२०८२ असार २७ गते शुक्रबार
२०८२ असार २७ गते शुक्रबार

हराएको भनिएको सरकारी गाडी मन्त्रालयमै फेला

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हराएको भनेर गृह मन्त्रालयमा चिठी लेखेको सरकारी गाडी दुई दिनमै मन्त्रालयमै फेला परेको छ ।

मन्त्रालय स्रोतका अनुसार उक्त गाडी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले निजी प्रयोजनका लागि प्रयोग गर्दै आएका थिए ।

प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको महिन्द्रा स्कोर्पियो गाडी हराएको भन्दै श्रम मन्त्रालयले गत असार १५ गते गृह मन्त्रालयमा औपचारिक पत्राचार गरेको थियो । ‘गाडी जहाँ जस्तो अवस्थामा छ, खोजतलास गरिदिनुहोस्,’ भन्दै लेखिएको पत्रमा प्रचलित कानुनअनुसार जिम्मेवार व्यक्तिहरूविरुद्ध कारबाही अघि बढाउन अनुरोध गरिएको थियो ।

तर चिठी पठाएको दुई दिनपछि नै सो गाडी मन्त्रालयमै आइपुगेको प्रवक्ता डण्डु घिमिरेले पुष्टि गरे । ‘गाडी कसले प्रयोग गर्‍यो भन्ने मलाई थाहा भएन, तर गाडी मन्त्रालयमै फिर्ता आएको हो,’ उनले भने ।

मन्त्रालयका एक उपसचिवका अनुसार सो गाडी श्रममन्त्री शरतसिंह भण्डारीले लोसपा अध्यक्ष ठाकुरलाई दिएका थिए । ‘गाडी अध्यक्ष ठाकुरकै निजी प्रयोजनमा प्रयोग भइरहेको थियो,’ ती उपसचिवले भने । उनका अनुसार केही समयदेखि गाडी अध्यक्षको परिवारको प्रयोगमा रहेको थियो ।

यता, लोसपाका महासचिव डा. सुरेन्द्र झाले भने अध्यक्ष ठाकुरले कहिलेकाहीं मात्रै उक्त गाडी प्रयोग गर्ने गरेको बताए । ‘हामीले एक महिनाअघि नै मन्त्रालयमा गाडी बुझाइसकेका थियौं,’ उनले भने । सचिवले गलत सूचना प्रवाहका आधारमा गृह मन्त्रालयमा चिठी लेखेको उनको दाबी छ ।

तर मन्त्रालयका अर्का एक अधिकारीका अनुसार गाडी गृहलाई चिठी लेखेपछि मात्रै मन्त्रालयमा ल्याइएको हो । उनले भने, ‘गाडी फिर्ता ल्याउने काम ठाकुरका सहयोगीहरूले गरेका थिए ।’

मन्त्रालय स्रोतका अनुसार गाडी हराएको प्रकरण र यसबारे गरिएको पत्राचारको पछाडि मन्त्री र सचिवबीचको पछिल्लो समय देखिएको मनमुटाव पनि एक कारण हुनसक्ने देखिएको छ । सचिव कृष्णहरि पुष्करले असार १४ गते प्रशासन महाशाखा प्रमुख निश्चलराज पाण्डेसँग गाडीबारे सोधपुछ गरेका थिए । त्यसपछि गृह मन्त्रालयमा पत्राचार गरिएको थियो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।