काठमाडौं- एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकाल मात्रै पदाधिकारी बन्न पाउने व्यवस्था हटाइएको छ । उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनको प्रस्तावमा उमेर हद र २ कार्यकाल हटाउने प्रस्ताव गरेका थिए । पार्टीको मध्यरातसम्म चलेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै, पौडेलले पेस गरेको संशोधन प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने प्रस्ताव गरिएको छ । १०औं महाधिवेशन अघि भएको विधान अधिवेशनबाट यो पद सिर्जना गरिएको थियो । हाल एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् । पोखरेल लगायतका नेताहरूले वरिष्ठ उपाध्यक्ष पद हटाउने प्रस्तावमा असहमति जनाएका छन् । यस्तै, उपाध्यक्ष पौडेलले विद्यमान १९ पदाधिकारी संख्या घटाएर ११ राख्ने प्रस्ताव गरेका थिए ।
पौडेलको प्रस्ताव अनुसार एक अध्यक्ष, ३ उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र ५ सचिवको प्रस्ताव गरिएको छ । हाल एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिव गरी १९ पदाधिकारी रहने व्यवस्था छ । तर, पदाधिकारी संख्या १५ राख्नेमा सहमति भएको सचिव योगेश भट्टराईले जानकारी दिए । ‘११ बाट बढाएर १५ जना पदाधिकारी राख्ने सहमति भएको छ,’ भट्टराईले भने,‘तर कुन पद राख्ने र थप्ने भन्नेमा छलफल जारी छ ।’
यस्तै उपाध्यक्ष पौडेलले केन्द्रीय समितिलाई घटाउने प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा १९९ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरिएको छ । तर, बैठकले २५१ सदस्य केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ । हाल एमालेको ३०१ जनाको केन्द्रीय कमिटी छ ।
अघिल्लो विधान अधिवेशनबाट २२५ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय भएको थियो । चितवनमा भएको १० औं महाधिवेशनमा ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको थियो । यो विषयमा शुक्रबार साउन २ मा बस्ने पोलिटब्युरो र साउन ५ गते बस्ने केन्द्रीय कमिटीमा थप छलफल हुनेछ । एमालेको भदौ २० देखि ललितपुरको गोदावरीको सभा हलमा विधान अधिवेशन हुँदैछ ।







