काठमाडौँ, २० मङ्सिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क र दक्षिण एसियाको विकास र समृद्धिमा नेपाल श्रीलङ्कासँग मिलेर काम गर्न आफू इच्छुक रहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन्। नेपालका लागि श्रीलङ्काली राजदूत डब्लुएस पेरेलासँग आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्री दाहालले नेपाल र श्रीलङ्काबीच पुरानो सांस्कृतिक, धार्मिक सम्बन्ध र एकता रहेको बताउँदै भूकम्पपछिको पुनःनिर्माणमा श्रीलङ्काले गरेको सहयोगका लागि धन्यवादसमेत दिएका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । उक्त अवसरमा श्रीलङ्काली राजदूत पेरेलाले आगामी वर्ष नेपाल र श्रीलङ्काबीच दौत्यसम्बन्ध कायम भएको ६०औँ वर्षको अवसरमा प्रधानमन्त्री दाहाललाई श्रीलङ्का भ्रमणका लागि निमन्त्रणा दिनुभयो ।