दुर्गा प्रसाईंले तत्काल आन्दोलन नगरी सरकारसँग वार्तामा जाने सहमति जनाएका छन्।
छठपछि पुनः आन्दोलन गर्ने उद्घोष गरेका प्रसाईंले उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँगको छलफलपछि आन्दोलन स्थगित गर्ने निर्णय लिएका हुन्।
काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा प्रहरी प्रमुख (एसएसपी)हरूले कात्तिक ९ गते संयुक्त छलफल गरी प्रसाईंसँग संवाद गरेका थिए। उक्त छलफलपछि प्रसाईं तत्काल आन्दोलन नगरी वार्ताको माध्यमबाट मागहरू राख्न सहमत भएका छन्।
बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा काठमाडौँका सीडीओ ईश्वरराज पौडेल, एसएसपी रमेश थापा, ललितपुरका सीडीओ सुमन घिमिरे, एसएसपी होविन्द्र बोगटी र भक्तपुरका सीडीओ नमराज घिमिरे सहभागी थिए।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक प्रसाईंले सबै कर्मचारीको तलब एक लाख रुपैयाँ बनाउनुपर्ने माग दोहोर्याएका थिए। तर, प्रशासन र प्रहरी अधिकारीहरूले आन्दोलनभन्दा संवादमार्फत माग राख्न सुझाव दिएपछि उनी गृहमन्त्री र प्रधानमन्त्रीसँग वार्तामा जान सहमत भएका हुन्।
उपत्यका प्रहरी कार्यालयका एआईजी दानबहादुर कार्कीका अनुसार प्रसाईंले तत्काल प्रदर्शन नगर्ने प्रतिबद्धता जनाएका छन्। कार्कीले भने, “सुरक्षा चुनौती हिजोभन्दा फरक छ, बदलिएको परिस्थितिमा उनी आफ्ना कुरा संवादको टेबलमा राख्न सहमत हुनु भएको छ।”
छलफलमा सहभागी अधिकारीहरूका अनुसार प्रसाईंले वार्ताबाट माग पूरा नभए मंसिर दोस्रो साता मात्रै आन्दोलन गर्ने बताएका छन्। उनले ‘साइत हेरेर’ मंसिर दोस्रो साता आन्दोलनको मिति घोषणा गर्ने बताएका थिए।
पूर्वराजाको समर्थनमा तीनकुनेमा आयोजना गरिएको प्रदर्शन हिंसात्मक बनेपछि प्रसाईं बिएबी–४२०८ नम्बरको स्कोर्पियोमा भारत भागेका थिए। उनलाई प्रहरीले आसामबाट पक्राउ गरी राज्यविरुद्धको कसुरमा अनुसन्धान गरेको थियो।









