२०८२ फाल्गुन २२ गते शुक्रबार
२०८२ फाल्गुन २२ गते शुक्रबार

सामाजिक सञ्जाल बन्द हुँदा कुन क्षेत्रमा कस्तो प्रभाव पर्ला ?

सरकारले समयसीमाभित्र सूचीकृत हुन नआएको भन्दै बिहीवार साँझदेखि सामाजिक सञ्जालका विभिन्न प्ल्याट्फर्मलाई क्रमश: निष्क्रिय पार्ने निर्णय गरेका कारण त्यसले कुनकुन क्षेत्रमा कस्ताकस्ता प्रभाव पर्ला भन्ने चासो बढेको छ।

दशौँ लाख नेपालीहरूले दैनन्दिन प्रयोग गर्ने सामाजिक सञ्जाल एकाएक ठप्प हुँदा सामाजिक तथा आर्थिक प्रभाव गम्भीर हुने जानकारहरूले सचेत गराएका छन्।

सामाजिक सञ्जाललाई पूर्ण अवरुद्ध नपारीकन अन्य तवरले समस्याको सम्बोधन गर्न उनीहरूले सरकारलाई आग्रह गरेका छन्।

सामाजिक सञ्जाल बन्द हुँदा सबैभन्दा ठूलो असर अभिव्यक्ति स्वतन्त्रतामा पर्ने अभियानकर्मीहरूले बताएका छन्।

यस मामिलामा पैरवी गर्दै आएको फ्रीडम फोरमका प्रमुख कार्यकारी तारानाथ दाहाल सरकारले लिएको निर्णयको कानुनी आधार नै फितलो रहेको ठान्छन्। “सरकारले स्वेच्छाचारी प्रशासनिक आदेश दिएको छ जुन संविधानको धारा १९ मा उल्लिखित सञ्चारको हकको विपरीत छ,” दाहालले बताए।

उक्त धाराको उपधारा (२)मा “कुनै श्रव्य, श्रव्यदृश्य वा विद्युतीय उपकरणको माध्यम वा छापाखानाबाट कुनै समाचार, लेख, सम्पादकीय, रचना, सूचना वा अन्य कुनै सामग्री मुद्रण वा प्रकाशन, प्रसारण गरे वा छापेबापत त्यस्तो सामग्री प्रकाशन, प्रसारण गर्ने वा छाप्ने रेडिओ, टेलिभिजन, अन्लाइन वा अन्य कुनै किसिमको डिजिटल वा विद्युतीय उपकरण, छापा वा अन्य सञ्चारमाध्यमलाई बन्द, जफत वा दर्ता खारेज वा त्यस्तो सामग्री जफत गरिने छैन” भनिएको छ।

तिनको नियमन गर्न ऐन बनाउन सकिने पनि संविधानमा उल्लेख छ।

“तर अहिले सरकारले गरेको निर्णय कुनै ऐनमा आधारित छैन। विद्यमान ऐनहरूमा सामाजिक सञ्जाल, इन्टरनेटका एप्लिकेशनहरू दर्ता हुनु पर्ने नियम छैन,” दाहालले भने।

सरकारले उक्त निर्णय गर्नुका पछाडि सर्वोच्च अदालतको आदेशलाई देखाएको भए पनि त्यो पनि गलत ढङ्गले अर्थ्याइएको उनको तर्क छ।

“सर्वोच्च अदालतले सामाजिक सञ्जालका सामग्रीमा समस्या देखियो र तिनलाई नियमन गर्न उचित कानुनी प्रबन्ध गर अनि तिनलाई दर्ता वा नियमन गर भनेको हो। त्यस्तो प्रबन्ध भनेको संसद्ले बनाएको ऐनमार्फत् हुने हो,” दाहालले भने।

प्रतिनिधिसभामा करिब तीन महिनाअगाडि दर्ता भएको सूचना प्रविधि एवं साइबर सुरक्षा विधेयक हाल विचाराधीन छ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आफूहरूको निर्णय अभिव्यक्ति स्वतन्त्रता हननतर्फ लक्षित नभएको दाबी गरेका छन्।

खास गरी फेसबुकको मेसिन्जर तथा ह्वाट्सएपजस्ता एपलाई पारिवारिक तथा सामाजिक सम्पर्कको माध्यम बनाउने प्रवृत्ति निकै व्यापक छ।

दशौँ लाख नेपालीहरू विदेशका कामका सिलसिलामा वा पढ्न गएका छन्। तिनका आफन्तसँग बिहान बेलुका यिनै सञ्जालमार्फत् कुराकानी हुने गरेको छ।

सामाजिक सञ्जाल बन्द गरिदिँदा त्यस्तो सम्पर्क विच्छेद हुने जोखिम रहेको पूर्वसचिव मैनालीले बताए।

“विशेषत: जेन जी वा जेन अल्फा भनिने नयाँ पुस्ताका बाबुनानीहरू त जन्मिएदेखि नै सामाजिक सञ्जालको उपयोग देख्दै हुर्किएका छन्। युवा तथा प्रौढ पुस्ताले पनि यसको निकै उपयोग गरिरहेका छन्। हठात् यिनलाई बन्द गरिदिँदा हामीले हामीप्रति नै, हाम्रा सन्तान प्रति नै अनि प्रजातन्त्रप्रति नै अन्याय गरेको जस्तो हुन्छ,” मैनालीले भने।

सरकारले अर्थतन्त्रदेखि शासन-प्रशासनमा पनि डिजिटल प्रविधि अँगालेको नीति तथा कार्यक्रममा बताउने गरेको छ।

सङ्घीयदेखि स्थानीय स्तरसम्मका सरकारी कार्यालयहरूले विभिन्न सामाजिक सञ्जालका प्ल्याट्फर्म उपयोग गरेर सेवाग्राहीहरूलाई सूचना तथा सेवा दिइरहेका छन्।

डिजिटल अर्थतन्त्रकै कुरा गर्दा स्पष्ट आँकडा नभेटिए पनि डिजिटल सेवा कर तिरेको जस्ता आँकडा हेर्दा दशौँ करोड रुपैयाँको कारोबार भइरहेको बुझ्न सकिन्छ।

विभिन्न सामाजिक सञ्जालका प्ल्याट्फर्महरूमा ग्रूप बनाएर सूचना आदानप्रदान गर्ने कार्य अहिले पनि जारी नै छ।

“सामाजिक सञ्जाल बन्द हुँदा त्यसको प्रभाव कुनै न कुनै हिसाबले कक्षाकोठासम्म पुग्छ,” निजी तथा बोर्डिङ स्कूलहरूको सङ्गठन प्याब्सनका पूर्वअध्यक्ष डीके ढुङ्गानाले भने।

सामाजिक सञ्जाल विश्वव्यापी खुला विश्वविद्यालय बनिसकेको अनि कक्षाकोठा बाहिर सिकाइका निम्ति यूट्यूबजस्ता मञ्चको प्रयोग हुने गरेको, विद्यार्थी तथा अभिभावकहरूसँग सूचना आदानप्रदान गर्न मेसिन्जर तथा ह्वाट्स्याप ग्रूपहरू प्रयोग हुने गरेको उनले औँल्याए।

नियमनको पाटो आवश्यक भएपनि अहिलेको बन्देज प्रगतिशील नदेखिएको उनले बताए। बिबिसिबाट

 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।