नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) की अध्यक्ष ऋतुसिंह वैद्यले यस वर्षको नाडा अटो शो विगतको तुलनामा अत्यन्तै सफल र उत्साहजनक भएको बताएकी छन् ।
मेलाको अन्तिम दिन आईतवार मेलाबारे जानकारी दिँदै उनले यस पटक दर्शकको चाप र व्यावसायिक सहभागिता दुवैमा वृद्धि भएको उल्लेख गरिन् । अध्यक्ष वैद्यकाअनुसार अघिल्लो संस्करणमा करिव १ लाख दर्शकले मेला अवलोकन गरेकोमा यस पटक त्यो सङ्ख्या १ लाख ७५ हजार पुग्ने अनुमान गरिएको बताइन् ।
यो समाचार तयार पार्दासम्म १ लाख ६५ हजार बढीले अवलोकन गरिसकेको बताइन् । यस वर्षको मेलामा ५५ वटा विभिन्न ब्राण्डका सवारी साधन तथा अन्य उत्पादनहरू प्रदर्शनीमा राखिएका थिए । गत वर्ष ४२ वटा ब्राण्ड सहभागी भएकोमा यस पटक प्रदर्शकहरूको सङ्ख्यामा वृद्धि भएको हो । ‘हालसम्म १ लाख ६५ हजारभन्दा बढी दर्शकले मेला अवलोकन गरिसक्नुभएको छ । हाम्रो प्रक्षेपणअनुसार यो सङ्ख्या १ लाख ७० देखि ७५ हजारको बीचमा पुग्ने देखिन्छ । गाडी बुकिङको अवस्था अपेक्षाभन्दा निकै राम्रो छ’ उनले भनिन् ।
मेलाको उद्देश्य अनुरुप नै पर्याप्त प्रचार–प्रसार र सन्तोषजनक व्यापार भएको नाइमाले जनाएको छ । धेरै ग्राहकले विभिन्न स्टलहरूमा बुकिङ गरेका कारण विक्रीको यकिन तथ्याङ्क केही समयपछि मात्र स्पष्ट हुने उनको भनाइ छ । ‘अहिले नै आधिकारिक तथ्याङ्क दिन गाह्रो भएपनि आगामी एक–डेढ महिनासम्म आयातकर्ता र ब्राण्डहरूका लागि व्यवसाय विस्तार गर्न यसले ठूलो आधार तयार गरेको छ’ उनले भनिन् ।
प्रदर्शनी स्थलको अभावका कारण यस पटक व्यावसायिक सवारी साधन (कमर्सियल भेहिकल) का सबै ब्राण्डहरूलाई समेट्न नसकिएको नाइमाले स्वीकार गरेको छ । यस समस्यालाई सम्बोधन गर्न नाइमाले आगामी दिनमा व्यावसायिक सवारी साधनका लागि छुट्टै ‘एक्स्पो’ आयोजना गर्नेबारे सर्भेक्षण गरी योजना बनाउने जानकारी दिएको छ ।
मेलालाई व्यवस्थित बनाउन बैंकिङ, इन्स्योरेन्स, फूड स्टल र सुरक्षाको उचित प्रवन्ध मिलाइएको थियो । अत्याधिक दर्शकको उपस्थितिका कारण पार्किङमा केही चुनौती देखिए पनि समग्र व्यवस्थापन पक्ष मजबुत रहेको अध्यक्ष वैद्यले दाबी गरिन् । ३–एस (सेल्स, स्पेयर्स पाट्र्स र सर्भिस) को अवधारणा अनुरूप सबै वितरकहरूको उपस्थिति र प्रतिनिधित्वले ग्राहकहरूलाई सहजता प्रदान गरेको नाइमाको ठहर छ ।








