धोती तेरो, टोपी मेरो दौरा सुरवाल कस्को

0
1358

काठमाडौं, ९ जेठ । राम्रो चिज समाजमा देखिन केहि समय लाग्छ । सिर्जनामा पनि ठ्याक्कै यहि नियती लागु हुन्छ । हुनत अहिले हतारमा सिर्जना सार्वजनिक गर्नेहरुको पनि ठूलो भिड छ । तर, यहि भिडमा अलि फरक छन् गायक तथा संगीतकार सागर सरद अधिकारी । उनको गलाले धेरैलाई मन्त्रमुघ्द बनाउँछ । धेरैले उनलाई सिर्जना निरन्तर सार्वजनिक गर्न हौसाई रहन्छन् । तर उनी हल्लामा भन्दा साधनामा बेसी विश्वास राख्छन् । उनले गीत गजल गाएर रेडियो नेपालको आधुनिक गीत प्रतियोगीतामा दोस्रो, राष्ट्रव्यापि गजल गायन प्रतियोगीतामा प्रथम स्थान हासिल गरिसकेका छन् । केहि फुटकर गीतमा आवाज तथा संगीत भरेका अधिकारीको राष्ट्रिय भावको गजलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

‘धोति तेरो, टोपी मेरो’ उक्त गजलमा कवि भरत आचार्यको शब्द रहेको छ । पहिला अकल झुकल कलम चलाउँदै आएता पनि बिबिध कारणले निरन्तरता दिन नसकेका आचार्य नेपालमा आएको महाभूकम्प र चरम नाकाबन्दी पछि आम नेपालीले भोग्नु परेका पिडाहरु कविता, गीत, गजल र व्यंग्यात्मक अभिव्यक्ति मार्फत पोख्दै आएका छन् ।

सार्वजनिक गजल ‘धोती मेरो टोपी तेरो दौरा सुरवाल कस्को ?’ वोलको राष्ट्रिय भावको गजलमा कवि आचार्यले हामी नेपालीमा हामी भन्ने भावना हराउँदै गएर सिङ्गो देशनै तेरो मेरो भन्ने भावनामा अल्झेको पीडा अभिव्यक्त गरिएको छ । अधिकारिको स्वर तथा संगीत रहेको गजलमा साहश शाक्यको संगीत संयोजन रहेको छ ।

भर्खरै मात्र छायांकन भै बाहिर आएको सो गजलको म्युजिक भिडियोमा अजय रेग्मीको छायाँकन, उदिपध्वज थापाको सम्पादन तथा सुरेश राउतको निर्देशन  रहेको छ ।