काठमाडौं, १७ जेठ । आज काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खडगी श्रेष्ठले पदभार ग्रहण गर्दै हुनुहुन्छ । राष्ट्रिय सभागृहको सिटी हलमा न्यायाधीश दीपेन्द्र अधिकारीले मेयर, उपमेयर र वडा अध्यक्षलाई सपथ गराउने कार्यक्रम छ । सपथ ग्रहणका लागि सिटी हललाई झकिझकाउ पारिएको छ । नेवारी साँस्कृतिक झाँकी सहित उनीहरुलाई स्वागत गरिनेछ । आजको सपथपछि महानगरका नवनियुक्त जनप्रतिनिधीहरुको कार्यक्रम पनि महानगरले बनाएको छ । महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार सपथपछि मेयर र उपमेयर लैनचौर पुगेर सहीद स्मारकमा माल्यार्पण गर्ने कार्यक्रम छ । तर, वडा अध्यक्ष र सदस्यहरु सभागृहबाटै आ–आफ्नो वडामा गएर पदबहाली गर्नेछन् ।
मेयर र उपमेयरले लैनचौरबाट रत्पार्क्स्थित गणेशमान शान्ति बाटिका पुगेर सर्वोच्च नेता गणेशमान सिंहको शालिकमा माल्यार्पण गर्नेछन् । त्यहाँबाट उनीहरु सिधै सोभाभगवतीस्थित मंगलादेवी सिंहको सालिकमा पुष्प गुच्छासहित मल्यापर्ण गर्ने र त्यसपछि कीर्तिपुरस्थित चम्पादेवीमा पुगेर पुष्पलाल स्मृतिपार्कमा रहेको पुष्पलालको सालिकमा मल्यापर्ण गर्ने कार्कीले जानकारी दिनुभयो ।
त्यसपछि उनीहरुले, बल्खुस्थित एमालेको पुरानो पार्टी कार्यालयमा रहेको मदन भण्डारीको सालिकमा मल्यार्पण गर्नेछन् । बल्खुबाट मेयर, उपमेयरलगायत महानगरका कर्मचारी बसन्तपुरस्थि कुमारीको दर्शन गरेर महानगरको केन्द्रीय कार्यालय बागदरबार पुग्नेछन् । बागदरवारमा उनीहरुलाई नेवारी झाँकीसहित स्वागत गरिनेछ । त्यसपछि बागदरबारमा मेयर र उपमेयरले बृक्षारोपण गर्ने कार्यक्रम छ । ३ बजे उनीहरुले पदबहाली गर्ने कार्यक्रम छ ।
४ बजे सबै वडा अध्यक्ष, कार्यकारीको उपस्थितिमा मेयर र उपमेयरले पहिलो बोर्ड बैठक गर्नेछन् । बैठकले केही निर्णय गर्नेछ । पहिलो बोर्ड बैठकले गरेका निर्णय सार्बजनिक गर्न ५ बजे पत्रकार सम्मेलन गरिनेछ । ७ बजे जिल्ला प्रमुख, कुटनीतिक नियोगका प्रमुखसमेतलाई निमन्त्रणा गरेर राष्ट्रिय सभागृहमा रात्रिभोजको आयोजना गरेको पनि कार्कीले जानकारी दिनुुभउको छ । बेलुका प्रत्येक वडा र केन्द्रीय कार्यालयमा दीपावली मनाइनेछ ।