काठमाडौं, १७ फागुन । सरकारले बुधबार(आज)देखि काठमाडौं उपत्यकामा २० वर्ष पुराना भाडाका गाडी चल्न नदिने भएको छ । विभागका अनुसार पहिलो चरणमा उपत्यकामा रहेका २० वर्षे पुराना ३ हजार वटा गाडी हटाउन लागिएको हो । पहिलो चरणमा काठमाडौं उपत्यकाका पुराना गाडी हटाएपछि अर्को वर्षको फागुन मसान्त सम्ममा देशभरिबाटै पुराना गाडी हटाइनेछ ।
विभागले २० वर्ष पुराना भाडाका गाडीहरु अब सडकमा देखिए कारबाही गर्न आग्रह गर्दै ट्राफिक प्रहरीलाई पत्राचार गरेको छ । २० वर्ष पुराना गाडीहरुमा यात्रा गर्दा जोखिम हुने र प्रदुषण पनि बढ्ने भएकाले सञ्चालनमा रोक लगाउने सरकारी निर्णय आजदेखि कार्यान्वयनमा ल्याइँदैछ ।
यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले ‘आजदेखि २० वर्ष पुराना गाडी सडकमा गुडेको पाइए कारबाही गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिइएको जानकारी दिनुुभएको छ । यातायात व्यवसायीले भने, २० वर्ष पुराना गाडी हटाउने निर्णय खारेजको माग गर्दै हिजो यातायात व्यवस्था विभागको कार्यालय घेराउ गरेका थिए ।