त्रिपुरेश्वरमा बस चालक अर्जुन दोङ तामाङले आत्मदाह गरेको घटनालाई लिएर प्रतिनिधि सभामा सरकार र राज्यका प्रशासनिक संयन्त्रमाथि प्रश्न उठेको छ। सांसदहरूले घटनालाई ट्राफिक कारबाहीसँग मात्र जोडेर हेर्न नहुने भन्दै यातायात व्यवस्थापनको विद्यमान प्रणाली, श्रमिक चालकको कार्यदशा, कानुनी व्यवस्थाको कार्यान्वयन तथा युवामा बढ्दो निराशाबारे सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले सडकमा ट्राफिक प्रहरी र चालकबीच हुने विवाद तथा तनाव कम गर्न प्रविधिको प्रयोग बढाउनुपर्ने, कारबाही प्रणालीलाई सहज र पारदर्शी बनाउनुपर्ने तथा यातायात क्षेत्रमा काम गर्ने श्रमिकको मनोसामाजिक अवस्थालाई समेत नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने बताएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आसिका तामाङले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १७१ मा रहेको कारबाहीविरुद्ध उजुरी गर्ने व्यवस्थामाथि प्रश्न उठाइन्। उनका अनुसार ट्राफिक प्रहरी वा प्रहरीले गरेको कारबाही चित्त नबुझे ३५ दिनभित्र यातायात व्यवस्था विभागका महानिर्देशकसमक्ष पुगेर उजुरी गर्नुपर्ने व्यवस्था व्यवहारिक नभएको भन्दै उनले विकट जिल्लामा रहेका चालकका लागि यस्तो प्रक्रिया थप बोझिलो हुने बताइन्।

उनले ट्राफिक कारबाहीसम्बन्धी उजुरी तथा पुनरावेदन प्रक्रियालाई अनलाइन प्रणालीमार्फत सहज बनाउनुपर्ने माग गरिन्। सडकमा हुने कारबाहीलाई थप पारदर्शी बनाउन ट्राफिक प्रहरीलाई बडी-वर्न क्यामरा अनिवार्य गर्नुपर्ने र फोटो तथा भिडियो प्रमाणका आधारमा कारबाही गर्ने व्यवस्था गर्नुपर्ने उनको माग थियो।
सांसद तामाङले सडकमा भएका आत्मदाहका घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताउँदै नागरिकको सुरक्षा र सहजीकरण गर्नुपर्ने राज्य संयन्त्रबाटै नागरिकले असुरक्षित तथा अपमानित महसुस गर्ने अवस्था अन्त्य गर्नुपर्ने धारणा राखिन्।
नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले अर्जुन दोङको मृत्युको घटनाप्रति दुःख व्यक्त गर्दै श्रमजीवी युवाले आफ्नो रोजीरोटीको साधनभित्रै आत्मदाह गर्नुपर्ने परिस्थिति कसरी सिर्जना भयो भन्ने प्रश्न उठाइन्। मृतकले अरूको लाइसेन्स प्रयोग गरेको विषय अनुसन्धानको पाटो भए पनि त्यसले घटनाको समग्र पृष्ठभूमिलाई ओझेलमा पार्न नहुने उनको भनाइ थियो।
उनले यसअघि असार २५ गते सोही क्षेत्रमा जुम्लाका गणेश नेपालीले आत्मदाह गरेको घटनासमेत स्मरण गर्दै यस्ता घटनालाई अलग–अलग घटनाका रूपमा मात्र हेर्न नहुने बताइन्। सडकमा काम गर्ने श्रमिकले भोगिरहेको दबाब, प्रशासनिक व्यवहार र राज्यका सेवा प्रणालीबारे गम्भीर समीक्षा आवश्यक रहेको उनले बताइन्।
सांसद शर्माले सरकारसँग मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै पछिल्लो समय युवामा देखिएको निराशा र असन्तुष्टिका कारणबारे गम्भीर अध्ययन गर्न आग्रह गरिन्। रोजगारी, सुशासन र सार्वजनिक सेवासँग जोडिएका समस्या समाधानमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले पनि त्रिपुरेश्वर घटनालाई युवामा बढ्दै गएको निराशासँग जोडेर हेर्नुपर्ने बताए। पछिल्ला महिनामा आत्मदाहका घटना सार्वजनिक भइरहेकाले ती घटनाको पृष्ठभूमिमा रहेका सामाजिक, आर्थिक तथा प्रशासनिक कारण पहिचान गर्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो।
राईले सार्वजनिक यातायातका बस चालक, ट्याक्सी चालक तथा मालवाहक सवारीका श्रमिकले दैनिक रूपमा विभिन्न किसिमका दबाब र समस्या झेलिरहेको उल्लेख गर्दै यातायात क्षेत्रमा तत्काल नीतिगत तथा व्यावहारिक सुधार आवश्यक रहेको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले भने यातायात व्यवस्थापनमा दण्ड र जरिवानालाई मात्र केन्द्रमा राख्ने प्रणाली परिवर्तन गर्नुपर्ने बताए। सडक प्रयोगकर्ता र चालकको मनोवैज्ञानिक अवस्था, ट्राफिक प्रहरीको कार्यदबाब तथा प्रविधिको प्रयोगलाई यातायात नीतिको महत्त्वपूर्ण हिस्सा बनाउनुपर्ने उनको धारणा थियो।
उनले काठमाडौँ उपत्यकामा ठूलो संख्यामा सवारीसाधन सञ्चालन भइरहे पनि त्यसअनुसार ट्राफिक व्यवस्थापनका लागि जनशक्ति पर्याप्त नभएको बताए। चालक निरन्तर कारबाहीको त्रासमा र ट्राफिक प्रहरी अत्यधिक कार्यदबाबमा काम गर्ने अवस्था रहेकाले विद्यमान प्रणालीले तनाव बढाइरहेको उनको भनाइ थियो।
सांसद गजुरेलले विकसित मुलुकमा चालकको मानसिक स्वास्थ्य, सडक सुरक्षा चेतना र प्रविधिमार्फत यातायात व्यवस्थापनमा राज्यले लगानी गर्ने गरेको उल्लेख गर्दै नेपालमा पनि त्यस्तो प्रणाली विकास गर्नुपर्ने बताए। ट्राफिक प्रहरीको भौतिक उपस्थितिमा मात्र निर्भर रहनेभन्दा प्रविधिमैत्री व्यवस्थापनतर्फ जानुपर्ने उनको सुझाव थियो।
उनले सवारी चालकको कार्यघण्टा नियमनसम्बन्धी प्रावधानको प्रभावकारी कार्यान्वयनमा समेत जोड दिए। एकातर्फ चालकको कार्यसमय तथा श्रम सुरक्षासम्बन्धी नियम कार्यान्वयन नगर्ने र अर्कोतर्फ सडकमा जरिवाना तथा कारबाहीलाई मात्रै प्राथमिकता दिने प्रवृत्तिले यातायात प्रणाली सुधार नहुने उनको भनाइ थियो।
सांसदहरूले अर्जुन दोङको आत्मदाह र मृत्युको घटनाको निष्पक्ष छानबिन गरी घटनाको वास्तविक कारण सार्वजनिक गर्नुपर्ने मागसमेत गरेका छन्। उनीहरूले ट्राफिक कारबाहीलाई पारदर्शी बनाउनेदेखि चालकको कार्यदशा सुधार, प्रविधिको प्रयोग, कानुनी प्रक्रिया सरलीकरण र युवामा बढ्दो निराशाका कारण पहिचानसम्मका विषयमा सरकारको स्पष्ट जवाफ मागेका छन्।
संसदमा उठेका प्रश्नहरूले त्रिपुरेश्वरको घटनालाई तत्कालीन विवादमा मात्र सीमित नराखी सडक सुरक्षा, श्रम अधिकार, प्रशासनिक जवाफदेहिता र यातायात व्यवस्थापनको समग्र प्रणालीसँग जोडेर हेर्नुपर्ने विषय अघि सारेका छन्।









