तराईमा माओवादी केन्द्रसँग तालमेल गर्ने रणनीतिमा एमाले : गुल्मीमा तालमेल भत्कियो

0
303

काठमाडौं, १० जेठ । स्थानीय तहमा कांग्रेसको साथ पाएर सोचेभन्दा धेरै स्थानमा जित्न सफल भएको माओवादी केन्द्र यतिबेला बाँकी रहेका स्थानमा एमाले र कांग्रेस दुवैलाई आफ्नो पक्षमा पार्ने दाउमा लागेको छ ।

एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा रोकेर तत्काल चुनावमै ध्यान केन्द्रीत गर्नुका पछाडि तराईमा एमालेले र माओवादी केन्द्रवीच चुनावी तालमेल गर्ने भित्री रणनीति रहेको छ । माओवादी पनि प्रचण्डलाई प्रधानमन्त्रीबाट राजीनामा दिन लगाएर कांग्रेसलाई पनि आफ्नो पक्षमा पार्न चाहन्छ ।

तराईमा माओवादी र कांग्रेसभन्दा आफू तुलनात्मक रूपमा कमजोर रहेको महसुसका साथ एमालेले माओवादीलाई साथमा लिने रणनीति बनाएको छ । तराईमा माओवादीलाई साथमा लिएर चुनाव लड्न सकिए पहाडमा एक्लै चुनावमा जाने मनस्थितिमा रहेको एमाले निकट स्रोतले जनाएको छ । पहाडमा कांग्रेस–माओवादीभन्दा एमाले बलियो भएको आन्तरिक रिपोर्टिङका आधारमा एमालेले कसैसँग तालमेल नगर्ने भएको हो ।

स्थानीय पार्टी कमिटीलाई तालमेलको जिम्मा दिए पनि स्थानीय कमिटीले त्यस विषयमा कुनै रणनीति तयार नगरी एक्लै चुनामा जाने भएका हुन् । एमालेले जनकपुर बुटवललाई पनि महानगर बनाउनुपर्ने भन्दै तराईमा आफ्नो ध्यान केन्द्रीत गर्न थालेको छ । तराईमा रहेका ठूला नगरपालिकालाई महानगर वा उपमहानगरपालिका मात्रै दिएर हुँदैन, जनकपुर र बुटवल महानगर बनाउनुपर्छ भन्दै थपिएका स्थानीय तहको विरोध गरेको हो । तराईका अन्य जिल्लामा भन्दा जनकपुरमा एमाले कमजोर मानिन्छ ।

गुल्मीमा तालमेल भत्कियो

गुल्मीमा स्थानीय तह निर्वाचनको लागि राजनीतिक दलहरूबीच भएको सहमति कार्यान्वयन भएन । स्थानीय तह निर्वाचनका लागि जिल्लामा नेकपा एमाले र माओवादी केन्द्रबीचको तालमेल अन्तिम समयमा आएर कार्यान्वयन नभएको हो ।

जिल्लामा रहेका दुई नगरपालिका र १० गाउँपालिकामा विभिन्न पदहरू बाँडेर चुनावी मैदानमा उत्रिने सहमति जनाएका एमाले र माओवादी केन्द्रको सहमति केही दिनमै भत्किएको थियो ।

एमाले र माओवादीबीच भएको सहमति अनुसार माओवादी केन्द्रलाई ३ गाउँपालिका प्रमुख, ६ वटा गाउँपालिका उपप्रमुख र २४ वटा वडा अध्यक्ष सहित सहमति गरेर चुनावी तालमेल भएको थियो । तर दोलखामा भएको क्षतिलाई मूल्यांकन गर्दै एमालले केन्द्रलाई सहयोग नगर्ने देखिएपछि तालमेल भत्किएको हो । केन्द्रबाटै स्थानीय कार्यकर्ताको विरोधपछि तालमेल भत्किएको जनाउ दिइएको छ ।

जिल्लामा रहेका कुल ९३ वडा मध्ये बाँकी वडामा एमालेले अध्यक्ष पाउने सहमति भएको थियो । दुई पार्टीको तालमेलअनुसार दुईवटा नगरपालिका र सात गाउँपालिकामा एमालेको तर्फबाट प्रमुख पाउने सहमति भएको थियो ।