१४ भदौ , डोटी । विद्युत महसुल ८० रुपैयाँ उठे पनि झण्डै दुई हजार रुपैयाँ खर्च गर्नुपर्ने बाध्यतामा छन्, डोटी साना जलविद्युत केन्द्र दिपायलका उपभोक्ता ।
डोटी साना जलविद्युत केन्द्र दिपायलले गाउँमा खोलेका विुद्यत महसुल बुझाउने काउन्टर गाउँबाट बजारमा सारेका स्थानियबासीन्दाले दुई हजार रुपैयाँसम्म खर्च गर्नु परेको छ ।
८० रुपैयाँ बिल तिर्नका लागि क्षेत्रीय सदरमुकाम दिपायल जानु पर्ने बाध्यता रहेको डाक्टर केआईसिंह गाउपालिकाका स्थानीय बासिन्दा शेरबहादुर एैरले बताए । पहिला गाउँमै विद्युत महसुल काउन्टर थिए, बिहान गए बेलुकी फर्किन सकिन्थ्यो अहिले महसुल काउन्टर बजारमा सारेका छन् त्यहाँ पालोमा बस्नु पर्छ, मर्का हामीलाई मात्रै ।’उनले भने ।
विद्युत महसुल काउन्टर पहिलेकै ठाउँमा सार्नका लागि विद्युत कार्यालयलाई पटकपटक आग्रह गर्दासमेत कुनै वास्ता नगरेको स्थानीय बासिन्दाको आरोप छ । डोटी साना जलविद्युत कार्यालय दिपायलका प्रमुख ललितनारायण चौधरीले कर्मचारी प्रयाप्त नभएको तथा कर्मचारीको खर्चसमेत बढी आउने गरेका कारण विगतमा गाउँमा खोलिएका विद्युत महसुल बुझाउने काउन्टर दिपायल सारिएको बताए ।उनले भने ‘हामी सँग प्रयाप्त कर्मचारी पनि छैनन्, खर्च पनि बढी आयो, तर पनि जनताको दुःखलाई मध्यनजर गरेर केही गर्ने प्रयासमा छौँ ।’
गाउँका विद्युत महसुल बुझाउने काउन्टर बजारमा सारिएपछि डोटीको सानागाउँ, बासुदेबी, दुर्गामान्डौ, कपल्लेखी, मुड्भारा, जोरायललगायतका क्षेत्रका स्थानीयबासिन्दा समस्यामा मात्रै होइन, ८० रुपैयाँ तिर्नका लागि २ हजार रुपैयाँ खर्च गर्नुपर्ने बाध्यतामा छन् ।