२०८३ श्रावण ६ गते बुधबार
२०८३ श्रावण ६ गते बुधबार

प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर, १ करोड ७१ लाख बिगो दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको छुट्टाछुट्टै मुद्दा दायर गरेको छ ।

ठेक्का प्रक्रियामा सेटिङ गरिदिए बापत ठेकेदारबाट करोडौँ रूपैयाँ घुस लिएको र उक्त रकम अवैध रूपमा लुकाएको अभियोगमा आयोगले मुद्दा हालेको हो ।

अख्तियारका अनुसार अधिकारीले क्यानको महानिर्देशक छँदा ओहोदाको दुरुपयोग गरी विभिन्न ठेक्काहरू स्वीकृत गर्न, रेखदेख गर्न र भुक्तानी दिने कार्यमा सेटिङ गरिदिए बापत १ करोड ७१ लाख रूपैयाँ घुस लिएका थिए। उक्त रकम उनले गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकालबाट लिएको अनुसन्धानमा देखिएको छ ।

घुसबापत प्राप्त भएको उक्त अवैध रकम लुकाउन अधिकारीले ललितपुर महानगरपालिका-५ मा श्रीमतीको नाममा जग्गा खरिद गरेको भेटिएको छ । उनले ०-१३-०-० क्षेत्रफलको उक्त जग्गा खरिद गर्दा सरकारी लिखतमा जम्मा ९१ लाख रूपैयाँ मात्र मूल्य कायम गरी वास्तविक कारोबारको रकम लुकाएका थिए ।

बाँकी १ करोड ७१ लाख रूपैयाँ अवैध स्रोतबाट प्राप्त भएको र त्यसलाई वैध देखाउन सरकारी लिखत सच्याउने तथा बैङ्क खाताहरूबाट अस्वाभाविक कारोबार देखाउने कार्य गरी उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गरेको अख्तियारको ठहर छ ।

दुवै कसुरमा आयोगले अधिकारी र गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकाललाई प्रतिवादी बनाएको छ । ढकाललाई घुस दिने र सम्पत्ति शुद्धीकरणमा सघाउने कार्यमा संलग्न रहेको आरोप छ ।

अधिकारीसँग दुवै मुद्दामा १ करोड ७१ लाख रूपैयाँ दरले बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको माग गरेको छ । साथै, घुसको रकमबाट खरिद गरिएको ललितपुरस्थित जग्गा समेत जफत गर्न मागदाबी गरिएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।