काठमाडौं । देशको मौसममा पश्चिमी वायु, अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को संयुक्त प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको असरले देशभर बदली, वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज बिहानैदेखि देशभर सामान्य बदली रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा र हिमपात भइरहेको छ भने बाँकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपात अनुभव गरिएको छ ।
आज दिउँसोको पूर्वानुमान : दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागमा पूर्ण बदली रहनेछ भने तराई भूभागमा सामान्य बदली रहनेछ । कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना छ ।
आज रातिको पूर्वानुमान : राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा पूर्ण बदली रही तराई भूभागमा सामान्य बदली रहनेछ । कोशी, मधेस र बागमती प्रदेशका अधिकांश स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा तथा बाँकी पहाडी भूभागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना प्रबल छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ ।
भारी वर्षा र हिमपातको चेतावनी
मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको चेतावनी दिएको छ । यसैगरी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आम जनजीवनमा पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । विशेषगरी यात्रामा निस्कनेहरूले मौसमको जानकारी लिएर मात्र अगाडि बढ्न सुझाव दिइएको छ ।









