२०८३ मंसिर ३ गते बुधबार
२०८३ मंसिर ३ गते बुधबार

हिउँदमा भारतबाट ३५० मेगावाट बिजुली ल्याउन प्राधिकरणले पायो अनुमति

नेपाल विद्युत प्राधिकरणले आगामी हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत आयात गर्न अनुमति पाएको छ ।

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रिय विद्युत प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईईएक्स) को डे–अहेड र रियल टाइम बजारबाट प्रतिष्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न अनुमति दिएको हो । प्राधिकरणले १ मंसिर २०८३ देखि १५ साउन २०८४ सम्म विद्युत् आयात गर्न पाउनेछ ।

अनुमतिअनुसार बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा विद्युत् आयात गर्न सकिनेछ । विद्युत आयातका लागि कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रशारण लाइनबाट ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनबाट ५० मेगावाट गरी कुल ३५० मेगावाटको अनुमति प्राप्त भएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भारतबाट विद्युत् आयातको अनुमति प्राप्त भएकाले आगामी हिउँदयाममा माग र आपूर्तिको व्यवस्थापन सहज हुने बताए । रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा ४३१ मेगावाट जडित क्षमताका आयोजना राष्ट्रिय विद्युत प्रणालीबाट विच्छेद भएका छन् । यसलाई समेत ध्यानमा राखेर आगामी हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको श्रेष्ठले बताए ।

गत वर्षको विद्युत माग र उत्पादनको अवस्थालाई आधार मानेर गरिएको विश्लेषणअनुसार यस वर्ष पुसदेखि चैतसम्म चार महिनाको अवधिमा आन्तरिक उत्पादनभन्दा विद्युत् माग बढी हुने अनुमान गरिएको छ । उक्त अवधिमा भारतबाट विद्युत आयात गर्नुपर्ने प्राधिकरणको आँकलन छ ।

विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म निरन्तर विद्युत आयात गर्नुपर्ने अनुमान गरिएको छ । उच्च माग हुने समयमा भने दैनिक ८०० देखि ९०० मेगावाटसम्म विद्युत आयात गर्नुपर्ने अवस्था आउन सक्ने प्राधिकरणको प्रक्षेपण छ ।

पुस र चैतमा तुलनात्मक रूपमा कम विद्युत् आयात गरे पुग्ने अनुमान गरिएको छ । आगामी वैशाखदेखि नदीहरूमा पानीको बहाव बढ्दै जाने र आन्तरिक विद्युत् उत्पादन वृद्धि हुने भएकाले आयात क्रमशः घट्दै निर्यात सुरु हुने अपेक्षा गरिएको छ ।

यसैगरी, नेपाल विद्युत् प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजार (आईईएक्स) मा बिक्री गर्न पनि अनुमति पाएको छ ।

प्राधिकरणले १ मंसिर २०८३ देखि १५ साउन २०८४ सम्म उक्त विद्युत निर्यात गर्न सक्नेछ । हिउँदयाममा भारतबाट विद्युत् आयात गर्ने र उत्पादन बढ्ने समयमा निर्यात गर्ने व्यवस्थाले नेपालको विद्युत् माग तथा आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने देखिएको छ ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।