लामो समयसम्म ट्राफिक नियम उल्लङ्घनको जरिवाना बापतको रकम राज्यकोषमा दाखिला नगर्ने २ लाख ६१ हजारभन्दा बढी सवारीचालकको सेवा रोक्का गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको सिफारिसमा यातायात व्यवस्था कार्यालयहरूले यस्ता चालकहरूलाई प्रदान गरिने सेवामा रोक लगाएका हुन्।
अब जरिवाना नतिरेका चालकहरूले नयाँ सवारीसाधन खरिद, सवारीसाधन नामसारी (खरिद–बिक्री), सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० नवीकरण तथा यातायात कार्यालयबाट प्रदान गरिने अन्य कुनै पनि सेवा लिन पाउने छैनन्।
यातायात व्यवस्था कार्यालयले अब कुनै पनि नयाँ सेवा दिनुअघि सम्बन्धित चालकले ट्राफिक जरिवाना बुझाएको प्रणाली ९क्थतझ० बाट अनिवार्य पुष्टि गर्नुपर्ने व्यवस्था गरेको छ। जरिवाना रकम पूर्ण रूपमा चुक्ता गरेपछि मात्र रोक्का गरिएका सेवाहरू पुनः सुचारु हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
मोबाइलमा एसएमएस पठाइँदै
जरिवाना रकम जम्मा गर्न बाँकी रहेका चालकहरूलाई सचेत गराउन मोबाइल सन्देश (एसएमएस) मार्फत जानकारी गराउने कार्यसमेत सुरु गरिएको छ।
ट्राफिक नियम उल्लङ्घन गरी जरिवाना नतिर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न, राज्यकोषमा राजस्व सङ्कलन बढाउन र सडक अनुशासन कायम गर्न यो कडा कदम चालिएको प्रवक्ता सुवेदीले बताए। उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्पूर्ण सवारीचालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न र बक्यौता जरिवाना भए तत्काल बुझाउन अनुरोध गरेको छ।








