जीवनमरणको दोसाँधमा बिकिनी किलर, भन्छन्, ’मेरो शव चिरफार नगरी दूतावासमा बुझाइदिनु’

0
778

काठमाडौं, २९ जेठ । ‘मिस्टर जेलर, म अब धेरै बाँच्दिनँ होला, मरेपछि मेरो शव चिरफार नगरिदिनू, दूतावासमा बुझाइदिनू,’ करिब तीन महिनाअघि केन्द्रीय करागारका जेलर वेदप्रसाद खरेलसँग रुँदै वेदना पोख्दा चार्ल्स शोभराजको शरीर सुन्निएको थियो, सास फेर्न गाह्रो थियो। शारीरिक मात्र होइन मानसिक रूपमा पनि उनी निकै कमजोर भइसकेका थिए। १३ वर्ष जेल बस्दा उनी सधैँ दम्भी थिए, आफूमाथि ठूलै विश्वास थियो। उनी भाग्न सक्ने डरले मात्र होइन, उनीमाथि हमला हुन सक्ने डरले पनि प्रशासनले शोभराजलाई गोलघरमा राखेको थियो। तर, उनी कैदीबन्दीसँग मात्र होइन, जेलर र प्रहरीसँग पनि सधैँ उच्च मनोबलका साथ कुरा गर्थे ।

सुन्धारास्थित केन्द्रीय कारागारमा पनि अस्पताल छ । त्यसैले सामान्य अवस्थामा उनको स्वास्थ्योपचार त्यही अस्पतालभित्र हुन्थ्यो। तर, जब उनको मुटुको भल्भमा समस्या छ भन्ने प्रारम्भिक रिपोर्ट आयो, थप जाँच गर्न उनलाई गंगालाल अस्पताल लगियो। गंगालालका डाक्टरले शोभराजको अवस्था प्रतिकूल भएको भन्दै छिटै अप्रेसनको तयारी गरे। शोभराजले नेपालमा आफूमाथि षड्यन्त्र भएको आशंका गर्दै अप्रेसन गर्न अस्वीकार गरेका थिए। तर, सम्पूर्ण मेडिकल रिपोर्ट आफ्नो मातृभूमि फ्रान्स पठाएर त्यहा“का डाक्टरले पनि अप्रेसन अनिवार्य छ भन्ने पुष्टि गरेपछि मात्र उनी अप्रेसनका लागि तयार भएका हुन्। शोभराजको मुटुको अप्रेसन २ असारका लागि मात्र तय भएको थियो। तर, समस्या जटिल हुँदै गएपछि डाक्टरहरूले सोमबार नै उनको अप्रेसनको तयारी गरेका छन्। केन्द्रीय कारागारका जेलर खरेलका अनुसार शोभराजलाई शुक्रबार गंगालाल अस्पतालमा भर्ना गरिएको छ।

उनलाई गंगालाल अस्पतालको डिलक्स रुममा राखिएको छ।

निहिताले दिइन् रगत

अप्रेसनका लागि शोभराजकी ‘श्रीमती’ निहिता विश्वासले रगत दिएकी छिन्। अस्पताल स्रोतका अनुसार निहिताको पनि रगत समूह ओ पोजेटिभ भएकाले उनले शोभराजका लागि रक्तदान गरेकी छिन्। तर, अप्रेसनका लागि थप रगत अस्पतालले पनि व्यवस्थापन गरेको छ। निहिता आइतबार आमा शकुन्तला थापासहित शोभराजलाई भेट्न अस्पताल पुगेकी थिइन्। निहिताले लामो अन्तरालपछि मात्र शोभराजलाई भेटेकी हुन्। आठ वर्षअघि शोभराजले जेलमै सिन्दुर हालेर निहितालाई श्रीमती बनाएका थिए।

तर, पछिल्लो समय निहिता शोभराजलाई भेट्न जेल जान छाडेकी थिइन्। पछिल्लो समय उनीहरूबीचको सम्बन्ध राम्रो थिएन। यद्यपि, निहिताले अप्रेसनका क्रममा रगत दिएर शोभराजप्रति माया देखाएकी छिन्।

शोभराजको अपराध यात्रा

बिकिनी किलरका रूपमा कुख्याती कमाएका शोभराजको जीवन अनौठो र रहस्यमय छ। अविवाहित आमाको सन्तानका रूपमा सन् १९४४ मा भियतनाममा जन्मिएका शोभराजका बाबु भारतीय मूलका हुन्। पछि उनलाई आमाका प्रेमीले हुर्काएका थिए। उनको वास्तविक नाम चाल्र्स गुरुमुख शोभराज हो। बाल्यकाल उनले फ्रान्समै बिताए। पर्याप्त पारिवारिक वातावरण पाउन नसकेकाले उनी सानैदेखि फरक व्यवहार देखाउने र अपराधका गतिविधि गर्ने गर्थे। उनले पहिलो अपराध सन् १९६३ मा १९ वर्षको उमेरमा गरेका थिए। पेरिसको एक घरमा गरेको चोरी उनको जीवनको पहिलो आपराधिक खुट्किलो थियो। जसमा उनी असफल भए र करिब एक वर्ष जेल बसे।

जेलमा उनले आफूलाई विशेष व्यवहार गर्न जेलका अधिकारीलाई बाध्य बनाए। फ्रान्सको सोही जेलमा उनको जीवनको अर्काे महत्वपूर्ण घटना घट्यो। उनले त्यहाँको अन्डरवल्र्ड समूहका सदस्य फिलिक्स इसकोन्जीलाई भेटे। जेलबाट दुवैजना छुटेपछि त्यहाँको अन्डरवर्ल्ड समूहसँग मिलेर शोभराजले काम गर्न थाले र पेरिसका धनी व्यक्तिसँग संगत बढाउनुका साथै उच्च वर्गबारे धेरै सूचना बटुले। एकपछि अर्काे गर्दै पेरिसका ठूला चोरीका घटनामा उनले सफलता हात पारे। त्यो सिलसिला करिब सात वर्ष चल्यो। त्यहीबीचमा उनको चान्तासनामक युवतीसँग भेट भयो। जसलाई उनले प्रेम प्रस्ताव राखे र युवतीले सहजै स्विकारिन्। पछि उनीहरूले बिहे गरे। यसबीचमा प्रहरीले उनीमाथि निगरानी बढाएपछि उनले फ्रान्स छाड्ने कुटिल निर्णय गरे। पूर्वी युरोपमा केही दिन बसेर उनी सन् १९७० मा श्रीमतीका साथ भारतको मुम्बई आए।

पूर्वी युरोपमा रहँदा पनि उनी निकै चलाखीसाथ चोरी गर्न सफल भए। भारत आएपछि करिब एक वर्ष उनले इमानदार जीवन बिताएको उनीबारे लेखिएको ‘लाइफ एन्ड क्राइम्स अफ चाल्र्स शोभराज’नामक पुस्तकमा उल्लेख छ। तर, इमानदार जीवन बिताउने रहर बोकेर उनी मुम्बई आएका भने थिएनन्। मुम्बईमा उनले कार चोर्ने र बेच्ने धन्दा गर्न थाले। जुवामा विशेष सोख भएकाले त्यसरी कमाएको पैसा उनी जुवा खेलेर सिध्याउँथे। तर, एक वर्षको बीचमै उनी होटेल अशोकामा रहेको सुनपसल चोरीमा समातिए। तैपनि उनी जेलबाट भाग्न सफल भइसकेकोमा तत्कालै उनलाई प्रहरीले समातेको थियो। आफू बसेको होटेलको कोठाबाट पसलमा प्वाल पारेर उनले त्यो चोरी गरेका थिए। पछि धरौटीमा त्यहाँबाट रिहा भएपछि उनी अफगानिस्तानको काबुल पुगे।

काबुलमा पर्यटक लुट्ने धन्दामा लागे र दर्जनौँ घटनापछि मात्र समातिए। चतुर शोभराज प्रहरीलाई झुक्याउँदै बिरामी भएको र अस्पताल जाने बहानामा त्यहीँबाट भागेर भारत आए। त्यसपछि इरान, टर्की र ग्रिसमा दुई वर्ष बिताए। त्यहाँ पनि उनको आपराधिक गतिविधि जारी नै थियो। चोरीको पासपोर्ट प्रयोग गरेर उनी इरान हुँदै टर्कीको राजधानी इस्तानबुल पुगेका थिए। जहाँ उनका भाइ एन्ड्री बस्थे। इस्तानबुलमा शोभराज र एन्ड्रीको आपराधिक गतिविधि झन् सशक्त बन्यो। पछि ग्रिसमा उनीहरूलाई समातियो। उनीसँगै पक्राउ परेका भाइ एन्ड्रीले १८ वर्ष जेलमा बिताउनुपरेको थियो। उनी भने थाइल्यान्ड भागेका थिए। थाइल्यान्डबाटै उनले कुख्याती कमाएका हुन्। त्यहाँ लगातार उनले तीन पर्यटकको हत्या गरे। त्यहा“ उनी कुटिल लागुऔषध कारोबारीका रूपमा प्रस्तुत गरेर पर्यटकसँग नजिकिने गरेका थिए।

त्यसरी लगातार तीन पर्यटकको हत्या भएको घटनाले थाइल्यान्डमा हंगामै मच्चियो। हत्या गरिएका पर्यटकको पासपोर्ट लिएर उनी भारत आए। त्यहाँ एक भारतीय युवा अजय चौधरी र क्यानेडियन नागरिक मोनिकासँग उनको दोस्ती बढ्यो। त्यसपछि उनीहरूले मिलेर भारत, नेपाल र मलेसियामा दर्जनौँ आपराधिक काम गरे। तर, चलाखीका कारण उनी कहिल्यै पक्राउ परेनन् । सन् १९७५ को कुरा थियो यो। सोही वर्ष उनीहरू थाइल्यान्डमा हत्या गरेका पर्यटकको पासपोर्ट लिएर नेपाल आएका थिए। नेपालमा उनीहरूले तीन विदेशी नागरिकको हत्या गरे। नेपालमा त्यसरी हत्या गरेपछि नेपाल प्रहरीलाई झुक्याउँदै भारत छिरेका शोभराजको आपराधिक जीवनको महत्वपूर्ण समय रह्यो। अरू तीन युवतीसँग मिलेर भारत भ्रमणमा आएका फ्रेन्च विद्यार्थीलाई आफूहरू उनीहरूको गाइड बताएर झुक्याउँदै हत्या प्रयास गरेकोमा उनलाई प्रहरीले पक्राउ र्गयो । सो घटनामा उनलाई आजीवन कारावासको सजाय हुने धेरैको अनुमान थियो। तर, उनकी सहयोगी अर्की महिलालाई प्रमुख दोषी ठर्हयाएर उनलाई १२ वर्षको मात्र जेल सजाय सुनाइयो।

चतुर शोभराजको अगाडि कसको के लाग्ने ?

भारतको ठूलो तेहाड जेललाई उनले आफ्नो दरबारजस्तो बनाए। त्यहाँ उनलाई सम्पूर्ण सुविधा थियो। जेलका सबै कर्मचारीलाई उनले रिझाएका मात्र थिएनन्, शोभराज भनेपछि जेलरले समेत आदर गर्ने गरेको उनीबारे लेखिएको पुस्तकमा उल्लेख छ। यसैक्रममा जेलमा उनको जन्मदिन मनाउने कार्यक्रम भयो। कैदीदेखि जेलरसम्म सबैलाई उनले पार्टी दिए। रमाइलो के भने जन्मदिनको फलफूलमा बेहोस हुने औषधि मिलाइएको थियो। त्यसरी सबैलाई बेहोस बनाएर उनी भारतको जेलबाट भाग्न सफल भएका भए। लगत्तै उनी गोवामा पक्राउ परे र १० वर्ष जेल जीवन बिताए। त्यतिखेरसम्म उनी अन्तर्रा्ष्ट्रियस्तरमै मस्ट वान्टेड अपराधीका रूपमा कहलिसकेका थिए। त्यतिबेला शोभराजलाई सुपुर्दगी गर्न थाइल्यान्डलगायतका देशले भारतलाई पटक–पटक आग्रह गरेका थिए। नेपालमा पनि सुपुर्दगीका लागि आग्रह गर्ने छलफल भएको थियो।

तर, नेपाल सरकारले भारतलाई पत्राचार भने गरेन। भारतको जेलबाट छुटेपछि उनी फ्रान्स गए र त्यहाँबाट गृहदेश भियतनाम पुगेर सामान्य नागरिकको रूपमा पाँच वर्ष बिताए। त्यसपछि भियतनामको आफ्नै पासपोर्ट लिएर उनी नेपाल आए। काठमाडौंको एक क्यासिनोमा देखेपछि प्रहरीले ०६० को असारमा उनलाई पक्राउ गरेको हो। नेपालको जेलभित्रैबाट उनले युनुस अन्सारीलाई गोली हान्न भारतीय नागरिकलाई सहयोग गरे । त्यो अपराधमा पनि उनलाई अदालतले दोषी ठहर गरेको छ। पछिल्लो समय उनले उमेरका कारण आफू रिहा हुनुपर्ने भन्दै लबिङ गर्दै आएका छन्।

अप्रेसनका लागि दूतावासको मञ्जुरीनामा

शोभराजको अप्रेसनका लागि काठमाडौंस्थित फ्रेन्च दूतावासका अधिकारीले मञ्जुरीनामामा आइतबार हस्ताक्षर गरेका छन्। सुरुमा शोभराजले आफ्नो अप्रेसन नै गर्न मानेका थिएनन्। पछि फ्रान्सकै डाक्टरहरूसँग सरसल्लाह गरेपछि उनी अप्रेसनका लागि तयार भएका हुन्। तर, अप्रेसन सफल हुनेमा शोभराज विश्वस्त छैनन्। चिकित्सकहरूका अनुसार पनि मुटुको भल्भ अप्रेसन सफल हुने सम्भावना सामान्यतया ४० प्रतिशत हुन्छ। अर्थात् यस्तो अप्रेसन ९ मा ४ जनाको मात्र सफल हुन्छ । ७३ वर्षीय शोभराज शारीरिक रूपमा निकै कमजोर भएकाले पनि उनी अप्रेसनमा डराएका हुन्।

ममाथि थ्रेट छ : शोभराज

शोभराजले भने आफूमाथि सुरक्षा खतरा रहेको दाबी गर्दै आएका छन्। अस्पतालमै आफ्नो हत्या हुन सक्ने भन्दै केही व्यक्तिको नाम नै लिएको केन्द्रीय कारागारका एक अधिकारीले बताए। युनुस अन्सारीलगायतका व्यक्तिले अस्पतालमा आफूमाथि आक्रमण गर्न सक्ने भन्दै उनले प्रहरीलाई सचेत गराएका छन्। उनले भनेजस्तै आक्रमण हुन सक्ने अथवा उनी आफैँ भाग्न सक्ने डरकै कारण उनलाई केन्द्रीय कारागारको गोलघरभित्र राखिएको थियो ।
– नयाँ पत्रिकाबाट