गुल्मीका शिक्षक धमाधम जागिर छाड्दै

0
307

गुल्मी, १४ जेठ । दोश्रो चरणमा हुन लागेको स्थानीय तहको चुनावको मिति नजिकिँदै जाँदा गुल्मी जिल्लामा १२ भन्दा बढी शिक्षक राजीनामा दिएर चुनामी मैदानमा उत्रेका छन् । स्थानीय तहमा आफूले जित्न सक्ने बलियो आधार देखेपछि उनीहरु यसरी राजीनामा गरेर पार्टिको तर्फवाट उम्मेद्वारी दिन लागेका हुन् ।

यसरी राजीनामा गरेर उम्मेद्वारी दिने शिक्षक मध्ये धेरै शिक्षक नगरपालिका र गाउँपालिकाको वडा अध्यक्षमा उम्मेद्वारी दिने तयारीमा छन् । जनप्रिय प्राथमिक विद्यालय बलेटक्सारकी लक्ष्मी पन्थ रुरु गाउँपालिकाको उपप्रमुखमा उम्मेद्वारी दिने तयारीमा जुट्नु भएको छ भने अन्य सबै शिक्षकहरु वार्ड अध्यक्षमा उम्मेद्वारी दर्ता गर्ने तयारीमा हुनुहुन्छ ।

राजीनामा गरेर चुनावी प्रतिस्पर्धामा होमीने शिक्षकहरुमा भाडगाउँ माध्यमिक विद्यालय अर्खलेका शिक्षक थम्मनबहादुर केसी, सीतापुर मावि अर्लाङ्गकोटका गिरीराज खरेल र नरेशराज खरेल, भगवती प्रावि बडागाउँका झविलाल भण्डारी, राष्ट्रिय मावि थोर्गाका शेष नारायण पौडेल, कोरेङ् निमावि खड्गकोटका कविराज ढकाल, उदय मावि शान्तिपुरका गोकर्ण प्रसाद शर्मा र रियाले मावि सिर्सेनीका नारायण घर्ति रहनु भएको छ ।

शिक्षकहरुले विभिन्न समस्या र कारण देखाँउदै जिल्ला शिक्षा कार्यालयमा राजीनामा दिएको र राजीनामा समेत जिल्ला शिक्षा अधिकारीवाट स्वीकृत भइसकेको जिल्ला शिक्षा कार्यालय गुल्मीका विद्यालय निरीक्षक एवं सूचना अधिकारी झविलाल बिकले बताउनुभएको छ । स्थानीय तहको चुनावमा उम्मेद्वारी दिनका लागि सामुदायिक विद्यालयहरुका अतिरिक्त अन्य संस्थागत विद्यालयहरुका कतिपय प्रधानाध्यापक र शिक्षकले समेत राजीनामा गरेर चुनामी मैदानमा उत्रेका छन् ।

जिल्लामा चुनावी रौनक बढ्दै जान थालेपछि यतिवेला दलहरु उम्मेद्वार छनौटमा व्यस्त बनेका छन् । उनीहरुले नगरपालिका तथा गाउँपालीकाका वडाहरुमा धमाधम उम्मेद्वारहरुको नाम घोषणा गर्न थालेका छन् । राजीनामा गरेर चुनामी मैदानमा उत्रेका अधिकांस शिक्षकहरुले स्थानीय स्तरमा आफ्नो पकड बलियो रहेका कारण जित सुनिश्चित हुने दाबी समेत गरेका छन् ।