लगातारको वर्षाले बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ ।
बीपी राजमार्ग अन्तरगत चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यसैगरी नार्के, पिन्थलीबेसी, विरुवाडाँडा लगायतका स्थानमा लेदोका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
राजमार्गको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले पूर्व जाने गाडीहरु काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिएका छन् ।
पानी परिरहेकाले जोखिम बढेको भन्दै हाल पहिरो पन्छाउन रोकिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले बीपी राजमार्ग अन्तर्गत काभ्रे जिल्ला भित्रको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले सुरक्षित यात्राका लागि सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ ।
सडक भासिँदा मेची राजमार्ग अवरुद्ध
यता, बिहीबारदेखि भइरहेको निरन्तरको वर्षाका कारण मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ।
सडक विभिन्न स्थानमा दबिँदै, भासिँदै र चिरिँदै गएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।
त्यसैगरी, तिल्केनी, सिमलगोला, शिल्पुर सडकखण्ड समेत पहिरोका कारण पूर्णरूपमा अवरुद्ध बनेको छ।
यी दुबै सडकखण्डमा सवारी साधन सञ्चालन पूर्ण रूपमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।

खोटाङमा समेत एक ठाउँमा सडक अबरुद्ध भएको जानकारी आएको प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी ध्रुबकुमार श्रेष्ठले जानकारी दिए।
अविरल वर्षाका कारण बिपी राजमार्गको काभ्रे जिल्लाअन्तर्गत चौकीडाँडा, चारसयबेशी, डालाबेशी, नार्केलगायतको विभिन्न स्थानमा लेदोसहितको पहिरो खसेपछि कोसी प्रदेशबाट गएका सवारीसाधनलाई सचेत गराइएको समेत उनले जानकारी दिए।








