई जग्गा खाली गर्न निर्देशन दिएको हो ।

सोही निर्णयअनुसार त्रिविको रजिस्ट्रार कार्यालयअन्तर्गत सामान्य प्रशासन महाशाखाले नेपाल क्रिकेट संघ (क्यान)लाई समेत पत्राचार गरेको छ । त्रिवि र क्यानबीचको करार सम्झौता यही वैशाख मसान्तमा सकिँदैछ ।

प्रशासन महाशाखाका एक अधिकारीका अनुसार अतिक्रमित जग्गा फिर्ता ल्याउने क्रममा सबै संघ–संस्था तथा संगठनलाई छुट्टाछुट्टै पत्र पठाइएको छ । ‘क्यानसँगको सम्झौता पनि यही मसान्तमा सकिँदैछ,’ उनले भने ।

त्रिविका एक पदाधिकारीका अनुसार यसपटक क्यानसँग सम्झौता नवीकरण गर्ने पक्षमा विश्वविद्यालय छैन ।

यता, क्यानका प्रवक्ता छुम्बी लामाले भने पत्र प्राप्त नभएको बताएका छन् । सार्वजनिक बिदाका कारण पत्र पुग्न ढिलाइ भएको हुनसक्ने त्रिविका अधिकारीहरूको भनाइ छ ।

यसबीच, क्यानको बोर्ड बैठकले भने त्रिविसँग सम्झौता नवीकरणका लागि पहल गर्ने निर्णय गरेको छ । गत चैत २३ गते बसेको बैठकले राष्ट्रिय खेलकुद परिषद्मार्फत सरकारसमक्ष करार अवधि थप गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ

। सरकारले पहिलो चरणमा शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न जोखिमयुक्त क्षेत्रमा अतिक्रमित घर टहरालगायत संरचना हटाउन सुरु गरेको हो । शनिबार काठमाडौँका थापाथली, सिनामङ्गल–गैरीगाउँ र शान्तिनगर क्षेत्रमा नदी किनारमा अवैध संरचना हटाइएको थियो ।

यस्तै, आज नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहितका सुरक्षा निकायको सहयोगमा सरकारी टोलीले मनोहरा नदी किनारका अतिक्रमित संरचना हटाइरहेका छन् । काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले सुरुआती चरणमा जोखिमयुक्त क्षेत्रका वस्ती हटाइने र दोस्रो चरणमा भूमिहीनको पहिचान गरी बसोबासको उचित व्यवस्थापन गरिने बताइन् । अतिक्रमित जमिन खाली गराउने क्रममा घरबारविहीन भएका नागरिकको प्रारम्भिक विवरण सङ्कलन गर्ने र बसोबासको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटार बुद्धचोक र वडा नं ९ को मनोहरा टोलमा रहेका जोखिमपूर्ण बस्तीहरू खाली गर्न थालिएको छ । वस्तीमा रहेका भौतिक संरचना भत्काउनुअघि त्यहाँ रहेका नागरिकका सरसामान निकाल्न र ढुवानी गर्न सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् ।

अतिक्रमित वस्ती खाली गर्ने क्रममा हालसम्म २१४ परिवार सरकारको सम्पर्कमा आएका प्राधिकरणले जनाएको छ । यसरी सम्पर्कमा आएकाहरूलाई तत्कालका लागि विभिन्न होटलमा बसोबास र खानपानको व्यवस्था मिलाइएको छ । अभियानअन्तर्गत काठमाडौं उपत्यकाका साथै रुपन्देही, नुवाकोट, पर्सालगायत देशका विभिन्न स्थानमा अवैध रूपमा निर्माण गरिएका संरचना धमाधम हटाउन थालिएको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–४ स्थित सरकारी जग्गा अक्रिमण गरी निर्माण गरिएका घरटहरा आज हटाइको छ । बुटवल उपमहानगरपालिकाले शनिबार नै सूचना जारी गर्दै सरकारी जग्गामा बनेका संरचना आफैँ हटाउन आग्रह गरेको थियो । आजै नुवाकोटको विदुर नगरपालिकाका विभिन्न स्थानमा सरकारी जग्गा कब्जा गरी निर्माण गरिएका एक दर्जन सरकारी तथा ८६ निजी संरचना ‘गल्छी–रसुवागढी सडक योजनाको कार्यालय’ले हटाएको छ । यस्तै, नारायणी सिँचाइ तथा व्यवस्थापन कार्यालयले आज पर्साको गण्डक नहरको डिलमा अतिक्रण गरेर निर्माण गरिएका घर, टहरालगायत संरचना हटाइएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायको समन्वयमा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने काम गरिएको वीरगन्ज महानगरपालिकाका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख सुनिलकुमार कर्णले जानकारी दिए । प्रहरी महानिरीक्षकबाट मनोहरा क्षेत्रको निरीक्षण यसैबीच, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मनोहरा नदी किनारका अतिक्रमित बस्ती खाली गराउने कार्यको अवलोकन गरेका छन् । त्यस क्रममा उनले भूमिहीन नागरिकलाई उचित व्यवस्थापन र सुरक्षित स्थानमा सार्ने कामबारे जानकारी लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बस्ती हटाउने क्रममा शनिबार मनोहरा खोला किनारमा प्रहरीसँग सामान्य झडप भएको थियो । त्यस क्रममा स्थानीयको आक्रमणबाट २२ सुरक्षाकर्मी घाइते भएका थिए । आज भने यो समाचार तयार गर्दासम्म शान्तिपूर्ण रूपमा बस्ती खाली गराउने क्रम चलिरहेको छ । मानवअधिकार एलायन्सले सुकुमवासी तथा भूमिहीनलाई वैकल्पिक व्यवस्थाविना हटाइनु मानवीय र मानवअधिकारको दृष्टिले उचित नभएको जनाएको छ ।

सङ्गठनका अध्यक्ष विदुर सुवेदीद्वारा जारी विज्ञप्तिमा बस्तीबाट हटाइएका परिवारमा देखिएको भय, असुरक्षा र अनिश्चतताले राज्य र नागरिकबीचको विश्वासलाई कमजोर बनाउने उल्लेख छ । एलायन्सले प्रभावित समुदायसँग खुला, विश्वासपूर्ण र अर्थपूर्ण संवादको सुरुआत गरी बलपूर्वक विस्थापन नगर्न आग्रह गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।