काठमाडौँ उपत्यकामा रातिको समयमा सार्वजनिक यातायातको पहुँच विस्तार गरिएको छ । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँगको सहकार्यमा सञ्चालन हुँदै आएको रात्रिकालीन बस सेवा अब उपत्यकाका ६ वटा प्रमुख रुटमा विस्तार गरिएको हो ।

रात्रिकालीन यातायातलाई व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यले काठमाडौँ र ललितपुर महानगरपालिकासहित उपत्यकाका नौ स्थानीय तह साझा कार्यक्रममा आबद्ध भएका छन् । संविधान दिवसका अवसरमा स्थानीय तहका प्रमुख तथा साझा यातायातबीच भएको समझदारीसँगै विस्तारित सेवा सञ्चालनमा आएको हो ।
सम्झौतामा काठमाडौँ र ललितपुर महानगरपालिकासहित बुढानीलकण्ठ, गोदावरी, चन्द्रागिरि, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमि नगरपालिकाको सहभागिता छ । साझा यातायातका तर्फबाट अध्यक्ष सुशीलराज प्याकुरेलले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

विस्तारित सेवाअन्तर्गत ६ रुटमा ३० वटा बस सञ्चालन हुनेछन् । यसअघि लगनखेल-बुढानीलकण्ठ र नागढुंगा-एयरपोर्ट रुटमा राति ८ बजेदेखि ११ बजेसम्म सातवटा बसबाट परीक्षण सेवा सञ्चालन हुँदै आएको थियो ।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नागरिकलाई आधारभूत सेवाको पहुँच विस्तार गर्ने क्रममा रात्रिकालीन सार्वजनिक यातायातलाई पनि थप व्यवस्थित बनाउँदै लगिएको बताइन् ।
उनका अनुसार परीक्षणका क्रममा सञ्चालन गरिएका दुई रुटमा सेवा विस्तारसँगै बसको संख्या बढाइएको छ । चार स्थानीय तहको सहकार्यबाट सुरु भएको कार्यक्रम अहिले नौ स्थानीय तहको सहभागितामा पुगेको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उपत्यकाको यातायात व्यवस्थापनका लागि संघीय तहबाट अपेक्षित रूपमा मेट्रो सञ्चालनको योजना अघि नबढेपछि स्थानीय तहबाटै सम्भव प्रणाली विकास गर्न सहकार्य सुरु गरिएको बताए ।
साझा यातायातका अध्यक्ष प्याकुरेलले रातिको समयमा आवतजावत गर्ने सर्वसाधारणका लागि सुरक्षित र भरपर्दो सार्वजनिक यातायातको विकल्प विस्तार भएको बताए ।
यी हुन् रात्रिकालीन बसका ६ रुट
विस्तारित सेवाअन्तर्गत जगाती–सूर्यविनायक हुँदै ठमेल रुटमा ६ वटा बस सञ्चालन हुनेछन् । त्यस्तै साविक लगनखेल–बुढानीलकण्ठ रुटलाई गोदावरीसम्म विस्तार गरी ६ वटा बस सञ्चालन गरिनेछ ।
चक्रपथमा घडीको दिशामा र विपरीत दिशामा गरी ८ वटा बस सञ्चालन हुनेछन् । कीर्तिपुर-जमल रुटमा ४, टाखेल-ठमेलमा २ तथा नागढुंगा-एयरपोर्ट रुटमा ४ वटा बस सञ्चालन हुनेछन् ।
यसबाट उपत्यकाका विभिन्न स्थानीय तहबीच रातिको समयमा सार्वजनिक यातायातको कनेक्टिभिटी विस्तार हुने अपेक्षा गरिएको छ ।
टिकटबाट खर्च नपुगे स्थानीय तहले व्यहोर्ने|
रात्रिकालीन बस सञ्चालनको खर्च यात्रुबाट उठ्ने टिकट आम्दानीले नपुगेमा त्यसको व्यवस्थापनका लागि स्थानीय तहहरूले वित्तीय दायित्वसमेत लिएका छन् ।
सम्झौताअनुसार खर्च अपुग भएमा ५० प्रतिशत रकम सम्बन्धित सात नगरपालिकाले समान रूपमा व्यहोर्नेछन् । बाँकी ५० प्रतिशत रकम स्थानीय तहको जनसंख्याका आधारमा काठमाडौँ महानगरपालिकाले १८.५५ प्रतिशत, ललितपुर महानगरपालिकाले १८.५५ प्रतिशत तथा अन्य सात नगरपालिकाले ९ प्रतिशतका दरले व्यहोर्ने सहमति भएको छ ।
सेवा सञ्चालनमा थप रकम आवश्यक परे साझा यातायातले त्रैमासिक रूपमा सम्बन्धित स्थानीय तहसँग रकम माग गर्ने व्यवस्था गरिएको छ ।
डिजिटल बस स्टपदेखि डिजिटल टिकटिङसम्म
रात्रिकालीन बस सेवाका लागि यात्रु चढ्ने र ओर्लने स्थान सम्बन्धित स्थानीय तहले निर्धारण गर्नेछन् । ती स्थानमा आर्थिक वर्ष २०८३र८४ भित्र डिजिटल साइनेज बोर्डसहित डिजिटल बस स्टप निर्माण तथा सञ्चालन गर्ने जिम्मेवारी साझा यातायातलाई दिइएको छ ।
चक्रपथमा सेवा विस्तार भएपछि एक स्थानमा बस परिवर्तन गरेर उपत्यकाका विभिन्न रुटमा यात्रा गर्न सकिने व्यवस्था हुनेछ । यस्तो यात्रामा अधिकतम ८० रुपैयाँसम्म भाडा लाग्ने जनाइएको छ ।
टिकट बिक्रीमा हुने आर्थिक चुहावट नियन्त्रण गर्ने उद्देश्यले साझा यातायातले १ असोजदेखि डिजिटल टिकटिङ प्रणालीसमेत विकास गरेको छ । यात्रुले क्यूआरमार्फत वा नगद भुक्तानी गरेर टिकट लिन सक्नेछन् ।
साझा यातायातमा नेपाल सरकारको करिब ३ अर्ब रुपैयाँ र काठमाडौँ महानगरपालिकाको १५ करोड रुपैयाँ बराबरको सेयर लगानी रहेको छ । हाल साझा यातायातसँग १११ वटा बस रहेका छन् ।










