थकाली समुदायको कुम्भमेला सम्पन्न ।

0
292

मुस्ताङ, ६ माघ । थकाली समुदायको १२ वर्षे कुम्भमेला (ऐतिहासिक ल्ह्फेब पर्व)को समापन भएको छ । मुस्ताङको थाक सातसय क्षेत्र बसोबास गर्दै आएका थकाली चारचनको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्वमा १२ वर्षपछि निकालिएको देवताको बुधबार विधिपूर्वक व्यवस्थापन गरिएपछि मेला समापन भएको हो ।

गत पुस १५ गतेदेखि सुरु भएको कुम्भमेलामा धार्मिक पूजापाठका साथै विभिन्न सांस्कृतिक कार्यक्रम देखाइएको थियो । मेलाको अवसरमा म्याराथुन दौड, कविता वाचन, जातीय उत्थानसम्बन्धी अन्तरसंवाद तथा बृहत् निःशुल्क स्वास्थ्य शिविरजस्ता कार्यक्रम सम्पन्न भएको थियो ।

बृहत् स्वास्थ्य शिविरमा ६ सय ८० जनाले स्वास्थ्य परीक्षण गराएका थिए । संस्कृतिको संरक्षण, जातीय उत्थान र विकासका लागि अग्रजले सदियौँदेखि मनाउँदै आएको परम्परा जोगाउन पर्व सफल भएको आयोजक समितिले जनाएको छ ।

मेलाको समापन गर्दै थकाली सेवा समितिकी केन्द्रीय अध्यक्ष एवम् नेपाल आदिवासी जनजाति महासङ्घकी प्रथम उपाध्यक्ष कृष्णकुमारी शेरचनले पुर्खाले सञ्चालन गर्दै आएको धार्मिक महत्वको पर्वलाई संस्थागत विकास गर्न सके चार देवताले रक्षा गर्ने बताउनुभयो ।

समापनका अवसरमा १८ दिनसम्म सञ्चालित पर्वलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई आयोजकले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।