प्रहरीले ललितपुरको नख्खु चोकतर्फ जाँदै गरेको भ्यानबाट स्रोत नखुलेको १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ बरामद गरेको छ। रकमसँगै भ्यानमा सवार तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।

विशेष सूचनाका आधारमा मंगलबार बिहान बा प्र ०१-०२७ च २७६५ नम्बरको भ्यान जाँच गर्दा बोराभित्र विभिन्न दरका नोट भेटिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिएका छन् ।
नियन्त्रणमा लिइएकामा भोजपुर नगरपालिका-३ का ३० वर्षीय दीपक खड्का, ललितपुरको गोदावरी नगरपालिका-१० बोहराटारका ३२ वर्षीय जयराम के.सी. र काठमाडौँ महानगरपालिका-१० बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाल छन्।

प्रहरीका अनुसार उनीहरू भगवान शाहले सञ्चालन गरेको पशुपतिनाथ पराग सप्लायर्समा कार्यरत कर्मचारी हुन्। खड्का मार्केटिङको काम गर्छन् भने के.सी. भ्यान चालक र रिजाल सामान लोड गर्ने कर्मचारी हुन्।
बरामद नगदमा एक हजार दरका नोटबाट १ करोड ९ लाख ८७ हजार रुपैयाँ, पाँच सय दरका नोटबाट ५१ लाख ५० हजार रुपैयाँ र एक सय दरका नोटबाट पाँच लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, पचास दरका नोटबाट ४२ हजार ६०० रुपैयाँ, बीस दरका नोटबाट ४२ हजार ३६० रुपैयाँ, दश दरका नोटबाट १० हजार २७० रुपैयाँ र पाँच दरका नोटबाट एक हजार रुपैयाँ बरामद भएको छ।
अहिले कारवाहीका लागि ललितपुर परिसर पठाइएको प्रहरीले जनाएको छ ।











