नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम तेस्रो प्रयासमा च्याम्पियन बनेको हो ।

उपाधि जितेसँगै प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडी पनि घोषणा भएका छन्। चितवन राइनोजका बलर रिजन ढकाल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएका छन्।
प्रतियोगिताभर उत्कृष्ट बलिङ गरेका रिजनले सर्वाधिक १७ विकेट लिएका थिए। उनले सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै ओमोडा एन्ड जाएको कार पुरस्कार प्राप्त गरे। यस्तै, उनी उत्कृष्ट बलरसमेत घोषित भए। त्यसबापत उनले पल्सर मोटरसाइकल जितेका छन्।

यस्तै, प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी घोषित भए। उनले प्रतियोगितामा तीन अर्धशतकसहित २१८ रन बनाउनुका साथै ६ विकेटसमेत लिएका थिए। उनले पुरस्कारस्वरूप ५ लाख रुपैयाँ प्राप्त गरे।
प्रतियोगिताको इनर्जेटिक प्लेयर चितवन राइनोजका श्रीलंकाली ब्याटर कमिल मिशारा घोषित भए। उनले २ लाख रुपैयाँ पुरस्कार पाए।
यसैगरी, सर्वोत्कृष्ट ब्याटरको अवार्ड विराटनगर किंग्सका लोकेश बमले जिते। उनले प्रतियोगितामा कुल २४२ रन बनाएका थिए। उत्कृष्ट ब्याटर बनेसँगै उनले पल्सर मोटरसाइकल प्राप्त गरे।
जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले इमर्जिङ प्लेयरको अवार्ड जिते। उनले पनि पुरस्कारस्वरूप पल्सर मोटरसाइकल प्राप्त गरे।
यता, फाइनल खेलको प्लेयर अफ द म्याच सुदूरपश्चिमका जर्ज मुन्से घोषित भए। उनले फाइनलमा अविजित १२५ रन बनाउँदै टोलीलाई १० विकेटको जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
उपाधि जित्न नसके पनि लुम्बिनी लायन्सले स्पिरिट अफ क्रिकेटको अवार्ड प्राप्त गरेको छ। यसरी एनपीएल सिजन–३ को समापनसँगै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले विभिन्न व्यक्तिगत अवार्ड र नगद तथा सवारीसाधन पुरस्कार प्राप्त गरेका छन्।











