आज अप्रिल १ अर्थात् ‘अप्रिल फुल’ । कसैलाई झुक्याउँदा वा मूर्ख बनाउँदा नराम्रो नमानिने दिन।
आजका दिन धेरैले एकअर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन् । अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँदैन । यही नै यो दिनको विशेषता हो ।
अरुले त आज अप्रिल फुल मनाउँछन् नै। प्रहरीले पनि मनाएको छ। नेपाल प्रहरीले आफ्नो आधिकारिक फेसबुक पेजमा क्युआर कोडसहित आज एउटा पोष्ट राखेको छ। पोष्टमा भनिएको छ- तपाईं विरुद्ध कतै कुनै उजुरी परेको त छैन ? सुनिश्चित गर्नको लागि एकपटक क्युआर कोड स्क्यान गर्नुहोस्।
आफूविरुद्ध कसैले उजुरी हालेको पो छ कि भनेर सबैलाई जिज्ञासा हुनु स्वाभाविक हो। त्यसैले मानिसहरुले धमाधम क्युआर कोड स्क्यान गरिरहेका छन् ।
स्क्यान गर्दा बल्ल थाहा हुन्छ- प्रहरीले त अप्रिल फुल पो मनाएको रहेछ । स्क्यान गरेपछि यस्तो म्यासेज आउँछ-
APRIL FOOL
तपाईंले स्क्यान गर्नुभएको क्युआर कोड सचेतना अभियानको लागि हो। आज हामीले मजाक गरेका थियौं तर भोलि यस्तै क्युआरबाट तपाईं स्क्याममा पनि पर्न सक्नुहुन्छ।
याद गर्नुस्
– आफूले नचिनेको व्यक्ति वा अज्ञात स्रोतबाट प्राप्त भएको क्युआर कोड स्क्यान नगर्नुस्
– आफूसँगै आफ्नो परिवारका सदस्यहरुलाई पनि सम्झाउनुस्
– स्क्यान गर्नुअघि सधैं भेरिफाइ गर्नुस्
– सुरक्षित रहनुस्









