दक्षिण कोरियाको अदालतले नेपालका नेताहरूलाई ‘होली वाइन’ खुवाउने विवादास्पद युनिफिकेशन चर्चकी नेतृ हान हाक जा मुनलाई दुई वर्षको जेलसजाय सुनाएको छ ।
राजनीतिक कोष ऐन उल्लङ्घन गरेको र तत्कालीन प्रथम महिला किम किओन हीलाई घुस तथा महँगा उपहारहरू दिएको अभियोगमा उनी दोषी ठहर भएकी हुन् ।
यो मुद्दा दक्षिण कोरियामा विशेष अनुसन्धान टोलीमार्फत अघि बढाइएको थियो । चर्चले आफ्नो राजनीतिक प्रभाव बढाउन र विभिन्न व्यापारिक स्वार्थ सिद्ध गर्न अनुचित दबाब दिएको अदालतको ठहर छ । अदालतले दुबै पक्षलाई एक साताभित्र अपिल गर्न समयसीमा दिएको छ ।
८३ वर्षीय हाक यस चर्चका संस्थापक सन म्योङ मुनकी विधवा पत्नी हुन् । उनीविरुद्ध सन् २०२२ मा दक्षिण कोरियाकी तत्कालीन प्रथम महिला किम किओन हिलाई ग्राफ ब्रान्डको हिराको हार, च्यानल ब्यागलगायतका विलासी सामाग्री उपहारमा दिएको अभियोग थियो ।
यस अभियोगमा गत जनवरीमा किमलाई सोल डिस्ट्रिक कोर्टबाट २० वर्षको सजाय भइसकेको थियो । किओनमाथि चर्चका सदस्यहरुलाई आफ्नो पतिको कन्जरभेटिभ पिपुल पावर पार्टीमा भर्ति गरेको तथा सत्तामा छँदा जागिरमा लगाएको पनि आरोप लागेको थियो ।
अप्रिलमा उच्च अदालतले किओलको सजाय वृद्धि गरेर ४ वर्षको सजाय सुनाएको थियो । किओल पूर्व राष्ट्रपति योन सुक योलकी पत्नी हुन् । सन् २०२५ मा संसद्ले उनीमाथि महाभियोग प्रस्ताव पारित गरेको थियो । राष्ट्रपति छँदा लोकतन्त्र मास्ने मनसायले डिसेम्बर २०२४ मा सैनिक शासन लागु गरेको आरोप राष्ट्रपति योलविरुद्ध थियो ।
दक्षिण कोरियामात्रै नभएर विश्वभरका नेताहरुसँग हाक जाको राम्रो सम्बन्ध छ । नेपालमा मंसिर २०७५ मा काठमाडौंको हयात होटलमा युनिमर्शल पिस फेडेरेशन (युपिएफ) ले आयोजना गरेको ‘एशिया प्यासिफिक सम्मेलनमा हाक जाले सहभागीहरुलाई होली वाइन खुवाएकी थिइन् ।
हाक नेतृत्वको युपिएफ युनिफिकेशन चर्चसँग आबद्ध संस्था हो । उक्त सम्मेलनमा बर्माकी नेतृ आङ सान सुची र कम्बोडियाका प्रधानमन्त्री हुन सेनसहित १ हजार ५ सय प्रतिनिधि सहभागी थिए ।
उक्त कार्यक्रममा नेपालमा तत्कालीन प्रधानमन्त्री केपी ओलीदेखि स्थानीय तहका प्रमुखसम्मलाई होली वाइन पिउनका लागि जोडीसहित आउन निमन्त्रणा गरिएको थियो ।
युनिफिकेशन चर्चले रगत शुद्ध गर्ने भन्दै मानिसहरुलाई होली वाइन खुवाउँदै आएको छ । तर विवाद भएपछि प्रधानमन्त्री, मन्त्री र अधिकांश स्थानीय निकायका प्रमुख वाइन पिउने कार्यक्रममा गएनन् । युनिफिकेसन चर्चको मान्यताअनुसार होली वाइन पिउने जोडीहरू मुन दम्पतीको वंशमा समाहित हुन्छन् ।
विवाहित वा विवाहयोग्य जोडीहरूलाई यस कार्यक्रममा समावेश गरिन्छ । होली वाइन नपिईकन यस चर्चले कसैलाई पनि विवाहको मान्यता दिँदैन । समापनमा भने प्रधानमन्त्री ओली पुगेका थिए ।
उनलाई हाक जाले गुड गभर्नेन्स अवार्डसहित एक लाख डलर पुरस्कार दिएकी थिइन् । लगत्तै, ओलीले उक्त पुरस्कार नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गरेका थिए ।
परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालको अगुवाईमा यस सम्पन्न भएको थियो । ढकालले सन् २०१७ मा नेपाली टाइम्ससँगको एक अन्तर्वार्तामा आफु युनिफिकेशन अभियानसँग जोडिएको स्विकारेका थिए ।
युनिफिकेशन चर्चसँग सम्बन्धित गतिविधिहरूलाई नियमित रूपमा प्रचारप्रसार गर्ने टी प्यारेन्ट्स डट ओआरजी नामक साइटले २१ मे २०१२ मा ‘युनिफिकेसन चर्चका नेपालस्थित नेता ढकाल मन्त्री नियुक्त शीर्षकमा’ समाचार प्रकाशित गरेको थियो ।









