कर छुटको बहानामा भएका अनियमितता : ८७ वटा फाइलमा ७५ करोड हिनामिना

0
649

काठमाडौं, ३० जेठ । कर फस्र्यौट आयोगमाथिको छानविनका क्रममा खोलिएका ८७ फाइलमा मात्रै ७५ करोड अनियमितता भएको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० दिनको अवधिमा छानबिन गर्दा मूल्य अभिवृद्धि करमा मात्रै कम्तीमा ७५ करोड रुपैयाँ अनियमितता भएको खुलासा भएको हो ।

अहिलेसम्मको अवस्था हेर्दा भ्याटमा मात्रै कम्तीमा पनि ७५ करोड रुपैयाँ अनियमितता भएको अख्तियारका अधिकारीहरुले बताएका छन् । कर निर्धारणमा भएको अनियमितता छानबिनका क्रममा असहयोग गरेको भन्दै १० दिनअघि आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा पक्राउ परे,यता अख्तियारले ८७ वटा फाइल खोलिसकेको छ ।

कर फस्र्याेटका क्रममा एक हजार ७९ फाइल तयार भएकामा झण्डै हजार वटा फाइल अझै अख्तियारमा पुगेका छैनन् ।
८७ वटा फाइल हेर्दा नै भ्याटतर्फको अनियमितताको आकार मात्रै एक अर्ब नाघ्न लागेको हो । निर्माण व्यवसायीलाई दिइएको छुटका कारण भएको अनियमितता मात्रै करिब २१ करोड रुपैयाँ छ ।

यस्तै, कर फस्र्यौट आयोगका दुई पदाधिकारी सम्पर्कविहिन भएका छन् । अख्तियारले आयोगका अध्यक्ष लुमध्वज महत र सदस्य उमेश ढकाललाई समेत आयोगमा हाजिर हुन पत्र काटेको छ । उनीहरुलाई तीन दिनभित्र आयोगमा उपस्थित भएर बयान दिन भन्दै पत्र काटिएको हो । अख्तियारले आयोगका पदाधिकारी सम्पर्कमा नआए पक्राउ गरेर पनि अनुसन्धान थाल्ने बताएको छ ।