नेपाली कांग्रेसका महासमिति सदस्य डा. सुनिल कुमार शर्माले विगतका गल्तीहरूप्रति गहिरो आत्मसमीक्षा गर्दै अब भ्रष्टाचार, अन्याय र अनियमितताविरुद्ध कठोर कदम चाल्नुपर्ने बताएका छन् । उनले राजनीति सेवा, समर्पण र त्यागको माध्यम हो भन्ने मूल भावनाबाट विचलन भएको स्वीकारेका छन् ।
‘हामी यो यथार्थ लुकाउँदैनौँ, बरु विनम्रताका साथ क्षमा माग्छौँ,’डा. शर्माले भनेका छन्, ‘गल्ती दोहोरिने छैन। सत्य र न्यायको पक्षमा दृढताका साथ उभिन्छौँ ।’
उनले पार्टीभित्रका केही नेताको भ्रष्ट आचरणले संस्थाको छवि धुमिल बनाएको उल्लेख गरेका छन् । ‘इमान्दार कार्यकर्तामाथि अरूको पापको बोझ थोपर्नु अन्याय हो । अब सच्चा नेताहरूको आत्मसम्मान जोगाउने संकल्प लिएका छौँ ।’
डा. शर्माले देशको वर्तमान अवस्था राजनीतिक नेताहरूको असफलताको प्रतिफल भएको उल्लेख गरेका छन् । ‘कुनै पार्टीको मात्र होइन, सबै पार्टीका केही शीर्ष नेताहरू र उनीहरूका परिवारकै कारण आज देश यस्तो संकटमा छ’ उनले भने ।
उनले विगतका नेतृत्वले देखाएको आदर्श स्मरण गर्दै लोकतन्त्रको मूल्यलाई फेरि जगेर्ना गर्नुपर्नेमा जोड दिए । ‘बी.पी. कोईरालाको दृष्टिमा लोकतन्त्र जनताको आत्मसम्मान थियो, त्यो आत्मसम्मान आज धमिलिँदै गएको छ,’ उनले भने ।
डा. शर्माले अबको कांग्रेस आत्मसमीक्षा, पारदर्शिता र पुस्तान्तरणको नयाँ जोशसाथ अगाडि बढ्ने दाबी गरे । उनले भने, ‘हाम्रो लक्ष्य केवल पार्टी पुनर्जीवन होइन, समृद्ध नेपाल निर्माण हो। समान अवसरमा आधारित अर्थतन्त्र, न्यायपूर्ण समाज र सक्षम शासन प्रणालीको पुनर्निर्माण नै हाम्रो अन्तिम लक्ष्य हो ।’
विजयादशमीको अवसरमा डा. शर्माले सम्पूर्ण नेपालीहरूलाई शुभकामना दिँदै चाडले राष्ट्रिय ऐक्यबद्धता र विश्वासको भावना बलियो बनाओस् भन्ने कामना व्यक्त गरे । ‘नेपालको पुनर्निर्माण र गौरवशाली भविष्यका लागि हामी सबै मिलेर अघि बढ्न सकौँ,’ उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।









