पत्रकार गौरव पौडेलले लगातार एक सय घण्टा अन्तर्वार्ता लिएर विश्व कीर्तिमान बनाउने अभियान थालेका छन् । काठमाडौंको स्काइ टावरबाट प्राइम टाइम टेलिभिजनमार्फत प्रसारण भइरहेको यो विशेष कार्यक्रम यो समाचार तयार पार्दासम्म करिब ७० घण्टा पूरा भइसकेको छ भने अझै ३० घण्टा बाँकी रहेको छ ।
विश्व कीर्तिमानका लागि चार दिन चार रात अथात १०० घण्टा लगातार सञ्चालन हुने यस अन्तर्वार्ता कार्यक्रममा नेपालका विभिन्न विशिष्ट व्यक्तित्व, कलाकार, जनप्रतिनिधि, खेलाडी, उद्यमी, मनोवैज्ञानिक तथा सामाजिक अभियन्तासँग संवाद भइरहेको छ ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व पत्रकार रवि लामिछानेले न्युज २४ टेलिभिजनबाट ‘अब विश्वले चिन्ने छ नेपाल’ शीर्षकमा ६२ घण्टा १२ मिनेट लामो अन्तर्वार्ता सञ्चालन गरी विश्व कीर्तिमान बनाएका थिए । तर उक्त कीर्तिमान सन् २०२३ सेप्टेम्बर २४ मा स्लोभेनियाका बोरिस टोमासिकले ७३ घण्टा २३ मिनेट २१ सेकेन्डसम्म टक–शो होस्ट गर्दै तोडेका थिए ।
रविबाट खोसिएको विश्व कीर्तिमान पुनः नेपालमै फर्काउने लक्ष्यसहित पत्रकार पौडेल यो अभियानमा जुटेका हुन् । कार्यक्रम अवधिभर उनको स्वास्थ्य सुरक्षादेखि मनोवैज्ञानिक काउन्सिलिङसम्मको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । हालसम्म उनको स्वास्थ्यमा कुनै समस्या देखिएको छैन ।
यसअघि गौरव पौडेललाई भेट्दा रवि लामिछानेले उक्त विश्व कीर्तिमान शोमा सहभागी हुने बताएका थिए । तर आज रवि लामिछाने कारागारबाट रिहा हुँदैछन् । उनी गौरवको यो अन्तर्वार्ता कार्यक्रममा सहभागी हुने आशा गरिएको छ ।
विश्व रेकड तोड्दै गरेका गौरबले कार्यक्रमको सञ्चालन तथा व्यवस्थापनका लागि आर्थिक सहयोग गर्न अपिल गरेका छन् ।






