काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिएको टिप्पणी गरेका छन् । आज (बुधबार) प्रतिनिधिसभा वैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भिजिट भिसामा गएर विदेशी नागरिकता लिएर, नेपालमा मन्त्रीसम्म भएका व्यक्तिले इमोसनल ब्ल्याकमेलिङमार्फत आफ्नो स्वार्थको रोटी सेक्ने काम गरेको आरोप लगाए ।
उनले भने, ‘भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरु र भिजिट भिसामा गएर उतै दुई–दुई पटक बिहे गरिसकेका व्यक्तिहरुले समेत अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेका छन् । यसका पछाडि मुलुक र नागरिकको हित जोडिएको छैन । यसले इमोसनल ब्ल्याकमेलिङ मार्फत आफ्नो स्वार्थको रोटी सेक्ने प्रवृत्ति मात्र उजागर गरेको छ ।’









