मधेश प्रदेश सरकारले बेरोजगार युवालाई लाई मासिक २ हजार भत्ता दिने भएको छ ।
मुख्यमन्त्री सरोज कुमार यादवले आज पत्रकार सम्मेलन गरी यो जानकारी दिएका हुन् ।
मुख्यमन्त्री यादवले मधेश प्रदेशमा १८ वर्षदेखि ३५ वर्ष उमेरसम्मका स्नातक उत्तीर्ण गरी कुनै रोजगारमा नरहेका युवाहरूलाई जीवन निर्वाह भत्ताबापत मासिक २ हजारको दरले भत्ता उपलब्ध गराउने बताए । बेराजगार भत्ता वितरणको प्रक्रिया अगाडि बढाएको उनको भनाई छ ।
‘प्रदेश सरकारले प्रदेश भित्रका राष्ट्रिय युवा नीतिले परिभाषित गरेका १८–३५ वर्ष उमेर समूहका स्नातक तह पास गरी बेरोजगार रहेका युवाहरुलाई प्रतिमहिना २ हजारको दरले (जीवन निर्वाह) बेरोजगार भत्ताको रुपमा दिने काम अगाडि बढाइरहेको जानकारी प्रदेशवासीहरुलाई गराउन चाहन्छु,’ उनले भने ।
उनका अनुसार करिब १ लाख ४८ हजार यस्ता युवा मधेश प्रदेशमा रहेको तथ्यांक छ ।
यस्तै, खडेरी र डुबानबाट भएका धानबालीमा क्षति व्यहोरेका किसानहरुलाई प्रतिकठ्ठा १५०० रुपैयाँ राहत उपलब्ध गराउने मुुख्यमन्त्रीले बताए ।
उनले भने, ‘किसानहरूलाई राहत स्वरूप १५०० रुपैयाँ प्रतिकठ्ठा राहत स्वरूप उपलब्ध गराउने प्रक्रियामा छ । कृषि मन्त्रालयबाट प्राप्त तथ्यांक अनुसार यसरी वितरण गर्दा ३६ करोड रुपैयाँ लाग्ने अनुमान छ ।’
यसै वर्ष लामो समय खडेरीको मारमा परेका मधेश प्रदेशका किसानहरु गत असोजको अविरल वर्षाबाट डुबान पीडित भएका थिए । मनसुन अवधिमै लामो समय खडेरी परेपछि प्रदेश सरकारले मधेशका जिल्लाहरुलाई सुक्खाग्रस्त घोषणा गरेको थियो ।
यसरी किसानहरुलाई राहत दिँदा ३६ करोड र युवाहरूलाई बेरोजगार भत्ता दिँदा ३५ करोड खर्च हुने अनुमान छ ।









