कृष्णप्रसाद भट्टराईको छैटौँ पुण्य तिथि

0
238

काठमाडौं, २० फागुन । पूर्व  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको शुक्रबार छैटौँ पुण्य तिथि मनाईंदैछ । सन्त नेताको रुपमा चिनिने भट्टाराईको २०६७ फागुन २० गते  निधन भएको थियो ।

झण्डै २० वर्ष कांग्रेसको  सभापति बनेर पार्टी चलाउनु भएका उहाँलाई किसुन जी भनेर पनि चिनिन्छ । प्रधानमन्त्रीबाट राजीनामा दिएपछि एउटा छाता र सुराही र टिनको बाकसमात्र आफूसँगै लिएर फर्केका किसुनजीलाई आदर्श नेताको रुपमा लिइन्छ । तर उहाँको आदर्श आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले पालना नगरेका भन्दै आलोचना हुन थालेको छ ।

भट्टराई नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पछिका पहिला प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँ वि.सं. २००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दादेखि नै नेपालको राजनीतिमा संलग्न हुनुहुन्थ्यो । उहाँले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर–उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गर्नुभएको थियो ।

भट्टराई वि.सं २०४६ को जनआन्दोलन पछि गठित अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो । गान्धीवादी सन्त नेता मानिने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिनुहुन्थ्यो । उहाँ स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिनुहुन्थ्यो ।

हरदम हँसिलो रहने भट्टराईको सेन्स अफ ह्युमर उच्च रहेको थियो। गम्भीर समस्यालाई हल्का रूपमा लिएर पचाउने क्षमता उहाँमा थियो। पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले उहाँलाई स्वच्छ छवि भएका नेताको रूपमा लिइन्छ ।