२०८३ मंसिर ३ गते बुधबार
२०८३ मंसिर ३ गते बुधबार

ओलीको आक्रोश- हिंसा र लुटपाटमार्फत सरकारबाट हटाइयो, आयोगहरूले आरोपित गर्ने काम गरे

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकार लोकतान्त्रिक प्रक्रियाबाट नभई बलजफती, आगजनी र लुटपाटमार्फत हटाइएको जिकिर गरेका छन् ।

आइतबार काठमाडौँमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै उनले उपद्रवकारीहरूले राज्यका संयन्त्र निष्क्रिय र निस्प्रभावी बनाएपछि आफूहरू सरकारबाट हट्नुपरेको दाबी गरेका हुन् ।

उनले जेन जेड आन्दोलनको क्रममा भएका घटनाहरूको निष्पक्ष छानबिन हुन नसकेको समेत टिप्पणी गरे । उनले सरकारद्वारा गठित छानबिन आयोग र मानव अधिकार आयोगले आन्दोलनको क्रममा भएको लुटपाट र आगजनीका घटनाको निष्पक्ष छानबिन गर्नुको सट्टा आफूहरूलाई आरोपित गर्ने उद्देश्यबाट प्रेरित भएको आरोप समेत लगाए ।

विदेशी सामाजिक सञ्जाल कम्पनीलाई नियमन गर्न खोजेको विषयमा तत्कालीन सञ्चार मन्त्रीमाथि कारबाही गर्नुपर्ने राष्ट्रिय मानव अधिकार आयोगको निष्कर्षप्रति समेत उनले आपत्ति जनाए । उनले विघठित प्रतिनिधि सभासम्बन्धी मुद्दाको फैसलामा ढिलाइ गरेको भन्दै सर्वोच्च अदालतको आलोचना समेत गरे ।

उनले भने, ‘अहिले हामीले धक्का खाएका छौँ, हामीले लोकतान्त्रिक बाटोबाट धक्का खाएका होइनौँ । बलजफती, आगो लगाएर, लुटपाट गरेर, राज्यका संयन्त्रहरू निष्क्रिय र निस्प्रभावी भएर हामी सरकारबाट हटाइयौँ । मान्छे मराएर उनीहरूले कब्जा गरे । मान्छे कसले मार्‍यो ? कसले गोली चलायो ? आयोग बने, स्थायी मानव अधिकार आयोग त छँदै छ । वास्तवमा छानबिन भएन । सम्भवतः आयोगहरूलाई छानबिन गर्नु पनि थिएन । केपी ओलीलाई आरोपित गर्नु थियो । उहाँहरूले गोली चलाउन आदेश दिएको छ भन्दा छैन भन्ने आयोगहरूकै निष्कर्ष छ गोली चलाउने आदेश प्रधानमन्त्री पनि दिएन, गृहमन्त्रीले पनि दिएन । अझ के भने इटलीले अहिले मेटालाई अर्बौँ रुपैयाँको दण्ड गरेको छ । बेथिति रूपमा चलाएको र मानहानी गरेको सजाय गरेको छ । हामी कहाँ थितिमा नबस्दाखेरी राज्य मान्दिनँ, कानून मान्दिन, तेरो संविधान मान्दिनँ, सरकार मान्दिन भन्दा हामीले बन्द गर्ने निर्णय नगरेका हौँ । अनि विदेशी व्यवसायीलाई नियमन गर्न खोजेको आरोपमा तत्कालीन सञ्चार मन्त्रीलाई कारबाही गर्नुपर्छ भन्ने मानव अधिकार आयोगको निष्कर्ष छ ।’

उनले नेकपा (एमाले)लाई देशको निर्णायक शक्तिको रूपमा विकास गर्ने बाटोमा आफूहरू अगाडि बढिरहेको बताए ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।