काठमाडौं, १० चैत्र । संविधान संशोधन प्रक्रिया एक साताका लागि स्थगित हुने भएको छ । प्रधानमन्त्रमन्त्री पुष्पकमल दाहाल साताब्यापी भ्रमणका लागि आज चीन जाने र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव दिल्लीमा रहेकाले संविधान संशोधनका लागि दलहरुले अझै एक साताभन्दा बढी पर्खने भएका छन् । सत्तारूढ गठबन्धन र मधेसी मोर्चाले बनाएको संयुक्त कार्यदलले संविधान संशोधनका सवालमा लगभग सहमति जुटाएको छ ।
अति विवादित सीमांकनको विषय पछि बन्ने संघीय आयोगलाई जिम्मा दिने गरी छाड्न र बाँकी तीन वटा विषयमा मोटामोटी सहमति भएको कार्यदल जनाएको छ । भाषा, नागरिकता र राष्ट्रियसभामा प्रतिनिधित्वको विषय तत्काल संशोधन गरी स्थानीय निर्वाचनमा जाने सहमति कार्यदलभित्र जुटेको हो । यसरी जुटाएको सहमतिमा कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि जानकारी गराउँदै उसँग पनि सहमतिको प्रयास खोजेको छ ।
सत्तारुढ दलका नेताहरुसँगको छलफलमा एमालेले विगतको अडानबाट पछि हट्दै संविधानको कार्यान्वयनका लागि वैशाख ३१ मै स्थानीय तहको निर्वाचन गर्ने सरकारको प्रतिबद्धता बमोजिम पहिले मोर्चासँग ठोस प्रस्ताव लिएर आउन भनिसकेसको छ । कांग्रेस, माओवादी र राप्रपाका नेताहरुले अघि सारेको प्रस्ताव बमोजिम सहमतिमा आएर निर्वाचनमा जान मोर्चा सहमत भए एमाले सहमतिमा आउने बताइसकेको छ ।