कैलाली ५ मा आरजु राणाको जित सुनिश्चित !

0
362

मंसिर १५ कैलाली । पार्टीको बलियो संगठन, यसअघि पार्टी उम्मेदवारको निरन्तरको जीतले आसन्न निर्वाचनमा पनि कैलाली–५ बाट काँग्रेस नेत्री डा आरजु राणा देउवा निर्वाचन जित्नेमा ढुक्क देखिनुभएको छ ।

सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको कैलाली निर्वाचन क्षेत्र नं ५ धनगढी क्षेत्रमा प्रधानमन्त्री पत्नी नै पहिलोपटक प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्ष निर्वाचनमा होमिएपछि प्रदेश नं ७ मै निकै उत्सुकतासाथ हेरिएको छ ।

यसअघि २०७० सालमा भएको संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा विजयी हुनुभएको थियो ।

त्यसैगरी केही समयअघि सम्पन्न स्थानीय तह निर्वाचनमा पनि धनगढी उपमहानगरपालिकामा काँग्रेस उम्मेदवारले मारेको विजयले डा राणालाई जितका लागि थप सहज हुने आंकलन गरिएको छ ।

विभिन्न गैरसरकारी निकायमार्फत धनगढीलगायत प्रदेश नंं ७ मा समाजिक एवं महिला सशक्तीकरणका क्षेत्रमा झण्डै दुई दशक काम गरिसक्नुभएकी डा राणा आफूले निर्वाचन जिते समृद्ध धनगढी, धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्ने, भूमिहीनको समस्या समाधान, उपमहानगरको ढल व्यवस्थापन, नदी कटान नियन्त्रण, स्वास्थ्य शिक्षालगायतको क्षेत्रको विकास गर्ने एजेण्डासहित मतदाताको घरदैलोमा पुगिरहनुभएको छ ।

उहाँले मतदातासामु गौरीफन्टा नाकाको स्तरोन्नतिका साथै किसानको सहाजताका लागि यसै क्षेत्रमा मलखाद उद्योग स्थापनाका लागिसमेत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

धनगढीमा निजी निवास खरिद गरेर स्थानीयवासीसमेत हुनुभएकी डा राणाले आफू तीन हजार मतान्तरले जित्ने दाबी गर्नुहन्छ । आज बिहान उहाँकै निजी निवासमा राससकर्मीसँग कुरा गर्दै उहाँले विपक्षीले जस्तोसुकै अफवाह फैलाए पनि आफूलाई निर्वाचन जित्न कुनै चुनौती नरहेको धारणा व्यक्त गर्नुभयो ।

“ऋणमा घर खरिद गर्दा पनि विपक्षीले ठूलै मुद्दा बनाए” उहाँले भन्नुभयो, “विपक्षीसँग काँग्रेस विरोध गर्नसक्नै कुनै पनि एजेण्डा नै भएन, त्यसैले घरको मुद्दा उठाए ।” आफ्नो उम्मदेवारीले महिला मतदाता बढी उत्साही रहेको उहाँको भनाइ थियो ।