राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा काम गर्न नदिने चेतावनी दिएका छन् ।

एक अन्तर्वार्तामा चौधरीले कार्कीको नेतृत्वमा प्रहरी संगठन चल्न नसक्ने दाबी गरे । अदालतबाट पुनर्बहाली भए सरकारले उनलाई पूर्ववत् जिम्मेवारी सम्हाल्न नदिने अन्य कानुनी बाटो खोज्न सक्ने उनको भनाइ थियो ।
सरकारले नयाँ पद सिर्जना गरी आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएपछि कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि बुधबार प्रारम्भिक सुनुवाइ तोकिएको छ ।

कात्तिक २० गते दर्ता भएको रिटमाथि सुनुवाइका लागि सर्वोच्चले यसअघि तिहार बिदापछि कात्तिक ३० गतेको मिति तोकेको थियो । सरकारले सो दिन छठ पर्वको बिदा दिएपछि सुनुवाइ सरेको हो ।










