गोकर्णेश्वर नगरपालिकाभित्रका विभिन्न सडक स्तरोन्नति तथा सहरी पूर्वाधार निर्माणका लागि संघीय सरकारले २६ करोड ९४ लाख रुपैयाँ बजेट स्वीकृत गरेको छ।

सघन सहरी विकास कार्यक्रमअन्तर्गत संघीय सहरी विकास मन्त्रालयमार्फत उक्त बजेट स्वीकृत भएको हो। बजेटबाट नगरपालिकाभित्रका विभिन्न सडक स्तरोन्नति गर्नुका साथै आवश्यक सहरी पूर्वाधार निर्माण गरिनेछ।
नगरपालिकाले सहरी पूर्वाधार विकासका लागि बजेट माग गर्दै २०८३ असार ३२ गते सम्बन्धित मन्त्रालयमा औपचारिक पत्र पठाएको थियो। बजेट माग तथा आवश्यक समन्वयका लागि नगरपालिकाले आफ्नो तर्फबाट इन्जिनियरसमेत प्रतिनिधि तोकेको थियो।

नगरपालिकाले पेस गरेका प्रस्ताव तथा आवश्यक कागजातका आधारमा मन्त्रालयले बजेट स्वीकृत गरेको जानकारीसहितको पत्र प्राप्त भएको जनाइएको छ।
२६ करोड ९४ लाख रुपैयाँ बजेट स्वीकृत भएसँगै नगरपालिकाभित्रका विभिन्न सडकको स्तरोन्नति तथा सहरी पूर्वाधार निर्माणका काम अघि बढ्ने अपेक्षा गरिएको छ।
नगरपालिकाले बजेट उपलब्ध गराउन सहयोग तथा पहल गर्ने संघीय सरकार, सम्बन्धित मन्त्रालय र अन्य सहयोगी निकायप्रति आभार व्यक्त गरेको छ।











