पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीसहित विभिन्न क्षेत्रमा देखिएको आपसी द्वन्द्व र तनावप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग आग्रह गरेका छन्।
निर्मल निवासस्थित संवाद सचिवालयमार्फत बिहीबार जारी सन्देशमा उनले सुनसरीमा भएको घटनाबाट जनधनको क्षति हुनुका साथै त्यसको प्रभाव कोशी क्षेत्र र तराईका अन्य जिल्लासम्म फैलिएकोप्रति चिन्ता व्यक्त गरेका छन्।
शाहले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न मुलुक भएकाले यही विविधता नेपालको पहिचान र गौरव भएको उल्लेख गरेका छन्। उनले यस विविधतालाई कमजोर बनाउने वा सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि स्वीकार्य हुन नसक्ने धारणा व्यक्त गरेका छन्।
देशको मौलिक सामाजिक र सांस्कृतिक मूल्य–मान्यताविपरीत हुने घटनाले राष्ट्रिय एकतालाई कमजोर पार्ने भन्दै उनले सबै नेपालीलाई धैर्य, संयम र आपसी मेलमिलापको भावना कायम राख्न आह्वान गरेका छन्।
साथै, कुनै पनि विवादलाई संवाद, सहिष्णुता र कानुनी प्रक्रियामार्फत समाधान गर्दै शान्ति र सद्भावको वातावरण जोगाउन सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिएका छन्।









