संक्रमित भएको थाह पाएपछि मलाई अस्पताल बाट निकालिदिए : निर्मला

0
3166

प्रकाश बस्याल ९ भदौ , काठमान्डौँ ।

धेरैले एचआईभी संक्रमण भएसँगै जीवन सकियो भन्छन् । सपना सकियो भन्छन् । जीवन प्रतिको आशा मार्छन् । तर १४ वर्षमै बालविवाह गर्न बाध्य भएर १५ वर्षको उमेरमा श्रीमानबाट एचआईभी संक्रमणको शिकार भएकी एक महिलाले जीवनमा संघर्ष गरिन् र अन्य एचआईभी संक्रमितलाई जिजिविषा प्रदान गर्न लागि परिन् । निर्मला पौडेलको जन्म नवलपरासी जिल्लाको गैडाकोट गाविस वडा नं. ३ ढोडेनीमा २०३९ सालमा भएको थियो । वाल्यकालमै बाबु गुमाएको कारण निर्मलाले चार कक्षा भन्दा बढी पढ्न पाईनन् । बरु परिवारले उनलाई १४ वर्षको कलिलो उमेरमै जर्बजस्ती विवाह गरिदियो । लाउलाउ र खाउँ खाउको वालक उमेरमै निर्मलाको गैडाकोटकै २५ वर्षिय एकनाथ पौडेलसँग विवाह भयो । विद्यालय जान र पढ्न रहर हुदाहुँदै पनि निर्मला परिवारको दबाब सामु निरिह भएर बाल्यकालमै विवाह गर्न बाध्य भईन । भारतको नयाँदिल्लीमा काम गरिरहेका एकनाथसँगको विवाह उनको जीवनमा सबैभन्दा ठुलो बज्रपात बोकेर आयो ।
विवाह पछि उनको जीवन झन् झन् समस्यामा फस्दै गयो । विवाह पछि उनले हरेक दिनजस्तो श्रीमान्बाट हिंसा, कुटपिट र ज्यादती सहनुपर्यो । उनका श्रीमान्को मानसिक समस्या रहेको थाहा भएपछि मानसिक अस्पताल लगेर उपचार गरिन् । मानसीक रोगको औषधी खान थालेपछि उनका श्रीमान्मा केहि सुधार त देखियो तर हरेक पटक पटक ज्वरो आउने, पखाला लाग्ने जस्ता समस्या भने नियमित भईरह्यो । निर्मलाले श्रीमान्लाई विभिन्न अस्पताल पुर्याईन । आफ्ना गरगहना, पेवापात बेचेर श्रीमान्को उपचारको लागि खर्च गरिन । तर यस्ता रोगहरुमा बीसको उन्नाईस भएन । यसरी पटक पटक अस्पताल लैजादा पनि निको नभएपछि डाक्टरहरुको सल्लाहमा उनले श्रीमान्को एचआईभी परिक्षण गर्दा एकनाथमा एचआईभी पोजेटिभ देखियो ।
निर्मला एक्कासी छागाबाट खसेजस्तो भईन । आफु माथिको आकाश आफ्नै टाउकोमा खसे जस्तो भयो उनलाई । यसपछि निर्मलालाई पनि एचआईभी परिक्षण गर्न डाक्टरले सल्लाह दिए । उनले पनि भरतपुर अस्पतालमा गएर तत्काल एचआईभी परिक्षण गरिन् । त्यस बेलामा उनलाई एचआईभी पोजेटिभ देखिएन । उनी निकै खुसी भईन । नयाँ जीवन पाएको अनुभव गरिन् । संसारै जितेको अनुभव गरिन् । उनी यति खुसी भईन कि त्यसको शब्दमा वर्णन नै गर्न सकिन्न । तर यो खुसी धेरै समय टिक्न सकेन । उनलाई पुन परिक्षण गर्नको लागि २०५६ सालमा टेकु अस्पताल लगियो । त्यसबेलामा उनको पेटमा ६ महिनाको गर्भ थियो । टेकु अस्पतालले उनको रगत परिक्षण गर्न भारत पठायो । त्यहाँ भने उनमा एचआईभी पोजेटिभ देखियो ।
यो थाहा पाएपछि निर्मला बेहोस जस्तै भईन । बेहोसमै उनी काठमाडौबाट गैडाकोट आई पुगिन् । उनलाई संसार अध्यारो लाग्यो । दुनियाँ निरस लाग्यो । संसार भासिए जस्तै लाग्यो । संसार सकिए जस्तै भयो । बेसाहारा अनुभव भयो । यसको लगत्तै उनका श्रीमान्को मृत्यु भयो । एकातिर बालविवाहको समस्या भोगेकी कलिलि बच्ची, अर्कोतिर उमेरनै नपुगिकनको गर्भवती अवस्था झन् त्यहि माथि एचआईभी र श्रीमान्को निधन भएपछि त संसारका सबै दुख्ख एकसाथ निर्मला माथि बज्रियो ।
निर्मलाले गर्भवती महिलाले पाउनुपर्ने आधारभुत सहयोग र सुविधा कसैबाट पाईनन् । समाजको गलत दृष्टिकोण र अनावश्यक लाल्छना भोगिन । हरेक व्यक्तिका छिछि र दुरदुर उनले सहिन् । मर्नको लागि कयौपटक डोरी खोजीन् । कयौपटक मेटासिटका बोतल खोलिन । कयौपटक डरलाग्दा अक्करे भिर चढिन् अनि कयौपटक नारायणीको किनार पुगिन । तर त्यहि पेटको गर्भले उनलाई रोक्यो । त्यहि पाठेघरमा हुर्कदै गरेको भ्रुणले रोक्यो । समाजले विभिन्न लान्छना लगाएपनि, छि छि र दुर दुर गरेपनि त्यहि पाठेघरमा हुर्कदै गरेको वच्चाको मायाले उनले मृत्युको बाटो त्यागिन् र जीवनको बाटो समातिन् । यसक्रममा उनलाई एचआईभीको क्षेत्रमा काम गर्ने त्रिनेत्र नामक गैरसरकारी संस्थाले साथ दियो । त्यहि संस्थाका कर्मचारी तथा स्वयंसेवकले उनलाई घर र माईतीको अभाव पुरा गरिदिए । गर्भवती अवस्थामा त्यहि संस्थाले हेरचाह गरिदियो ।
यसैक्रममा उनलाई सुत्केरी व्यथाले च्याप्यो । त्यसपछि उनलाई भरतपुर अस्पताल लगीयो र भर्ना गरीयो । डाक्टरहरुले उनको कमजोर शारिरिक अवस्था देखेर अप्रेशन गर्नुपर्ने सल्लाह दिए । निर्मलाले आफु एचआईभी संक्रमित भएको कुरा डाक्टरलाई बताईन् । यसपछि त डाक्टरको व्यवहारमा परिवर्तन देखियो । केहि समय अगाडी सम्म अत्यन्तै राम्रो व्यवहार गरिरहेका डाक्टरले तत्काल अस्पताल बाट निकालि दिए । छुदैमा, सँगै बस्दैमा एचआईभी सर्दैन भन्दै सार्वजनिक ठाउँमा भाषण गर्ने डाक्टरहरुको क्रुर रुप उनले देखिन् । घर, टोल छिमेक, माईती सबैतिर उनलाई बाटो बन्द थियो । घरमा बस्न नदिएर उनलाई गोठमा बस्न दिएका थिए । त्रिनेत्र संस्थाका स्वयंसेवकले बाहेक अन्यले उनलाई राम्रो र मानविय व्यवहार कसैले गर्दैनथे । तिनै स्वयंसेवकको सहयोगमा अस्पतालले निकालिदिएको तेस्रो दिनमा उनले घरमै नवजात शिशु एक छोरालाई जन्मदिईन । डाक्टरले अपराध गरेपनि भगवानले उनलाई न्याय दिए । कमजोर शारिरिक अवस्थाको बाबजुद पनि उनले नर्मल रुपमा बच्चालाई जन्माईन । भगवानले अर्को कुरामा पनि न्याय गरे त्यो हो उनको छोरामा एचआईभी पोजेटिभ देखिएन । उनको छोरा गणेश पूर्ण रुपमा स्वस्थ जन्मिए ।
सुत्केरी अवस्थामा पनि निर्मलाले समाजको विभिन्न लाल्छना र भेदभाव खेप्नु पर्यो । घरपरिवारले उनलाई अछुतको व्यवहार गरे । भाडाकुडा देखी शौचालयसम्म छुट्टै प्रयोग गर्नुपर्यो । परिवार तथा छिमेकीले उनलाई बाहिर घुमफिर नगर, आफुहरु नजिक नआईज रोग सर्न सक्छ भन्दै छिछि दुर दुर गरे । यस्ता कुराले उनलाई जीवनको भारीले उठ्नै नसक्ने गरि थिच्न थाल्यो । तर सानो छोराका हसिलो चेहेराले उनलाई जिजिविषा प्रदान गर्यो । अनि त्रिनेत्र नेपालका कर्मचारी तथा स्वयंसेवकहरुले जीवन प्रति उत्प्रेरणा र हौसला दिए । सुत्केरीबाट तंग्रिएपछि उनी नियमित रुपमा त्रिनेत्रका गतिविधिहरुमा सहभागी हुने र एचआईभी को बारेमा जनचेतना फैलाउँदै गईन ।
वि.सं. २०५६ सालमा त्रिनेत्र नेपाल बाट शुरु भएको यात्रा माईती नेपालमा परामर्शदाता, सक्रिय समुह चितवनको सस्थापक अध्यक्ष, राष्ट्रिय एचआईभी एड्स महासंघ काठमाण्डौको केन्द्रिय उपाध्यक्ष, सिसिएम बोर्ड सदस्य हुदै अहिले लुम्बिनि प्लसमा पुगेको छ । यस १६ वर्षको अवधिमा निर्मलाले एचआईभी संक्रमितहरुलाई सहयोग गरेर उत्प्रेरणाा जगाएर परामर्श दिएर वितेको छ । कलिलै उमेरमा नजान्दा नजान्दै एचआईभी संक्रमणमा परेर पनि उनी अरुलाई यसबाट जोगाउन र संक्रमणमा परेकालाई उत्प्रेरणा जगाउँनमा सक्रिय छिन् । उनी एचआईभी संक्रमित हुनुलाई जीवनको अन्त्य नभई सिर्जनशिल र चुनौतीपूर्ण जीवनको सुरुवात मान्दछिन् । गाउगाउमा पुगेर लुकेर बसेका संक्रमीतहरुलाई सहयोग गर्ने, उत्प्रेरणा दिने, अन्य व्यक्तिलाई सम्झाउने जस्ता काममा उनको दिनचर्या वित्ने गरेको छ ।
उनलाई नवलपरासीमा एचआईभी संक्रमितको एक बलियो साहारा र भरोसाको रुपमा लिईन्छ । कुनै बेलामा आफै बेसाहारा रहेकी निर्मला अहिले सयौ संक्रमितको एकमात्र साहारा बनेकि छिन् । उनी अहिले एचआईभी संक्रमीत बालबालिकाहरुलाई आवास सहित को शिक्षाका लागी सहयोग जुटाउने अभियानमा छिन् । एचआईभी संक्रमित कलिला बालबालिकालाई सहयोग गर्नको लागि यो काम अत्यावश्यक रहेको उनको बुझाई छ । त्यसैले चिनेजति र भेटिएजतिसँग उनी सहयोगको याचना गरिरहेकी छिन् ।
एचआईभिको क्षेत्रमा उनले पुर्याएको योगदानको कदर स्वरुप २०५९ मा थाईल्याण्डमा एचआईभि संक्रमितिहरुको संजालले निर्मलालाई सम्मान गर्यो । यसैगरी बि.स २०६०, २०६१, २०६६, २०६८ र २०६९ सालमा राष्टियस्तरका विभिन्न संघ सस्थाले उनलाई सम्मान गरेका छन् । यस्तै युवा तथा खेलकुल मन्त्रालयबाट युवा प्रतिभा प्रोत्सााहन बाट समेत निर्मला सम्मानित भएकि छन् । एचआईभि संक्रमितहरुले सरकारी सम्मान पाउनेउनि पहिलो रहेको बताईएको छ । उनको जिवनमा आधारीत “द निर्मला ” नामक चेतनामुलक नेपाली चलचित्र पनि निर्माण भएको छ । कुनैबेलामा छिछि र दुर दुर गर्ने छिमेकी, परिवारका अन्य सदस्य तथा आफन्तहरु यतिखेर निर्मलासँग नजिक हुन चाहन्छन् । उनको नामले चिनिन चाहन्छन् । संघर्षले निर्मलालाई यो समाजमा स्थापित मात्र गराएन बलियो पहिचान बनाई दिएको छ । मेरो जीवनको अनुभवले भन्छ दुख्खमा नआत्तिकन आफ्नो जिम्मेवारी पुरा गर्यो भने समाजलाई हामीले चाहे जस्तै बनाउन सक्छौ निर्मला आत्मविश्वासका साथ भन्छिन् दुनियाँको पर्वाह नगरि आफ्नो लक्ष्य र उद्देश्यमा हिड्न सकेमा मात्र सफलता पाउन सकिन्छ ।
विगत १६ बर्ष देखि म शरीरमा एचआईभिको भाईरस बोकेर हिडेकी छु तर म थाकेको छैन उनि भन्छिन सधैंभर एचआईभिको क्षेत्रमा रहेर संक्रमितको लागि काम गर्ने छु । आगामि दिनमा संक्रमित वालवालिका ,तथा प्रभावित बालवालिकाहरुको लागि पुर्नस्थापना केन्द्र खोलि संक्रमित बालवालिकाको आमाको रुपमा काम गर्ने योजना रहेको बताउछिन । निर्मलाले त कठिन भन्दा कठिन समय र अवस्थालाई संघर्षको माध्यमबाट पार गरेर अगाडी बढेकी छिन् । उनको जीवनबाट युवाले ठुलो शिक्षा लिन सक्छ । व्यवहारमा लागु गर्न सक्छ । त्यसो भयो भने युवालाई उनीहरुले लिएको लक्ष्यलाई चुम्न कसैले रोक्न सक्दैन ।