भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। उनलाई स्वागत गर्न नेपाली सेनाका उच्च अधिकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले भारतीय प्रधानसेनापति सेठ काठमाडौं ओर्लिएको पुष्टि गरेका छन्।
प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेयता भारतबाट नेपाल आउने उच्चस्तरीय भ्रमणमध्ये सेठको भ्रमण अहिलेसम्मकै सबैभन्दा वरिष्ठ तहको हो। भारतीय प्रधानसेनापति बनेपछि उनले नेपालबाट आफ्नो पहिलो विदेश भ्रमण सुरु गरेका हुन्।
काठमाडौं बसाइँका क्रममा सेठले रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री बालेन शाह, प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग भेटवार्ता गर्ने तयारी छ। सैनिक मञ्च टुँडिखेलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुका साथै प्रधानसेनापति सिग्देलसँग दुईपक्षीय सैन्य सहयोग र आपसी हितका विषयमा छलफल गर्ने कार्यक्रमसमेत रहेको छ।
गत जुन ३० मा भारतीय प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका सेठ नेपालका मानार्थ महारथीको दर्जा ग्रहण गर्न नेपाल आएका हुन्। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजना हुने विशेष समारोहमा उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।
नेपाल र भारतबीच भारतीय प्रधानसेनापतिलाई नेपालको तथा नेपाली प्रधानसेनापतिलाई भारतको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा सन् १९५० देखि चल्दै आएको छ।
यसै परम्पराअनुसार नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरिसकेका छन्। २७ मंसिर २०८१ मा नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानसेनापति सिग्देललाई उक्त दर्जा प्रदान गरेकी थिइन्।








