
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा सरकारले कसैमाथि प्रतिशोध नसाधेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा प्रतिशोध साधेको आरोप लागिरहेको बेला उनले त्यसो टिप्पणी गरेका हुन्।
वीरगञ्जमा प्रेस युनियन पर्साले सोमबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले रविको नाम उच्चारण नगरे पनि उनीमाथि कटाक्ष भने गरे।
‘७ वटा अदालतका बेञ्चले दोषी भनेर थुनामा जानुभाछ, अनि के भन्नुहुन्छ भने प्रतिशोध भन्नुहुन्छ, देशमा २८ हजारभन्दा बढी मान्छे थुनुवा र कैदी छन्, ती सबैमाथि प्रतिशोध भा हो, सबैका माथि अदालतले गलत निर्णय गरेको हो ?,’ उनले भने, ‘अर्बौं, अर्बौं रुपैयाँको सहकारीमा ठगी भएको छ, लाखमा हैन, करोडमा हैन अरब रुपैयाँको ठगी भएको छ। छानबिन त हुन्छ, मुद्दा अदालत जान्छ, निर्णय अदालतले गर्छ। अदालतको निर्णय आफ्नो पक्षमा हुँदा अदालत गजब हुने, स्वतन्त्र हुने, राम्रो हुने, आफ्नो विरुद्धमा निर्णय भयो भने प्रतिशोध हुन्छ ?’
‘२८ हजार कैदी बन्दीले प्रतिशोध भयो भनेर करायो भने के हुन्छ ?,’ भन्दै उनले प्रश्न गरे।
‘२८ हजार मानिसले एकै पटक प्रतिशोध भयो अदालतले हामीलाई थुन्यो भनेर करायो भने के हुन्छ ? सबैले भन्न पाउँछ होला नि ?’
भिजिट भिसा प्रकरणमा तपाईंमाथि आरोप लागेपछि गृहमन्त्रीको पदबाट राजीनामा किन नदिएको ? भन्ने प्रश्नमा पनि उनले राजीनामा केका लागि दिनुपर्ने ? भनेर प्रतिप्रश्न गरे।
‘केका लागि दिनुपर्ने ? कुनै कार्यालयमा अनियमितता भएको छ भने पनि त्यसको छानबिन भैहाल्छ, अख्तियारले छानबिन गरिरहेको छ, कुनै कार्यालयमा अख्तियारले छानबिन गर्ने बित्तिकै मन्त्रीले राजीनामा दिने हो भने वर्षमा कति जना मन्त्रीले राजीनामा दिनुपर्ला हिसाब गर्नुभएको छ ?,’ गृहमन्त्री लेखकले भने।
आफूले गरेको गल्ती अर्कातिर मोड्ने प्रयास स्वरूप भिजिट भिसाको कुरा उठेको उनको तर्क छ।
‘नियोजित ढंग र राजनीतिक पूर्वाग्रह पूर्ण ढंगले उठाएका विषयहरू, जसमा कुनै आधार छैन, कारण छैन, र मानिसलाई गलत ढंगलाई आक्षेप गर्ने, आरोपित गर्ने, आफूले गरेको गल्ती अर्कातिर मोड्ने प्रयास स्वरूप भिजिट भिसाको कुरा उठेको हो। यसका बारेमा अख्तियारले अनुसन्धान गरिरहेको छ,’ गृहमन्त्री लेखकले भने।
नीतिगत र कानूनी रूपले भिजिट भिषा लगायत सबै किसिमले बाहिर जाने कुरालाई व्यवस्थित गर्ने उनको भनाइ छ।
फरक प्रसंगमा उनले संविधान संशोधन गर्नका लागि छिट्टै सत्तासिन पार्टीहरूले कमिटी गठन गरेर अघि बढाउने जानकारी दिए।
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका केही पदाधिकारी र केन्द्रीय सदस्यहरूले आफ्नो वडामा समेत जिताउन सक्ने तागत नराख्ने टिप्पणी गरेका छन्।
‘कम्युनिस्ट पार्टी निर्माणका आधार’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका धेरै नेता कार्यकर्ताहरू धागो चुँडिएको चंगाजस्तो भएको बताए।
उनले भने, ‘सबै माथिमाथि मात्रै, तल जनाधार छैन। गएको निर्वाचनमा हामीले एउटा नारा दिएको थियौँ, मै जिताउँछु मेरो वडा भन्ने। हाम्रो ८० प्रतिशत भन्दा धेरै वडामा बलियो जनाधार छ। हाम्रो संगठन र वडा कमिटी छन्। प्रत्येक वडाले आफ्नो वडा जिताइदिएको भए त दिग्विजय नै हासिल गर्थ्यौँ नि। तर हामी कतिपय केन्द्रीय सदस्य हौँला कतिपय पदाधिकारी हौँला। कति जिल्लाका नेताहरू हौँला। जसले आफ्नो वडासम्म पनि जिताउन सक्दैनौँ। कुरा चाहिँ ठूल्ठूला गर्छौँ। त्यसले जनतासँग जोडिने कुरा महत्त्वपूर्ण हुन्छ।’
उनले पार्टीमा विचार, संगठन निर्माणमा अन्योल सिर्जना भएको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताए।
काठमाडौं । बुद्ध एयरका वरिष्ठ क्याप्टेन गौरव बोहोरा आगामी उपनिर्वाचनमा प्रत्यक्ष राजनीतिक यात्रामा उत्रिएका छन्।
करिब ३० वर्षदेखि आकाशमा जहाज उडाउँदै आएका बोहोरा लाखौँ आम्दानी हुने पेशागत जीवनलाई छाडेर जनताको सेवामा समर्पित हुने घोषणा गर्दै राजनीतिमा होमिएका हुन्।
आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारका रूपमा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धामा उत्रिएका छन्।
“अब क्याप्टेनले देश हाक्छन्,” स्थानीय मतदाताहरूले बोहोरा घरदैलोमा आइपुग्दा भनेको सुन्न सकिन्छ। अहिले उनी गाउँ–गाउँ, टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो दृष्टिकोण प्रस्तुत गरिरहेका छन्।
बोहोरा लामो समयदेखि बुद्ध एयरका वरिष्ठ पाइलटको रूपमा चिनिएका छन्। ३० वर्षको अनुभवले उनीसँग जिम्मेवारी र नेतृत्व क्षमताको पहिचान बनेको छ। अब यही अनुभवलाई राजनीतिमा प्रयोग गरेर रुपन्देही–३ का जनताको विश्वास जित्ने उनको लक्ष्य रहेको छ।
काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
आज सुन तोलामा एक हजार सात सय रुपैयाँले बढेर दुई लाख ५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन तोलामा दुई लाख ३ हजार ६ सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार २ हजार ४ सय २५ रुपैयाँमा कायम भएको थियो ।
काठमाडौं । बिपी राजमार्गमा आजदेखि रातको समय थप १५ दिन सवारीसाधन चलाउन रोक लगाइएको छ । बाढी पहिरोको जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारीसाधन सञ्चालनमा रोक लगाइँदै आएकामा थप भदौ मसान्तसम्म राति १२ घण्टा रोक लगाइएको हो ।
राजमार्गमा प्रत्येक दिन साँझ ५ देखि बिहान ५ बजेसम्म यात्रुवाहक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए । कार्यालयले राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म थप १५ दिन रोक लगाउने निर्णय गरेको हो ।
काठमाडौंबा जाने सवारीसाधनलाई काभ्रेभञ्ज्याङ र काठमाण्डुतर्फ आउनेलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने छ ।
गत वर्ष असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा सडक नै बगाएका कारण खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ।
बाढीपहिरोले राजमार्गको कुल १६० किलो मिटरमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पु¥याएको थियो ।
नेपाल आयल निगमले डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाएको छ ।
निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले मध्यरातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।
भारतबाट मूल्यसूची घटेर आएकाले सोही अनुसार आन्तरिक बजारमा मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटाइएको छ । हाललाई पेट्रोलको मूल्य भने यथावत् राखिएको छ ।
नयाँ मूल्य कायम भएसँगै अब काठमाडौँमा डिजेलको मूल्य १४५ रुपैयाँ कायम हुने भएको छ ।

मेष : स्वास्थ्य र मनोबलमा केही उतारचढाव आउन सक्छ । अनावश्यक खर्च वा विवादमा नफस्नुहोला । रहस्यपूर्ण कुरा वा गोपनीय विषय खुल्ने सम्भावना छ ।
वृष : दाम्पत्य जीवनमा निकटता बढ्नेछ । साझेदारी र सम्बन्धमा लाभ हुनेछ । कारोबार वा सहकार्यमा लाभदायी अवसर मिल्ने सम्भावना छ । प्रेमसम्बन्धमा खुसी मिल्ने दिन हो ।
मिथुन : प्रतिस्पर्धामा विजय प्राप्त गर्न सक्नुहुन्छ । शत्रु वा बाधकहरू दबिनेछन् । स्वास्थ्यमा सुधार हुने देखिन्छ । कार्यक्षेत्रमा लगनशीलता र कर्मठताले राम्रो फल दिन्छ ।
कर्कट : अध्ययन, बुद्धि र सन्तानसम्बन्धी कार्यमा प्रगति हुनेछ । प्रेममा सफलता मिल्ने सम्भावना छ । सिर्जनात्मक कार्यमा मन रमाउनेछ । साहित्य, कला वा अध्यात्मतर्फ आकर्षण बढ्ने दिन हो ।
सिंह : मन अस्थिर रहन सक्छ । घरायसी विषयमा तनाव आउन सक्नेछ । मातृस्वास्थ्यमा ध्यान दिन आवश्यक छ । जग्गा–जमिन वा सम्पत्तिसम्बन्धी विवाद आउन सक्छ, सजग रहनुहोला ।
कन्या : साहस र पराक्रम बढ्नेछ । भाइबहिनी वा साथीभाइसँग सम्बन्ध प्रगाढ हुनेछ । नयाँ योजनामा हात हाल्न सकिने समय छ । यात्राबाट फाइदा मिल्ने सम्भावना छ ।
तुला : परिवारमा सुख-शान्ति रहनेछ । धनलाभ हुने दिन छ । बोलीमा मिठास आउँनेछ, जसले काम सजिलै बन्नेछ । आहार–विहारमा ध्यान दिनु लाभदायी हुनेछ ।
वृश्चिक : आत्मविश्वास बढ्नेछ । तर भावुकताले निर्णयमा असर पार्न सक्छ । आत्मानुशासन र धैर्य आवश्यक छ । मान–सम्मान प्राप्त हुने समय भए पनि मानसिक उतारचढाव रहनसक्छ ।
धनु : अनावश्यक खर्च बढ्न सक्छ । यात्रामा असजिलो हुने सम्भावना छ । स्वास्थ्यमा कमजोरी देखिन सक्छ । गोप्य शत्रु सक्रिय हुनसक्ने भएकाले सतर्क रहन आवश्यक छ ।
मकर : लाभ र मनोकामना पूर्तिको समय छ । साथीभाइको सहयोग मिल्नेछ । आर्थिक पक्ष सबल हुने दिन छ । इच्छित काम पूरा हुन सक्छ ।
कुम्भ : कार्यक्षेत्रमा सफलता प्राप्त हुनेछ । पद प्रतिष्ठा बढ्नेछ । अधिकारी वा वरिष्ठको सहयोग मिल्नेछ । नेतृत्वदायी काममा अवसर आउन सक्छ ।
मीन : भाग्य वृद्धि हुने दिन छ । धार्मिक-आध्यात्मिक कार्यमा आकर्षण बढ्नेछ । गुरु वा श्रेष्ठजनको मार्गदर्शन पाइनेछ । अध्ययन, यात्रामा शुभ फल प्राप्त हुनेछ ।
काठमाडौं । मानव अंग मिर्गौला बेचविखनमा संलग्न सात जनाको गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी मानव अनुसन्धान बेचविखन ब्यूरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।
भारतको नयाँ दिल्लीमा बसेर गैरकानूनी कार्यमा गिरोहको भूमिका निर्वाह गरिरहेका सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारीलाई महेन्द्रनगरबाट र उनको सहयोगीको रूपमा रहेका सुजन भारतीलाई वीरगञ्जबाट पक्राउ गरी संगठित अपराध अन्तर्गत कारबाही अघि बढाइएको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।
सो गिरोहले पैसाको प्रलोभनमा पारेर काठमाडौं, नुवाकोट, काभ्रपलाञ्चोक, धादिङलगायतका सर्वसाधारणलाई भारतको नयाँ दिल्ली गरेर गैरकानूनी रूपमा मिर्गौला झिकी बिक्री गर्ने गरेको पाइएको पनि प्रहरीले जनाएको छ । उक्त समूहविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्यूरोमा ४ वटा मुद्दा दर्ता भएका छन् भने पाँच जना पीडितहरूले जाहेरी दिएका थिए । त्यसपछि ‘अप्रेसन लाइफ फिल्ड’ नाम दिएर ब्यूरोले अनुसन्धान अघि बढाएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा मिर्गौला (किड्नी) दिन तयार हुने मानिसलाई गाडीको व्यवस्थापन आफैं गरेर भारतको नयाँदिल्लीसम्म पुर्याउने गरेको खुलेको छ । उक्त कार्यमा संलग्न अन्य तीन जना गत साउन २० गते पक्राउ परेका थिए । पीडितले दिएको जाहेरी र पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीले थप अनुसन्धानको प्रक्रिया अघि बढाएको थियो ।
प्रहरीले लिएको प्रारम्भिक बयानका क्रममा मुख्य नाइके भण्डारीले, नेपालबाट लगिएकाहरूलाई दिल्लीको लाजपत नगरस्थित कस्तुरवा निकेतनस्थित एउटा होटलमा लगेर राख्ने र खाने बस्ने सबै व्यवस्था गर्ने गरेको बताएका छन् ।
किड्नी दिन तयार भएका मानिसहरूलाई होटलमै चिकित्सक बोलाएर रगत जाँच लगायतका काम गर्ने गरेको पनि भण्डारीले बयानका क्रममा भनेका छन् । त्यसरी भारत पुर्याइएका नेपालीहरूलाई बेहोस बनाएर आँखामा पट्टि लगाएर अस्पतालमा ३÷४ दिन राख्ने र नेपाल फर्काउने काम गरेको पनि भण्डारीले प्रहरी समक्ष बताएका छन् ।
भण्डारीले आफूले ६ लाख भारतीय रुपैयाँ दिने भनेर प्रलोभनमा पार्ने गरेको स्वीकारेका छन् । प्रहरीका अनुसार, मुद्दा चलिरहेका पीडितमध्ये एक जनाले ५ हजार मात्रै पाएको पनि उनले बयानका क्रममा स्वीकारेका छन् । सोधपुछका क्रममा उनले २५ जना व्यक्तिको किड्नी झिक्न लगाएर पैसा लिएको स्वीकारेका छन् ।
यद्यपि अनुसन्धानका क्रममा भने एक सयभन्दा बढी व्यक्तिहरूको किड्नी बेचबिखनमा संलग्न भएको प्रहरीले जनाएको छ । सो गिरोहलाई संगठित अपरोध ऐनअन्तर्गत कारबाही प्रारम्भ गरिएको पनि प्रहरीले जनाएको छ । सो ऐनअन्तर्गत मानव बेचविखन र गैरकानूनी रूपमा अंग बेचविखनमा संलग्नलाई १० वर्ष कैद र दुई लाख रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको पनि प्रहरी वरिष्ठ उपरीक्षक पंगेनीले बताए ।
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले धनगढीको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २३ औँ सत्याग्रह थालेका छन् । सरकारले चिकित्सा शिक्षातर्फ (एमबीबीएस) को सिट संख्या बढाएको बिरोधमा डा. केसीले सत्याग्रह सुरु गरेका हुन् । केसीले मेडिकलमा सिट बढाएकोलगायत चार बुँदे माग राखेका छन् ।
उनले एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धि र विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धि ऐन पारित गर्न माग गरेका छन् । लिपुलेकमा अतिक्रमण बन्द गरी जमिन फिर्ता लिन पहल गर्न सरकारसँग आग्रह गरेका केसीले रुस र इजरायललाई युक्रेन र गाजामा भइरहेको आक्रमण बन्द गर्न पनि माग गरेका छन् ।
हेर्नुस् डा. केसीका चार माग
१. प्रम ओली र चिकित्सा शिक्षा आयोगको गलत ढंगले निजि मेडिकल कलेजहरुलाई विद्यार्थी सिट संख्या वृद्धि गर्ने निर्णय तुरुन्त फिर्ता लिन, शुल्क वृद्धि नगर्न, सम्झौता अनुरुप इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्न र गेटाको मेडिकल विश्वविद्यालयमा तुरुन्त पूर्ण क्षमतामा अस्पतालसेवा र शैक्षिक कार्यक्रम सुरु गर्न ।
२. एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धि र विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धि ऐन पारित गर्न, ऐन अनुरुप मेडिकल शिक्षालाई गैर नाफामूलक बनाउने र सरकारी अस्पताल लगायत सबै स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गर्न लगायतका सबै सम्झौता र मागहरु कार्यान्वयन तथा पुरा गर्न ।
३.लिपुलेखमा अतिक्रमण बन्द गरि नेपालको अतिक्रमित भूमि फिर्ता गर्न भारत सरकारसँग र सो कार्यको सुनिश्चितता गर्न नेपाल सरकारसँग माग गरिन्छ ।
४.युक्रेन र गाजामा भइरहेको नरसंहारकारी युद्ध तुरुन्त बन्द गर्न रुस र इजरायल समक्ष माग गरिन्छ ।
काठमाडौं– पर्सामा फैलिएको झाडापखाला तथा हैजाको प्रकोप दैनिक रूपमा बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीका अनुसार गत २४ घण्टामा ८९ जनामा संक्रमण पुष्टि भएको छ ।
योसंगै संक्रमितको संख्या ७ सय ८९ पुगेको छ । संक्रमितमध्ये ६ सय ९ जना उपचारपछि घर फर्किका छन् भने १ सय ८० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको इडिसिडीले जनाएको छ ।
गत साउन २८ गते तराई अस्पतालमा झाडापखालाका केश देखिन थालेपछि जाँच गर्दा भदौ ५ गते हैजा पुष्टि भएको थियो । त्यसपछि संक्रमितकहरु दैनिक रूपमा थपिँदै गएका स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
प्रकोप नियन्त्रणका लागि हाल संघिय सरकारदेखि प्रदेश सरकार तथा स्थानीय सरकार र विभिन्न संघसस्थाहरुको समन्वयमा नियन्त्रणको प्रयास भइरहेको छ ।





