काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद डा. सुनिल कुमार शर्माले जेन–जी पुस्ताले उठाएको आवाजलाई सरकारले दमन गरेकोप्रति कडा आपत्ति जनाएका छन् ।
फेसबुकमार्फत उनले अभिव्यक्ति स्वतन्त्रतामाथि लगाउन खोजिएको लगाम, चरम गरिबी, उच्च बेरोजगारी, व्यापक भ्रष्टाचार, कुशासन, राज्य सम्पत्तिको दोहन र नेताका सन्तानको “नेपोबेबी” जीवनशैलीविरुद्ध उठेको युवा आन्दोलनलाई बुट र बन्दुक प्रयोग गरी दमन गर्नु सरकारको क्रुरता भएको टिप्पणी गरेका छन् ।
इतिहासमै पहिलोपटक संसद भवन परिसरभित्रै प्रदर्शनकारी प्रवेश गरेको घटनालाई उनले केवल प्रतीकात्मक नभई नेतृत्व र संरचनाको असफलता उजागर गर्ने चेतावनीजनक सन्देश भएको बताएका छन् ।
आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले जेन–जी पुस्ताका आवाजलाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्न सरकार तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।
शर्माले फेसबुकमा लेखेका छन्- अभिव्यक्ति स्वतन्त्रतामा सरकारले लगाउन खोजेको लगाम, चरम गरिबी, उच्च बेरोजगारी, व्यापक भ्रष्टाचार, कुशासन, राज्यको सम्पत्तिमा हुने दोहन, नेताका छोराछोरीका अस्वाभाविक मोजमस्ती, आलिशान जीवनशैली (नेपोबेबी) को विरोधमा जेन—जी पुस्ताले उठाएको आवाजलाई बुट र बन्दुकले दमन गर्ने क्रुरता सरकारले देखाएको छ त्यो अत्यन्त लज्जाजनक छ । उनीहरुको आक्रोश र मागलाई गंभिरतापुर्वक सुन्नु हाम्रो पार्टी र सरकारको कर्तव्य थियो । तर आज राजधानी र देशैभर फैलिएको आन्दोलन, भडकिएको हिंसा, दमन, गोली प्रहार र युवाहरुको मृत्युले देश नै आक्रान्त बनेको छ । हामी वी. पी. कोइराला जस्तो देश र जनता प्रति समर्पित जननेताको आदर्शबाट प्रेरित भएर कांग्रेसमा छौं, त्यो पार्टी आज यस्ता घटनामा अप्रत्यक्ष वा प्रत्यक्ष रूपमा मुछिएको देख्दा, मलाई लज्जाबोध भएको छ। इतिहासमै पहिलोपटक संसद भवनको परिसरभित्र युवा प्रदर्शनकारीको प्रवेश भएको छ। यो केवल प्रतीकात्मक घटना मात्र होइन, यसले जनता आफ्ना प्रतिनिधि र संसदसंग असन्तुष्ट रहेको, लोकतन्त्रप्रति भरोसा घटिरहेको र वर्तमान राजनीतिक संरचना जनताको आवाज सुन्न असफल भएको देखाएको छ। यो घटनाले नेतृत्वको गैर जिम्मेवारीपन र संरचनाको कमजोरी उजागर गरेको छ। यो आन्दोलन केवल विरोध होइन। यो देशभक्तिको भाव, युवा पुस्ताको भविष्यप्रतिको चिन्ता र राष्ट्र विकासप्रतिको तीब्र चाहनाको प्रतीक हो। आजको आन्दोलनका क्रममा आफ्नो अमुल्य जीवनको बलिदानी दिनु भएका सबै प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै, आन्दोलनको क्रममा घाइते हुनुभएका सबैलाई शीघ्र स्वास्थ्य लाभको हार्दिक कामना गर्दछु। जेन—जी का आवाजहरुलाई गंभिरता र उच्च प्राथमिकताका साथ लिई समयमा नै सम्बोधन गर्न म सवैलाई आग्रह पनि गर्दछु ।









