राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री तथा सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूको विवाह आगामी मंसिर १० गते तय भएको हो ।

पारिवारिक स्रोतका अनुसार मंसिर १० गते परिवार र सीमित आफन्तको उपस्थितिमा विवाह समारोह आयोजना हुनेछ । त्यसको दुई दिनपछि अर्थात् मंसिर १२ गते पार्टीका शीर्ष नेता तथा अन्य आफन्तका लागि प्रीतिभोज राखिनेछ ।

विवाह समारोहमा सहभागी हुन रास्वपा सभापति रवि लामिछाने र डीपी अर्याललाई समेत निमन्त्रणा पठाइएको छ । मुकुल र रविबीच विगतमा पार्टीको आन्तरिक विवाद तथा कारबाहीका विषयमा मतभेद देखिएको थियो । यस्तो पृष्ठभूमिमा विवाहको निमन्त्रणा पुग्नुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।
विवाहको तयारी झापा र विराटनगर दुवै स्थानमा भइरहेको छ । मंसिर १० गते झापाको मंगलबारेस्थित निशाका आफन्तको घरबाट वैवाहिक कार्यक्रम सम्पन्न गर्ने तयारी छ । यस्तै, विराटनगर–३, दूधफारमस्थित मुकुलको निवासमा पनि विवाहको तयारी सुरु भइसकेको छ ।
मुकुल ढकाल रास्वपाका संस्थापक महामन्त्री हुन् भने निशा डाँगी पार्टीकी नेतृ तथा प्रतिनिधिसभा सदस्य हुन् । डाँगी २०७९ को निर्वाचनमा समानुपातिक प्रणालीबाट सांसद बनेकी थिइन् । उनी २०८२ को निर्वाचनमा झापा–१ बाट प्रत्यक्ष निर्वाचित भएकी हुन् ।
पार्टीको राजनीतिक उतारचढाव र आन्तरिक विवादका बीच विवाहको तयारीमा जुटेको यो जोडीको समारोहमा रास्वपाका शीर्ष नेताहरूको सहभागितालाई पनि चासोका साथ हेरिएको छ ।











